अहिले अन्य खर्च कटाएर भए पनि किसानलाई भुक्तानी दिएका छौँ । कर्मचारीको तलबलाई अलि पर धकेलेर भए पनि संस्थान जोगाउन लागिपरेका छौँ ।- महाप्रबन्धक शरणकुमार पाण्डेय
काठमाडौँ — दुग्ध विकास संस्थान(डीडीसी) ले किसानको बक्यौता रकम दिन सुरू गरेको छ । डीडीसीका महाप्रबन्धक शरणकुमार पाण्डेयले बक्यौतामध्ये १६ करोड रुपैयाँ भुक्तानी गरेको बताए ।
यसअघि ५ महिनाको भुक्तानी बाँकी रहेकोमा त्यसलाई साढे ३ महिनामा झारेको महाप्रबन्धक पाण्डेयले जानकारी दिए । 'म आएको १५/२० दिन मात्र भएको छ तर हामीले १६ करोड रुपैयाँ भुक्तानी गरिसकेका छौँ,' उनले भने । महाप्रबन्धक पाण्डेका अनुसार पछिल्लो ५ महिनामा करिब ५८ करोड रुपैयाँ बक्यौता रहेको थियो ।
असारसम्म १ महिनाको मात्र भुक्तानी बाँकी राख्ने लक्ष्यमा आफूहरू हिँडेको उनको भनाइ छ । उनले अगाडि भने, 'अहिले किसानको भुक्तानीलाई नै प्राथमिकतामा राखेका छौँ । अहिले अन्य खर्च कटाएर भए पनि किसानलाई भुक्तानी दिएका छौँ । कर्मचारीको तलबलाई अलि पर धकेलेर भए पनि संस्थान जोगाउन लागिपरेका छौँ ।'
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले डीडीसी सुधारको कार्ययोजना अगाडि सारेपछि किसानहरूको भुक्तानी दिन थालिएको हो ।
दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीको भनाइ छ ।
केही दिनअघि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा 'से चिज' भन्दै तस्बिर राखेपछि आफ्ना उत्पादनहरूको माग बढेको डीडीसीले जनाएको छ ।
