काठमाडौँ — सरकारले औद्योगिक तथा पूर्वाधार आयोजनाका लागि बाह्य लगानी जुटाउन लगानी बोर्डलाई परिचालन गर्ने जनाएको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाह्य लगानी जुटाउन लगानी बोर्डलाई परिचालन गर्ने बताएका हुन्।
'औद्योगिक तथा पूर्वाधार आयोजनाकाका लागि बाह्य लगानी जुटाउन लगानी बोर्डलाई परिचालन गरिनेछ,' राष्ट्रपति पौडेलले भने।
तीन तहका सरकारको काममा समन्वय गर्न प्रधानमन्त्रीको अध्यक्षतामा गठित संयन्त्रहरू आवश्यकता अनुसार परिचालन गर्ने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले राष्ट्रिय लेखा अनुमानको आधार वर्ष परिवर्तन गर्न आवश्यक सडक यातायात सेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण, निजी स्वास्थ्य सेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण र सहकारी सर्वेक्षणको कार्य सम्पन्न गर्ने जनाएको छ।
राष्ट्रिय आर्थिक गणना, २०८२ को तथ्याङ्क संकलन कार्य सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
