सूचना प्रविधिको विश्व बजारमा नेपाली युवाहरू फैलिँदै छन् : शोधकर्ता शर्मा

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

Nepali youth are spreading in the world market of information technology: Researcher Sharma

काठमाडौँ — शोधकर्ता डा. अमृता शर्माले सूचना प्रविधिको विश्व बजारमा नेपाली युवाहरूको संलग्नता फैलिँदै गएको बताएकी छिन् । सूचना प्रविधिका दक्ष जनशक्तिको प्रवर्द्धन र संरक्षणमा सरकारले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' को तेस्रो सत्र 'सूचना प्रविधिको सारथि' मा शोधकर्ता शर्माले भनिन्, ‘हाम्रा  ६६ हजार युवाहरूचाहिँ स्वतन्त्र रूपमा सूचना प्रविधिको विश्व बजारमा काम गरिरहनुभएको रहेछ, कामको कुरा जहिले पनि अर्थसँग जोडिएको हुन्छ, प्लस टु मात्रै पास गरेर इन्ट्री लेभलमा काम गर्नेले मात्रै औसतमा ५० हजार कमाइरहनुभएको छ ।’

रोजगारीको विश्वबजारमा नेपाली युवाहरूको प्रवेश सुखद रहेको उनको भनाइ छ ।  शोधकर्ता शर्माले भनिन्, ‘कर (असुल्ने)तिर जाने कि अथवा यो क्षेत्र इमर्जिङ रैछ र यहाँ(नेपाल)को उत्पादनले पनि विश्व बजारमा जान सक्दो रहेछ भनेपछि केही समय छोडेर यसलाई फैलन दिने, सरकारबाट यसमा संरक्षणकारी भूमिका हुनुपर्छ ।’ 

सूचना प्रविधिको विकास, विस्तार र प्रयोग दिनानुदिन बढ्दै जाँदा यस क्षेत्रको रोजगारीमा महिलाको पनि सहभागिता बढ्दै गएको शर्माले सुनाइन् । सूचना प्रविधिको क्षेत्रमा अहिले १६ प्रतिशत जति महिला संलग्नता रहेको बताउँदै यसलाई बढावा दिन रोजगारदाता व्यवस्थापनले सकरात्मक भूमिका खेल्नुपर्ने उनले बताइन् ।

‘विश्व बैंकको रिपोर्टले अबको एक दशकमा लभगभ सबै इन्टरप्राइजेज (७० प्रतिशत बढी) आईटी इनेबल हुन्छन् भने पनि चुनौती र अवसर छन्, यसका महिलालाई ‘बुस्टअप’ गर्न सरकारले का गर्नुपर्छ,’ शर्माले भनिन् । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा महिला सहभागिता गराउन परिवार, विद्यालय, विश्वविद्यालय तहले सहयोग गर्नुपर्ने उनले बताइन् । 

कान्तिपुर

Link copied successfully