बाढी जानुअगाडिको भन्दा राम्रो सेवा दिने गरेर आए पनि बाटो अप्ठ्यारो भएकाले फाट्टफुट्ट रूपमा पाहुना आइरहेको व्यवसायीको गुनासो
मुल्कोट, सिन्धुली — सुनकोशी गाउँपालिका–५, मुल्कोटस्थित क्वालिटी बिच रिसोर्ट सञ्चालनमा आएदेखि प्रायः शुक्रबार र शनिबार पाहुनाको भीड लाग्थ्यो । कहिलेकाहीँ कोठा नपुगेर रिसोर्ट सञ्चालकले बुकिङ नै क्यान्सिल गर्नुपर्ने बाध्यता आइलाग्थ्यो । तर गत असोज ११ र १२ मा सुनकोशीमा आएको बाढीले रिसोर्ट डुबानमा पर्यो । भुइँतलाका सामान र कोठामा क्षति पुग्यो ।
साढे चार महिना लगाएर गत माघ २५ बाट यो सञ्चालनमा आयो । रिसोर्टलाई पहिलाकै अवस्थामा ल्याउन होटलका सञ्चालक, कर्मचारी काममा खटिए । पहिलाकै अवस्थामा ल्याउन १० करोडभन्दा बढी लगानी लागेको रिसोर्ट सञ्चालकहरूको भनाइ छ । यतिका मिहिनेत गरेर सञ्चालनमा ल्याएको रिसोर्टमा बास बस्न आउने पाहुनाको संख्या भने घटेको छ ।
पहिला जस्तो अहिले रिसोर्टमा खासै चहलपहल छैन । कारण, बाढीले रिसोर्ट मात्र बगाएन, काठमाडौंबाट रिसोर्टसम्म आउने बीपी राजमार्गको करिब १२ किलोमिटर सडक नै बगर बनाइदियो । बाढी आएको ८ महिना बित्दा पनि राजमार्ग दिगो नबन्नु दुःखद भएको रिसोर्टका सञ्चालक एवं म्यानेजमेन्ट इन्चार्जले राजेश श्रेष्ठको भनाइ छ । ‘सबैको प्रयासले रिसोर्टलाई पहिलाकै अवस्थामा ल्याउन सक्यौं,’ उनले भने, ‘राजमार्गको अवस्था भने उस्तै छ, बाटोकै कारण पाहुना आउन मान्दैनन् ।’
पहिलाको तुलनामा अहिले ६० प्रतिशतले पाहुना घटेका छन् । ‘रिसोर्टमा केही समस्या छैन, सबै रूपले हामी पहिलाकै अवस्थामा आइसकेका छौं,’ श्रेष्ठले भने, ‘बीपी राजमार्ग छिटो बने आउने पाहुना पनि बढ्ने थिए ।’ राजमार्गसँग धेरै क्षेत्रको रोजीरोटी जोडिएकाले सरकारले यसको दिगो निर्माणमा गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ । सुरुमा यो रिसोर्ट २०७८ चैत २ बाट सञ्चालनमा आएको थियो ।
अहिले करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा सुरुको लगानी ३० करोड रुपैयाँ हो ।
बीपी राजमार्ग भएर राजधानी काठमाडौं आउजाउ गर्दा मुल्कोटबाट उकालो–ओरालो गर्दै सुनकोशी किनारमा रहेको रिसोर्टले सबैलाई आकर्षित गर्ने गरेको छ । मुल्कोट क्षेत्रमा करिब दुई दर्जनभन्दा बढी होटल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।
बीपी राजमार्ग निर्माण भएपछि राजधानीसँगको छोटो दूरीलाई दृष्टिगत गर्दै काठमाडौंकी रश्मि बस्नेतले होटल सञ्चालन गर्ने योजना बुनिन् । र, बर्दिवासमा रहेको होटल पौवासँग सहकार्य गर्दै त्यही नाममा मुल्कोटमा होटल सुरु गरिन् । तर पौवाले पछि साथ दिएन । २५ करोडभन्दा बढी लगानी गरेर रिसोर्टको संरचना निर्माण भयो । राम्रैसँग चल्दै थियो । तर असोजमा सुनकोशीमा आएको बाढीले उनको सपना पनि बाढीमै विलिन हुन पुग्यो ।
अहिले फेरि पौवा होटलको सहकार्यमा पुनर्निर्माण थालेको बस्नेतको भनाइ छ । असार पहिलो सातासम्म पौवा होटल तथा रिसोर्ट तयार गर्ने गरी काम थाले पनि सडकको अवस्थाले चिन्ता थपेको उनले गुनासो गरिन् । ‘करोडौंको लगानी डुब्यो, फेरि लगानी थप्दै छौं,’ उनले भनिन्, ‘सडकको अवस्थाले लगानी उठ्ने छाँट छैन, किनकि होटल बनाइसकेपछि पाहुना आउने बाटो नै त्यही हो, बाटै बन्द भएपछि के अवस्था होला ?’
सरकारले बीपी राजमार्गको भत्किएको सडक बनाउन तकरुकता देखाएको भए यात्रु, चालक र घुमफिरमा निस्कनेहरूलाई ठूलो राहत मिल्ने उनले सुनाइन् । ‘व्यवसायीसँग कर लिने तर पीर मार्का कसैले साथ नदिने र नबुझ्ने अवस्था छ,’ बस्नेतले भनिन्, ‘सडकसँग हाम्रो मात्र रोजीरोटी जोडिएको छैन, कैयौंको जीवनयापन जोडिएको छ, सहज यात्राका कुरा जोडिएका छन्, अब पनि सरकारी निकाय गम्भीर नबन्ने हो भने गरिरहेको व्यापार व्यवसाय छाड्नुको विकल्प रहन्न ।’
मुल्कोटकै होटल व्यवसायी मनोज श्रेष्ठले पनि डुबेको होटलमा करोडौं लगानी गरेर व्यवसायलाई लयमा फर्काउन सफल भए । ‘राजधानी जोड्ने छोटो दूरीको सडक भएकैले पूर्वी तराई तथा पहाड जानेआउने यात्री तथा पर्यटकले होटल भरिभराउ हुन्थ्यो,’ उनले भने, ‘अब सडक नै दिगो नभएपछि यस्तो कुरा कल्पना गरेर बस्नुको विकल्प रहेन ।’
युनिक होटल एन्ड रिसोर्टका सञ्चालक श्रेष्ठले बाढीले पुरेको रिसोर्ट सफा गरेर सञ्चालनमा ल्याएका छन् । ‘बाढीअघि एकदम राम्रोसँग व्यवसाय चलिरहेको थियो,’ उनी भन्छन्, ‘अहिले पहिलाको भन्दा राम्रो गरी सेवा दिने गरेर आएका छौं, बाढीपछि गरेको दुःख भुलेर अहिले पाहुनाको पर्खाइमा छौं ।’ बाटो अप्ठ्यारो भए पनि फाट्टफुट्ट रूपमा पाहुना आइरहेको उनले सुनाए ।
मुल्कोटमा स्विमिङ पुलसहितका ५ वटा होटल तथा रिसोर्ट छन् । बाढीले राजमार्ग, बजार पसल मात्र डुबेन । रिसोर्टभन्दा केही तल रहेको पशुपति आधारभूत विद्यालय पनि डुब्यो । तर अभिभावक र शिक्षक एकजुट भएर विद्यालयलाई पहिलाकै अवस्थामा ल्याएका छन् ।
राजमार्ग चाँडै बन्नुपर्ने मुल्कोटका होटल व्यवसायीसमेत रहेका सुनकोशी गाउँपालिका–५ वडाध्यक्ष सुरथबहादुर बसेलले जनाए । ‘सबैले राजमार्ग बनिहाल्छ भन्दै धेरै रकम खर्च गरेर पहिलाकै अवस्थामा रिसोर्ट ल्याउनुभयो,’ उनले भने, ‘तर होटल–रिसोर्ट सञ्चालनमा आए पनि सडकको अझै बेहाल छ, सरकारले सडक बनाउने कुरामा ढिलासुस्ती गर्न भएन ।’
बीपी राजमार्गलाई बर्खामा समेत सहज रूपमा चल्ने गरी निर्माण गरिदिन होटल व्यवसायी तथा अन्यले दैनिक फोन गरेर आफूलाई भनिरहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए । ‘भन्नुपर्ने निकाय कुनै काँकी राखेको छैन,’ उनले भने, ‘मन्त्रीहरू आउँदा पनि लौ न, बीपी राजमार्ग बर्खामा चल्ने हुने गरी बनाउनुपर्यो भनेर आग्रह गरिरहेको छु ।’
बीपी राजमार्गका कारण यस खण्ड भएर गुड्ने सवारी साधनको संख्यासमेत घटेको छ । पहिला दिनको ७ हजारभन्दा बढी सवारी साधनले यो राजमार्ग भएर ओहोरदोहोर गर्थे । अहिले ४ हजार हाराहारी सवारी साधन मात्र चल्ने गरेका छन् । पानी पर्दा यात्रु यो मार्ग भएर हिँड्न डराउँछन् । राजमार्गकै कारण यो खण्ड भएर गुड्ने विद्युतीय सवारी साधनको संख्या घट्दै गएको छ । अहिले बर्खाका लागि भनेर खोलो तर्काएर त्यसकै माथि उचो बनाई ग्राभेल र ठूला ढुंगाको आड दिएर बीपी राजमार्ग सञ्चालन गरिएको छ ।
