काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ सगुन बल्लभ पन्तले सुत्केरी भइसकेपछि १० जनामध्ये ७ जनालाई पोस्टपार्टम ब्लुज हुने बताएका छन् । कान्तिपुर पब्लिकेसन्स् लिमिटेडद्वारा बिहीबार काठमाडौंमा आयोजित निर्भिक नारीको दोस्रो सत्र मातृत्व मन्थन’ मा उनले बच्चा पाइसकेपछिको पहिलो ७२ घण्टा हुने पोस्टपार्टम ब्लुज सामान्य रहेको बताएका हुन् ।
‘बच्चा पाइसकेपछिको पहिलो ७२ घण्टामा सुत्केरीलाई चिटचिट हुन्छ, झर्को लाग्छ, निद्रा लाग्दैन । डर लाग्छ,’ उनले भने, ‘हर्मोनको समुद्रबाट बच्चा निस्केपछि यस्ता समस्या हुन्छ, यसले मानसिक स्वास्थ्यमा पनि असर पर्छ । पछि आफैं ठीक हुँदै जान्छ ।’
बच्चा पाएको दुई/तीन दिनपछि नै करिब ६० प्रतिशत आमामा निराशा, व्याकुलता, उदासीको अनुभव हुन थाल्छ । महिलाहरूले गर्ने यो अनुभवलाई चिकित्सकीय भाषामा पोस्टपार्टम ब्लुज वा बेबी ब्लुज पनि भनिन्छ ।
संसारमा १० जनामध्ये एक जनालाई पोस्टपार्टम डिप्रेसन हुने अध्ययनले देखाएको समेत उनले बताए । नेपालमा भएको स–साना अध्ययले १० जना वा ३ जना मध्ये १ जनालाई पोस्टपार्टम डिप्रेसन हुने गरेको उनको भनाइ छ ।
‘नेपालमा १५ देखि ४५ वर्षको उमेरमा महिलाको मृत्यु हुनुको मुख्य कारण आत्महत्या हो,’ उनले भनिन् ‘पोस्टपार्टम डिप्रेसनको उपचार नगर्दा यो समस्या निम्तिएको हुन्छ । बच्चा जन्माउनु सामान्य रहेको पितृसत्तात्मक सोचमा छौं । त्यसैले समयमा उपचार नगर्दा मृत्युको मुखमा पुगेको हुन्छ ।’ बच्चा पाएको केही महिनापछि अप्राकृतिक व्यवहार देखाउँछ भने त्यो सामान्य नरहेको उनको भनाइ छ ।
बच्चा भएका महिलाहरुले चिकित्सकसम्म आइपुग्दा निरास, खिन्न, दिक्क र आत्महत्या प्रयास गरिसकेका हुने गरेको उनले बताए । ‘हामीकहाँ आइपुग्दा निरास, खिन्न, दिक्क र आत्महत्या प्रयास गरिसकेको अवस्थामा आइपुग्छ,’ उनले भने, ‘हरेक मानसिक स्वास्थ्य बिग्रुनका कारण हुन्छन् । बुझ्दै जाँदा थाहा पाउँछौं, बच्चा गर्भाधारण त्यसको कारण हो ।’ बच्चा नहुँदा परिवारमा उसका स्टाटस, श्रीमान्सँगको सम्बन्ध, भविष्यसँगको अपेक्षासमेत परिवर्तन हुने गरेको उनको भनाइ छ ।
