डीडीसीको दूध संकलनदेखि कर्मचारी हाजिरीसम्मका प्रक्रियामा पारदर्शिता, व्यावसायिकता र जवाफदेहिताका लागि कृषिमन्त्री गीता चौधरीले ९ बुँदे निर्देशन कार्यान्वयनमा ल्याएकी छन् ।
What you should know
काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि सरकारले ९ बुँदे निर्देशन दिएको छ । संस्थानले अपेक्षित रुपमा काम गर्न नसकेको भन्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले डीडीसी सुधारका लागि ९ बुँदे निर्देशन जारी गरेकी हुन् ।
डीडीसीका अनुसार किसानलाई ५० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । प्रधानमन्त्री वालेन्द्र शाहले 'से चिज' भन्दै गत शनिबार सामाजिक सञ्जालमा आफ्नो फोटो पोस्ट गरेका थिए । उक्त पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले किसानको बक्यौता नतिरेकोमा आलोचना र डीडीसीको प्रवर्द्धन गरेको भन्दै स्वागत समेत गरेका छन् ।
यी हुन् सरकारले डीडीसीलाई दिएकाे ९ बुँदे निर्देशन
१. पाँच वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्यांक तथा आम्दानी खर्चको यथार्थ विवरण १५ दिनभित्र मन्त्रालयमा पेस गर्ने र प्रत्येक महिनाको मासिक विवरण अर्को महिनाको ७ दिनभित्र मन्त्रालयमा पठाउने व्यवस्था मिलाउने ।
२. संस्थानले असूलउपर गर्नुपर्ने बक्यौता रकम प्रचलित कानुनबमोजिम असुल उपर गरी एक महिनाभित्र मन्त्रालयलाई जानकारी दिने ।
३. दूध संकलनदेखि दुग्ध पर्दाथ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्थालगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको १०० बुँदे सुधारका बुँदा बमोजिम ३ महिनाभित्र विद्युतीय अभिलेखीकरणमा आबद्ध गर्ने ।
४. संस्थानमा कार्यरत सबै प्रकारका कर्मचारी र कामदारहरूको अनिवार्य विद्युतीय हाजिरी गराउने र त्यस्तो विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित र बढी समयको लागि गरिने भुक्तानी प्रदान गर्ने ।
५. प्रचलित कानुनले तोके बमोजिमको सुविधामात्र दिने प्रबन्ध मिलाउने र कर्मचारी तथा कामदारका लागि आचारसंहिता जारी गरी कडाईका साथ लागू गर्ने ।
६. संस्थानको भौतिक सम्पत्तिको लगत अद्यावधिक गरी त्यसको व्यवसायिक योजना बनाउने ।
७. प्रत्येक कर्मचारीलाई लक्ष्यसहित कार्य सम्पादन विवरण दिने व्यवस्था तथा कार्यविवरण बमोजिम मूल्यांकनको सूचकांक तयार गरी मूल्यांकन हुने व्यवस्था गर्ने तथा मुख्य कार्यसम्पादन सूचक दिइ कार्य जिम्मेवारी तोक्ने ।
८. संस्थानले आफूले गर्ने र अरुबाट गराउने कामहरूको सूची तथा कार्य सम्पादनको फ्लो र प्रक्रियाहरू अभिलेखाकिंत गरी बिजनेस प्रोसेस रिइन्जिनियरिङ (बीपीआर) तयार गरी त्यसमा गर्न सकिने सुधारहरू गरी सुधारको विवरण मन्त्रालयमा पठाउने ।
९. दुग्ध विकास संस्थानअन्तर्गतका प्रत्येक वितरण आयोजना तथा उत्पादन केन्द्र प्रमुखलगायत कार्यरत कर्मचारीलाई संस्थान नाफामा रहने गरी दूध संकलन तथा दूग्ध पदार्थको बिक्री वितरणसम्बन्धी कारोबारको लक्ष्य दिई सोको आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था गर्ने ।
