अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक रहे पनि आर्थिक वृद्धिदर ३.९९ प्रतिशत मात्रै

जीडीपी ६१ खर्ब ७ अर्ब, उपभोग खर्च जीडीपीको ९३.४५ प्रतिशत, प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर, निर्यात जीडीपीको ८.७४ प्रतिशत, आयात जीडीपीको ३३.२३ प्रतिशत र रेमिट्यान्स जीडीपीको २५.३२ प्रतिशत हुने अनुमान

वैशाख १८, २०८२

यज्ञ बञ्जाडे

Although all sectors of the economy are positive, the economic growth rate is only 3.99 percent

काठमाडौँ — अर्थतन्त्रका सबै क्षेत्रमा सकारात्मक वृद्धि भए पनि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर लक्ष्यभन्दा कम हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर ३.९९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तोकेको छ । 

 गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेका उद्योग, निर्माण, व्यापार क्षेत्रमा यस वर्ष सकारात्मक वृद्धि रहे पनि मुलुकको समग्र आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हाराहारीमा मात्र हुने कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म) को अनुमानित तथ्यांकका आधारमा कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो । 

गत आर्थिक वर्षमा आधारभूत मूल्यमा नेपालको आर्थिक वृद्धिदर ३.५४ प्रतिशत हुने प्ररम्भिक अनुमान रहेकामा त्यसमा संशोधन भएर ३.३६ प्रतिशत कायम भएको जनाइएको छ । कार्यालयको यो प्रक्षेपण यस वर्षका लागि सरकार र दातृ निकाय विश्व बैंक, एसियाली विकास बैंकलगायतले प्रक्षेपण गरेभन्दा कम हो । सन् २०२५ का लागि विश्व बैंकले ४.५ र एडीबीले ४.४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेका छन् । 

उपभोक्ता मूल्यमा भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने कार्यालयको अनुमान छ । उपभोक्ताको मूल्यमा गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत हुने कार्यालयको संशोधित अनुमान छ । 

आर्थिक २०७९/८० मा यस्तो वृद्धिदर १.९८ प्रतिशत थियो । आधारभूत मूल्यमा कर र अनुदान समावेश गरेपछि उपभोक्ता मूल्य आउँछ । यसकारण आधारभूत मूल्यको तुलनामा उपभोक्ता मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदर बढी हुने गर्छ । तर लक्ष्यको तुलनामा राजस्व संकलन झन्डै १८ प्रतिशतले घटेकाले तीन वर्षअघि आधारभूत मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा गणना गरिएको भन्दा बढी देखिएको थियो । तर गत वर्षदेखि भने पुरानै अवस्थामा फर्किएको छ । 

अर्थतन्त्रका सबै क्षेत्रमा सकारात्मक वृद्धि देखिएकाले आर्थिक वर्षका बाँकी महिनामा कुनै ठूलो अवरोध नभए आधारभूत मल्यमा ३.९९ र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने देखिएको राष्ट्रिय तंथ्याक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटीले बताए । 

‘गत वर्ष तीनवटा क्षेत्रको वृद्धिदर ऋणात्मक रहेकामा यस वर्ष सबै क्षेत्रमा सकारात्मक वृद्धि छ, यसकारण अनुमान गरिएअनुसार वृद्धिदर प्राप्ति गर्न सकिन्छ,’ उनले भने । चालु आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको ३.२८ र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान छ ।

आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ र गैरकृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको बुर्लाकोटीको भनाइ छ । 

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय क्षेत्र र सेवा गरी तीन प्रमुख तीन समूहमा विभाजन गरेर जीडीपीको अध्ययन गर्ने गरिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.२५, ४.६५ र ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । संशोधित विवरणअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.३५, ऋणात्मक ०.०३ र ४.३५ प्रतिशत छ । 

यस आर्थिक वर्षको अन्त्यसम्म अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष जीडीपीको आकार करिब ४ खर्ब रुपैयाँले बढ्ने अनुमान छ । गत वर्ष जीडीपीको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ कायम रहने 

प्रारम्भिक अनुमान गरिए पनि त्यसमा सामान्य परिवर्तन भएको ५७ खर्ब ९ अर्ब रुपैयाँ कायम रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहने कार्यालयको संशोधित अनुमान छ ।

यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय कुल आय १ हजार ४ सय ६७ डलर रहने संशोधित अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति आय १ हजार ४ सय १० अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५.६, १२.४ र ६२.० प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५.२, १२.४ र ६२.४ प्रतिशत योगदान पुर्‍याएको संशोधित अनुमान छ । 

आर्थिक वर्ष २०८१/८२ मा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान । यस क्षेत्रमा पछिल्ला वर्षमा जलविद्युत् उत्पादनको क्षमता वृद्धिका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको जनाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर १०.९६ प्रतिशत थियो । 

यातायात तथा भण्डार क्षेत्रको वृद्धिदर ९.४५ प्रतिशत छ । यसअनुसार शिक्षा क्षेत्रको वृद्धिदर १.९८ र खानी तथा उत्खननको १.९९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर २५.१६ र व्यापार क्षेत्रको १४.५५ प्रतिशत योगदान रहने अनुमान छ । उक्त अवधिमा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन क्षेत्रको योगदान ०.४२ र खानी तथा उत्खननको ०.४६ प्रतिशत रहेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्ष उद्योग क्षेत्रको वृद्धिदर ३.७८ प्रतिशत रहनेछ । जीडीपीमा भने यस क्षेत्रको योगदान ४.९८ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–२.०२ प्रतिशत) थियो । यस क्षेत्रमा अघिल्लो दुई आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर देखिए तापनि चालु आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको कार्यालयले बताएको छ । 

‘खासगरी वनस्पति तेल, प्लाइउड, प्लास्टिकको पाइप फिटिङ, पेय पदार्थ, सिमेन्ट, साबुनलगायत वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त अवधिमा भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयतमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।’

चालु आर्थिक वर्ष २०८१/८२ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.२४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएको यस क्षेत्र चालु आर्थिक वर्षमा निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरूको उत्पादनमा भएको 

वृद्धिले सुधारोन्मुख भएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्ष यस क्षेत्रको वृद्धिदर २.२ प्रतिशत ऋणात्मक रहेको संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १४.५५ प्रतिशत योगदान रहने र यो क्षेत्रको वृद्धिदर ३.३० प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षको तुलनामा व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धि साथै कृषि तथा व्यापारजन्य वस्तुको आन्तरिक उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको प्रतिवेदनमा बताइएको छ । 

यस वर्ष यातायात तथा भण्डारण क्षेत्रका आर्थिक वृद्धिदर ९.४५ प्रतिशत रहने र जीडीपीमा यो क्षेत्रको योगदान ७.२० प्रतिशत योगदान रहने अनुमान छ । गत आर्थिक वर्षको तुलनामा सवारीसाधनको आयात तथा पर्यटकको आवागमनमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि हुने अनुमान गरिएको हो ।

चालु आर्थिक वर्ष आवास तथा भोजन सेवा क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनमा २.४६ प्रतिशत योगदान रहने र आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान छ । विदेशी तथा आन्तरिक पर्यटकहरूको आवागमनमा भएको वृद्धिले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव हुने कार्यालयको अनुमान छ । गत आर्थिक वर्ष यस क्षेत्रको वृद्धिदर २१.०३ प्रतिशत रहने अनुमान थियो । 

चालु आर्थिक वर्ष सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४.८१ प्रतिशत र मा जीडीपीमा १.९४ प्रतिशत योगदान रहने जनाइएको छ । चालु आर्थिक वर्षमा कम्प्युटर प्रोग्रामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने कार्यालयको अनुमान छ ।

यसैगरी, यस आर्थिक वर्ष मुलुकको कुल स्थिर पुँजी निर्माण जीडीपीको अनुपातमा २४.०७ प्रतिशत हुने अनुमान छ । गत आर्थिक वर्ष यस्तो अनुपात २४.३३ प्रतिशत थियो । चालु आर्थिक वर्ष जीडीपीको ९३.४५ प्रतिशत उपभोगमा खर्च हुने अनुमान छ । गत आर्थिक वर्ष यस्तो अनुपात ९३.७८ प्रतिशत थियो । यस वर्ष कुल राष्ट्रिय बचत जीडीपीको ३६.२४ प्रतिशत छ ।

गत आर्थिक वर्ष यस्तो अनुपात ३५.३९ प्रतिशत थियो । वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स जीडीपीको अनुपातमा २५.८९ प्रतिशत हुने अनुमान छ । गत आर्थिक वर्ष यस्तो अनुपात २५.३२ प्रतिशत थियो । मुलुकको आर्थिक क्रियाकलापको अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण चौथो संस्करणअनुसार वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई २१ वटा मुख्य क्रियाकलापमा वर्गीकरण गरिएको छ ।

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully