विद्युतीय भुक्तानी व्यवस्थित र प्रभावकारी बनाइने

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Making electronic payments systematic and efficient

काठमाडौँ — सार्वजनिक र निजि दुवै क्षेत्रमा विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले पहल अघि बढाउने उल्लेख गरेको छ । सरकारी कार्यालयमा विद्युतीय भुक्तानी प्रविधि प्रभावकारी बनाइ राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गर्ने राष्ट्र बैंकको लक्ष्य छ ।

सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरूमा विद्युतीय भुक्तानीका उपकरणहरूको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि राष्ट्र बैंकले सहजिकरण गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत जनाएको छ । त्यस्तै, सूचना प्रविधि लगायत सेवा निर्यात गरे बापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई पनि थप प्रभावकारी बनाइने उल्लेख छ । राष्ट्र बैंकले यस विषयमा निर्देशनसमेत जारी गरेको थियो ।

‘भुक्तानी सेवा प्रदायकबाट विद्युतीय उपकरणहरूको व्यवस्थाका लागि आवश्यक समन्वय र सहजिकरण भइरहेको छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरूले गर्ने कारोबारको राफसाफ कार्यलाई प्रिन्सिपल्स फर फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चरसँग सामञ्जस्य हुने गरीका यस बैंकको प्रणालीमार्फ फछ्यौट हुने व्यवस्था मिलाइनेछ ।’

कान्तिपुर

Link copied successfully