बीपी राजमार्ग बनेपछि १० वर्षयता काठमाडौंको कोटेश्वर–सिन्धुली बजारको १५३ किमि खण्डले राजधानीलाई छिटो, छरितो गरी तराई/मधेशसाग जोडेको छ, छोटो दूरी र राम्रो सडकका कारण यस रुटमा सार्वजनिक विद्युतीय गाडी (ईभी) को आकर्षण निकै थियो
खनियाखर्क, सिन्धुली — लोन्जर गाउँपालिका–५ स्थित खनियाखर्कमा विवश थापाले दुई वर्षअघि विद्युतीय गाडी (माइक्रो तथा मिनिमाइक्रो) का लागि ३० लाख रुपैयाँमा ४ वटा चार्जिङ स्टेसन राखे । लगत्तै खाना खाजासहितको सुविधा थपेर होटल पनि खोले ।
बीपी राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई लक्षित गरेर चार्जिङ स्टेसन राखेका उनलाई सुरुका दिनमा बोल्ने फुर्सद कमै मिल्थ्यो । दिनमा ५२ वटासम्म गाडीले चार्ज गरेर मात्र गन्तव्यतर्फ लाग्थे । गाडीमा आउने यात्रुलाई खाना, खाजा खुवाउन उनलाई भ्याइनभ्याई हुन्थ्यो ।
गत असोजको बाढीले बीपी राजमार्गअन्तर्गत सिन्धुली–काभ्रे खण्डको १२ किलोमिटर सडकमा क्षति पुर्याएपछि भने यस खण्ड भएर गुड्ने विद्युतीय गाडीको संख्या घट्दै गएको छ । अहिले दैनिक ३० वटा हाराहारी मात्र गाडी चार्ज गर्नका लागि रोकिने गरेको थापा सुनाउँछन् । ‘महँगै लगानीमा चार्जिङ स्टेसन सुरु गरें,’ उनले भने, ‘असोजमा आएको बाढीले तहसनहस बनायो, अलि ठूलो पानी पर्यो भने दिनमा १० देखि १२ वटाभन्दा बढी चार्ज गर्न आउने गाडी हुँदैनन् ।’
राजधानी काठमाडौं र पूर्वी तराई जोड्ने यो सबैभन्दा नजिकको बाटो हो, धेरैको रोजीरोटी जोडिएको यो सडक आठ महिनाअघि आएको बाढीले क्षतिग्रस्त बनायो तर सरकारी ढिलासुस्तीका कारण बाटो नबन्दा यसैमा निर्भर व्यवसायको विकल्प खोज्नुपर्ने बाध्यता आइलागेको छ। - विवश थापा, व्यवसायी
थापामा अहिले निराशा थपिएको छ । ‘बाढी आएको ८ महिना भयो, सडक अझै दिगो बनिसकेको छैन,’ उनले भने, ‘छिट्टै पुनर्निर्माण होला भन्ने ठूलो आस थियो, सरकारको उदासीनताका कारण हामीजस्ता व्यवसाय गरेर खानेले मार खेप्नुपरेको छ ।’
निजी क्षेत्रले दिनरात नभनी काम गरेर व्यवसाय उकास्ने काम गरे पनि सार्वजनिक महत्त्वका सडक, पुल बनाउन सरकारी निकायबाट छिटो छरितो नभएको उनले दुखेसो पोखे । ‘जसोतसो बनाएको बाटो आउने बर्खामा के रहला र ?,’ उनले भने, ‘म त अब यो व्यवसायको विकल्प खोज्ने सोचमा छु ।’
चालकले यात्रुलाई खाजा, खानाका लागि रोकेका बेला गाडी चार्जमा राख्छन् । खाना खाइसकेपछि गाडी पनि चार्ज भइसक्ने उनले बताए । बाटो सहज हुँदा यही ठाउँमा गरेको चार्जले पुग्थ्यो । अहिले यहाँ चार्ज गरेपछि फेरि काभ्रेभन्ज्याङमा पुगेर पनि पुनः चार्ज गर्नुपर्ने बाध्यता चालकलाई छ ।
पानी पर्यो भन्नासाथ हिजोआज यात्रुहरू गाडी चढ्न डराउँछन् । चालकहरू पनि पानी पर्दा गाडी चलाउन डर मान्ने गरेको उनले सुनाए । ‘अहिले बाटो बिग्रेको हुन्नथ्यो भने चार्जिङ स्टेसन थपेर २० वटासम्म पुर्याउने सोचमा थिएँ,’ थापा भन्छन्, ‘यो ठाउँलाई चार्जिङ हब नै बनाउने तयारीमा थिएँ, अब त्यो सम्भव भएन ।’
यो खण्ड भएर गुड्ने विद्युतीय गाडीको संख्या कम हुँदै गएको उनको भनाइ छ । ‘केही हेटौंडा हुँदै काठमाडौं जान थाले, केही भने अलिअलि पानी पर्दा पनि बाटोका कारण जोखिम नलिई घरै बस्ने गरेका छन्,’ उनले भने ।
उनका अनुसार होटल र चार्जिङ स्टेसन चलाउँदा बैंकबाट लिएको ऋणको मासिक किस्ता मात्र १ लाख १५ हजार तिर्नुपर्छ । ‘राजधानी काठमाडौं र पूर्वी तराई जोड्ने यो सबैभन्दा नजिकको बाटो हो,’ उनले भने, ‘त्यसैले सडकसँग धेरैको रोजीरोटी जोडिएको छ, सरकारी ढिलासुस्तीका कारण धेरैले गरिराखेको व्यवसायको विकल्प खोज्नुपर्ने बाध्यता आइलागेको छ ।’
उदयपुरको गाईघाट, सर्लाही, सुनसरी, सर्लाही, सिरहा, धनुषा, महोत्तरी, सिन्धुलीबाट बढी मात्रामा विद्युतीय गाडी बीपी राजमार्ग हुंँदै काठमाडौं आउजाउ गर्छन् । अघिपछि राजमार्गमा खुलेका होटल अघिल्तिर सीमित चार्जिङ स्टेसन हुँदा गाडी चालकहरूले चार्ज गर्नका लागि पालो पर्खिएर बस्नुपर्थ्यो । अहिले कतै खाली त कतै–कतै मात्र गाडीको चार्ज गर्न भीड लागेको देखिन्छ । काठमाडौंको कोटेश्वरबाट सिन्धुली बजारसम्मको दूरी १ सय ५३ किमि छ । जसले गर्दा तराई र पूर्वका जिल्ला छिटो पुगिने भएकाले अधिकांश सवारीसाधन बीपी राजमार्ग हुँदै ओहोरदोहोर गर्छन् ।
बीपी राजमार्ग भएर असोज अगाडिसम्म ७ हजार (दसैंतिहारमा १० हजार हाराहारी) सवारीसाधन ओहोरदोहोर गर्थे । अहिले यो संख्या घटेर ४ हजारमा झरेको सडक डिभिजन भक्तपुरको तथ्यांकले जनाउँछ । सिन्धुलीको कमलामाई नगरपालिका–४ का शिवराम खड्काका दुई वटा विद्युतीय माइक्रो बस सिन्धुली–काठमाडौं आउजाउ गर्छन् ।
असोज अगाडिसम्म उनी दुईबाट चार वटा गाडी पुर्याउने सुरमा थिए । जब असोजमा आएको बाढीले सिन्धुलीबाट काठमाडौं हिँडेको उनको गाडी मंगलटारमा ११ दिनसम्म फस्यो, त्यसपछि उनमा निराशा थपियो । सडकको बेहाल देखेर गाडी नथप्ने निर्णयमा पुगे ।
‘सुरुमा गाडीबाट राम्रो कमाइ थियो, त्यही बेला दुई वटा काठमाडौं जाने र त्यति नै संख्यामा काठमाडौंबाट सिन्धुली आउने गरी गाडी थप्ने सुरमा थिएँ,’ उनले भने, ‘बाटो बिग्रिएपछि त्यो आँट आएन ।’ थोरै खर्चमा धेरै आम्दानी हुने भएपछि विद्युतीय गाडीमा आकर्षण बढिरहेकै बेला बाढीले सडक बगाएपछि सबैमा निराशा थपिएको उनको भनाइ छ ।
‘पहिला यात्रुभन्दा धेरै विद्युतीय गाडी हुन्थे,’ उनी भन्छन्, ‘बाढीपछि विद्युतीय गाडी धनीले पनि भटाभट बिक्री गर्न थाले, फेरि अरू गाडीको तुलनामा विद्युतीय गाडीको चक्का सानो हुन्छ, जस्तोसुकै ठाउँमा पनि चलाउन समस्या हुन्छ, ब्याट्री र मोटर यसको तल्लो भागमा हुन्छ, ठोक्किएपछि बिग्रने र बनाउन महँगो पर्छ ।’
खाल्डाखुल्डी बढी भएको सडकमा विद्युतीय सवारीसाधन चलाउन समस्या हुने उनले बताए । दुई दिन पानी परे बीपी राजमार्गमा बाढी आउनाले गाडी चलाउन नसकिने उनको भनाइ छ । ‘पहिला बीपी राजमार्गको विकल्प सोचिन्न थियो,’ उनले थपे, ‘अहिले अन्यत्र जाने अवसर आए त्यतै रिजर्भमा जान्छौं ।’ खड्काले दुई वटा माइक्रो ५६ लाख र ४५ लाख रुपैयाँमा किनेका हुन् ।
‘काठमाडौं नजिकै र बाटो सहज भएर गाडी हालेको हो,’ उनले भने, ‘दुई वटाको गरेर मासिक किस्ता १ लाख ७१ हजार रुपैयाँ तिर्छु ।’ सुमित्रा यातायात प्रालि सिन्धुलीअन्तर्गत २६ वटा विद्युतीय गाडी छन् । प्रालिका अध्यक्ष हरिकृष्ण बुढाथोकीका मात्र ५ वटा विद्युतीय गाडी थिए । असोजको बाढीपछि चार वटा गाडी बिक्री गरि सके । अहिले एउटा मात्र छ ।
‘बाटो पनि सहज छैन, काभ्रेको चौकीडाँडामा सडकको अवस्था खराब छ, गाडीभरि मान्छे राखेर हिँड्दा उकालोमा चिप्लिन्छ, यो ठाउँमा अझै सहज बनाइएको छैन,’ उनले भने, ‘असोजको बाढीले गर्दा चलाउन सक्ने अवस्था नदेखेर बिक्री गरेर एउटा मात्र राखेको छु ।’
बीपी राजमार्गबाट विद्युतीय गाडी गुड्न थालेको साढे तीन वर्ष बढी भएको अध्यक्ष बुढाथोकीले बताए । ‘हामीले सुरु गर्दा ३ वटा गाडी थिए, अहिले सिन्धुलीबाट दैनिक ४० वटा विद्युतीय गाडी चलिरहेका छन्,’ उनले भने, ‘बाढीपछि बीपी राजमार्गमा खाल्डाखुल्डी धेरै छन्, एउटा गाडीले तीन ट्रिप गर्दा त्यसको बुस फेर्नुपर्ने र खर्च ७ हजार बढी लाग्छ ।’
बाटो राम्रो हुँंदा सबैले गाडीमा लगानी गरे पनि अहिले अधिकांशले टाउकामा हात राखेर बस्नुपर्ने अवस्था आएको उनले सुनाए । राजमार्गमा अधिकांश होटलमा महँगो लगानीमा चार्जिङ स्टेसन राखिएको छ । तर धेरै गाडी नगुड्दा चार्जिङ स्टेसनहरू पनि प्रायः सुनसानजस्तै देखिन्छन् । सरकारले खुर्कोटमा राखेको चार्जिङ स्टेसन असोजको बाढीपछि मर्मत नगरिँदा चलेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलिम अन्जुमका अनुसार गत साउन–भदौमा दैनिक सिन्धुली–काठमाडौं आउजाउ गर्ने विद्युतीय सवारीको संख्या १ सय ५० हाराहारी थियो । ‘अहिले सरदर दैनिक ९० वटा सवारीसाधन मात्र ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘बाटोका कारण विद्युतीय सवारीसाधनको संख्या अहिले घटेको देखिन्छ ।’
केही दिनअघि पानी पर्दा २४ वटा मात्र विद्युतीय गाडी एक दिनमा काठमाडौं आउजाउ गरेको उनले बताए । ‘पानी परेको दिन विद्युतीय गाडीको संख्या स्वात्तै घट्ने गरेको छ,’ उनले भने, ‘धेरैले पानी परेको दिन बाढीको डरले काठमाडौं आउजाउ गर्न मान्दैनन् ।’
