यो सिजनमा इलामको माइपोखरीको जैविक विविधता हेर्न, पाँचथरको तिम्वुङ पोखरीको सुन्दरता नियाल्न र ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि मेची राजमार्ग भएर आउजाउ गर्ने पर्यटकहरूको भीड लाग्ने गरेको थियो।
What you should know
इलाम, पाँचथर, ताप्लेजुङ — जेन–जी आन्दोलनका कारण थिलथिलो बनेको इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन उद्योग हालैको विपद्का कारण थप संकटग्रस्त बनेको छ। ‘मेची कोरिडोर’ अन्तर्गतका यी तीन जिल्लाको पर्यटन उद्योगको झिनो आशा असोज १९ को भीषण बाढीपहिरोसँगै बगेको हो । मेची राजमार्ग प्रयोग गरेर आन्तरिक र बाह्य पर्यटकहरू इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्थे ।
इलामको माइपोखरीको जैविक विविधता हेर्न, पाँचथरको तिम्वुङ पोखरीको सुन्दरता नियाल्न र ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि मेची राजमार्ग भएर पर्यटकहरूको आउजाउ हुने गरेको थियो। ‘सिजनकै बेला जेन–जी आन्दोलन भइदियो र अहिले विपद्ले सिंगो मेची कोरिडोरकै पर्यटन उद्योग ध्वस्त भयो’, इलामका पर्यटन व्यवसायी देवी पौडेलले भने, ‘हामी उठ्नै नसक्ने गरी थला परेका छौँ । हेरौँ राज्यले कस्तो सहयोग गर्छ ।’
पर्यटन र कृषिमा अडेको इलामसहित पाँचथर र ताप्लेजुङको अर्थतन्त्र असोज १९ को विपद्ले दुवै खम्बा भत्काइदिएको पर्यटन व्यवसायीको भनाइ छ । पहिरोले सडक भासिएको छ । पुलहरू भत्किएका छन् । केही उच्च जोखिममा छन् । मेरुदण्डको रूपमा रहेका सडक, पुललगायतका पूर्वाधार नै ध्वस्त भएपछि पर्यटक आगमन लगभग शून्यमै रहेको पर्यटन व्यवसायी पौडेलले बताए । ‘सडक र पुलहरू नबनेसम्म पर्यटक आउने सम्भावना न्यून छ’, उनले भने, ‘यो इलामको पर्यटन उद्योगका लागि ठुलो क्षति हो ।’
मेची राजमार्गको प्रयोग गरेर ताप्लेजुङको पाथीभरा जाने पर्यटकको सङ्ख्यामा पनि भारी गिरावट आएको भनाइ छ । विपद्पछि सन्दकपुर, माइपोखरी, तिम्वुङ पोखरी, पाथीभरा मन्दिरलगायतका धार्मिक र प्राकृतिक पर्यटनमा ठुलो धक्का पुगेको छ । इलामका होटल व्यवसायी सुरेन्द्र राईका अनुसार होटेल बुकिङ शून्यमा झरेको छ । ‘इलाम बजारका पसलमा चिया र कफीको सुगन्ध होइन, चिन्ताको गन्ध फैलिएको छ’, राई भन्छन् ।
विपद्को मारमा होमस्टे व्यवसायी समेत परेका छन् । इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा करिब २ सय बढी होमस्टे व्यवसायमा संलग्न छन् । माइपोखरीकी होमस्टे व्यवसायी लीला भट्टराईका अनुसार सिजनमै होमस्टे व्यवसाय धरासायी बनेको छ । उनले भनिन्,‘यहाँसम्म आइपुग्ने बाटो नै छैन, अनि पर्यटक आउँलान् भन्ने त कल्पना बाहिरको कुरा हो ।’
पछिल्लो समय मेची कोरिडोरमा बाइक राइडिङमार्फत पर्यटन प्रवर्द्धन भइरहेको थियो । खास गरी भारतीय राइडरहरु इलाम–माइपोखरी हुँदै सन्दकपुरसम्म र फिदिम हुँदै फालेलुङसम्म पुगेर रमाउने गरेका थिए । पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरोज कट्टेलले भने, ‘राइडिङबाट मात्रै वर्षमा सयौँ भारतीय पर्यटक यता भित्रिन्थे । यो पनि ठप्प भयो ।’
उनका अनुसार पर्यटन आगमन ठप्प भएपछि तीन जिल्लाको सिंगो अर्थतन्त्रमा नै असर परेको छ । उनी थप्छन्,‘पर्यटनले चलायमान स्थानीय अर्थतन्त्र नराम्रोसँग प्रभावित बनेको देखिन्छ ।’ बाढी पहिरोको असर ट्रेकिङ व्यवसायमा समेत देखिएको छ । खास गरी विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको फेदसम्म पुगेर देशी विदेशी पर्यटक रमाउने समय यही थियो । तर, यही बेला विपद् आएपछि त्यो सबै चकनाचुर भएको ट्रेकिङ एजेन्सी ‘ट्रेक ८५८६’ का सञ्चालक अमिर राईले बताए ।
‘सिजनकै बेला आएको विपत्तिले पर्यटन व्यवसाय ध्वस्त पारेको छ’, उनले भने । सरकारले इलामलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरी काम अघि बढाएको छ । तर, यहाँ व्यवसायलाई लयमा फर्काउने सरकारको कुनै योजना नरहेको भन्दै उद्योग वाणिज्य संघ इलामको गुनासो छ । उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले प्रश्न गरे, ‘राज्यले बाढी पहिरो पीडितका घर त बनाइदेला, तर ‘पर्यटक फर्काउने विश्वास’ कसले बनाइदिन्छ ?’
...
पाँचथरको फालेलुङ गाउँपालिका–४ र ५ का होमस्टे र लजहरू यति बेला भरिभराउ हुन्थे । फालोट, चार राते र सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्र आन्तरिकसँगै भारतका बंगाल र पञ्जाबबाट आउने पर्यटकले भरिभराउ देखिन्थे । सूर्योदय र हिमालका दृश्यावलोकनका लागि प्रख्यात यी गन्तव्य अहिले भने सुनसान प्रायः छन् ।
‘घटस्थापनादेखि मंसिरसम्म पर्यटकले खचाखच हुन्थ्यो’, फालेलुङका पर्यटन व्यवसायी शिल्प राईले भने,‘तर, असोज १९ को बाढी पहिरोले सबै वर्वाद पारिदियो ।’ राईका अनुसार दसैँको टिकाको दिन मात्र २०–२५ मोटरसाइकल र ५ जीप लिएर आएका पर्यटकलाई मौसम पूर्वानुमान विभागको भारी वर्षाको चेतावनीपछि रातारात फर्काउनुपरेको थियो ।
विपद् पछिसमेत भारतका विभिन्न ठाउँबाट फालेलुङ घुम्न चाहनेले फोन गरेर होमस्टे बुक गर्न खोजिरहेका छन् । तर व्यवसायीहरू भन्न बाध्य छन्, ‘बाटो सुरक्षित छैन, अहिले नआएकै ठीक ।’ वर्षायाम सकिएपछि हिमाली क्षेत्रमा घाम मज्जाले लाग्ने, जाडो धेरै नहुने र हिमालहरू स्पष्ट देखिने भएकाले यो समय पर्यटकका लागि ‘सुनौलो सिजन’ मानिन्छ । जेन–जी आन्दोलनपछि केही समय थिलथिलो बनेको पर्यटन व्यवसाय पुनः बौरिन लाग्दा आएको बाढी पहिरोले यो क्षेत्र फेरि सुनसान बनाएको स्थानीय बताउँछन् ।
फालेलुङ मात्र होइन, सदरमुकाम फिदिमका होटेल पनि सुनसानै छन् । विशेष गरी पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीका कारण फिदिमका होटेल नवरात्रीदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म प्रायः भरिभराउ हुन्थे । ‘तर यो वर्ष दसैँकै बेला आएको विपद्का कारण मुख्य सिजनमा पनि होटेल बुकिङ नै भएन,’ मनस्वी होटलका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपालले भने ।
नेपालका अनुसार जेन–जी आन्दोलनपछि सुस्त बनेको व्यवसाय अहिले बाढी–पहिरोले झनै थला पारेको छ । फिदिमस्थित मनस्वी, सरगम, सगुन, बाटिका र अजिमा होटलहरूमा सामान्यतया तीर्थयात्री र पर्यटक बस्ने गर्थे । ‘यो वर्ष त आउने क्रम नै रोकियो,’ होटेल बाटिकाका सञ्चालक केशव बरालले भने, ‘पहिरोले बाटो बन्द भएपछि थुनिएका पर्यटकलाई समेत वैकल्पिक बाटोबाट फर्काउनुपर्यो ।’
शिलौत, साधुटार, लव्रेकुटी, जोरपोखरी, आगेजुङ, कालापानी, चिवाभञ्ज्याङ र हिलिहाङ यी सबै जिल्लाका प्रमुख धार्मिक र पर्यटकीय गन्तव्य हुन् । तर, अहिले ती स्थानमा न विदेशीको चहलपहल छ, न आन्तरिक पर्यटकको उत्साह नै । फिदिम नगरपालिका–१ फेमे खोलानजिक बस्ने लालमाया श्रेष्ठको घरसँगै जीविकाको आधार धान खेती र अलैंचीबारी दुवै बाढीले बगायो ।
गत वर्ष असोज १२ गतेको बाढीले घर र बाली नष्ट गर्यो भने यो वर्ष असोज १७ गते आएको बाढीले बाँकी रहेको सखाप पार्यो । ‘बस्ने घर त लग्यो लग्यो अब धान र अलैंची पनि गएपछि बाँच्ने आधारै हरायो,’ उनले दुखेसो पोखिन् । त्यस्तै, मिक्लाजुङ–४ का रत्न राईको १२ रोपनीमा रहेको अलैंची खेत पहिरोले पुरिदियो ।
‘मकै छोडेर अलैंची लगाएको थिएँ, अब बारी र भविष्य दुवै गए,’ उनले भने । मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकामा ठुलो परिमाणमा धान, अलैंची, कोदो र दलहन बालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीका अनुसार हालसम्म फिदिमका केही वडाको मात्र प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । जसअनुसार वडा नं. ६, ७ र ८ मा करिब १२० रोपनी क्षेत्रफलको नगदे बाली बगेको छ ।
...
ताप्लेजुङको पाथीभरा मन्दिरमा यति बेला थेगिनसक्नु भीड हुनुपर्ने हो । यो सिजनमा हरेक वर्ष दैनिक १७ हजारदेखि २१ हजारसम्म तीर्थयात्री पुग्ने गरेका थिए । तर अहिले दैनिक दुई हजार तीर्थयात्री मात्रै मन्दिर दर्शनमा पुगेका छन् । मेची राजमार्ग अवरुद्ध बनेपछि उनीहरू तमोर कोरिडोरको प्रयोग गरेर दर्शनमा पुगेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार राजमार्ग अवरुद्ध हुनुअघि एक दिनमा २ हजार १ सय तीर्थयात्री पुगेका थिए । त्यसपछि विपद्को अघिल्लो दिन शनिबार १ हजार ५ सय जनासम्म पुगे पनि त्यसयता पाँच–छ सयको हाराहारीमा सीमित रहेका छन् ।
विपद्ले होटेल तथा यातायात व्यवसायी मात्र होइन, ती होटलमा सागसब्जी आपूर्ति गर्ने किसानदेखि यात्रुको प्रतीक्षामा सडकछेउ पसल थापेर बस्नेहरू सबैलाई असर गरेको छ । समितिका अध्यक्ष रक्की थेबाका अनुसार यो सिजनमा कमाएको आम्दानीले व्यवसायीले किस्ता तिर्थे र वर्षभरका लागि खर्च जोहो गर्थे । तर, यसपटक त्यो आधार नै गुम्यो ।
पाथीभरामा विशेषतः झापा, मोरङ, सुनसरी र भारतका सिक्किम तथा मणिपुरबाट धेरै तीर्थयात्री आउने गर्छन् । त्यसैले यसको प्रभाव झापा–इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म फैलिएको छ । ‘यस वर्षको असर सिङ्गो व्यावसायिक शृङ्खलामै परेको छ,’ उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष विकास गौतम भन्छन्,‘यसले अझै कतिसम्म समस्या पार्ने हो थाहा छैन ।’
त्यस्तै, ताप्लेजुङकै अर्को पर्यटकीय आकर्षण कञ्चनजंघा क्षेत्र पनि सुनसान बनेको छ । ‘मौसम खुला थियो, बुकिङ पनि राम्रो थियो, इजरायल, अमेरिका, बेलायतजस्ता देशका पर्यटकले सम्पर्क गरिरहेका थिए,’ घुन्साका होटेल व्यवसायी छिरिङ शेर्पाले भने, ‘तर, जेनजी आन्दोलनले पहिलो झट्का दियो, अनि बाढी–पहिरोले थप संकट निम्त्यायो ।’
उनका अनुसार कञ्चनजंघा आउने पर्यटक इलामको फिक्कलमै रोकिए । कसैलाई पैदलै ल्याउनुपर्यो, कसैलाई वैकल्पिक बाटोबाट ताप्लेजुङ पुर्याउनुपर्ने अवस्था आयो । ‘समय निश्चित गरेर आउने पर्यटक जब बाटो बन्द हुन्छ, फर्कनु बाहेक विकल्प रहँदैन । यस्तो अनुभवले अर्को पटक उनीहरू पुनः आउन हिचकिचाउँछन्’, अर्का व्यवसायी डण्डु शेर्पाले दुःख व्यक्त गरे ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन सहायक टाँसी शेर्पाका अनुसार यो सिजनमा अहिलेसम्म दुई सय पर्यटक पनि पुगेका छैनन् । गत वर्ष भने यो संख्या चार सयभन्दा बढी थियो । ‘सडक स्थानीय स्तरमा खुला छन्, तर राजमार्गकै अवरोधले सबै ठप्प बनायो,’ उनले भने ।
राजमार्ग बन्द हुँदा पेट्रोल–डिजेल ढुवानीमै समस्या भएको आशिका आयल सप्लाइजका तारा बरालले बताए । ‘तराइबाट इन्धन ढुवानी हुन नसक्दा यातायातदेखि होटलसम्म प्रत्यक्ष प्रभाव परेको छ’, बरालले भने । पूर्वी पहाडको प्रमुख नगदे वाली अलैंची व्यवसाय पनि थला परेको छ ।
अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले भने,‘ठिक्क सिजन चलेको बेला लामो समयसम्म सडक बन्द हुँदा अलैंची निर्यात गर्नै सकिएन ।’ गाउँबाट धमाधम सदरमुकाम फुङलिङमा ल्याइरहेको अलैँची अब गोदामै थन्किएको छ । ‘गाउँमा चोरी र आगलागीको डरले किसान उत्पादन भएसँगै सदरमुकाम ल्याउँछन्, तर यहाँबाट झापा पठाउनै सकिएको छैन,’ उनले भने ।
