अब संघर्ष होइन, गुणात्मक सुधारमा ध्यान दिनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

No more struggle, attention should be paid to qualitative improvement: Chief Election Commissioner Thapalia

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसद् र स्थानीय तहमा महिला नेतृत्व बढाउन दलका कार्यकारिणी पदहरूमा महिला नेतृत्व स्थापित गर्नुपर्ने  बताएका छन् । 

बिहीबार कान्तिपुर पब्लिकेसन्स लिमिटेडद्वारा आयोजित 'निर्भीक नारी' को पहिलो सत्र 'नेतृत्वमा नारी, परम्परालाई भारी' सत्रमा प्रमुख आयुक्त थपलियाले दलहरूले नेतृत्व तहमा महिलालाई बेवास्ता गरेको बताएका हुन् ।

‘निर्वाचन आयोगमा ११८ राजनीतिक दलहरू दर्ता छन् । दुई वटा दलबाहेक ११६ वटा दलले एकदमै हारगुहार गरेर केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला पुर्‍याएको अवस्था छ, सबैले तानतुन गरेर बनाइएको संरचनाले नेतृत्व दिँदैन,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । 

१६ वर्ष भएपछि सबै महिलाले नागरिकता पाउनुपर्ने, नागरिकता पाएका महिलाको मतदाता नामावली दर्ता हुनुपर्ने बताए । ‘अनि उनीहरूलाई निर्वाचन र मतदाता शिक्षा दिइयो दिइएन, अनि हामी एकैचोटि टुप्पामा खोजिरहेका छौं के !’ थपलियाले भने, ‘फेदैबाट यो प्रयत्न गरेर जाने हो भने सक्षमता लैगिंक आधारमा व्याख्या हुने विषय होइन, सक्षमता परीक्षण गरेर जाँच्ने विषय हो ।’ यसैगरी नेतृत्व

मा महिला पुग्ने सवाललाई लिएर संघर्ष नभएर गुणात्मक सुधारतर्फ जोड दिनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ । ‘अब संघर्ष होइन सुधारको कुरा गर्नुपर्छ, अबको पुस्ताले संघर्ष शब्द डिलिट गरे हुन्थ्यो, अब गुणात्मक सुधारको पाटो हो,’ उनले भने । महिलालाई अवसरै नदिएर सक्षमता मापन गर्न नमिल्ने उनको तर्क छ । उनी भन्छन्, ‘तपाईं अवसर दिनुस् अनि जाँच्नुस् न, अवसर नै नदिने, (निर्वाचनमा) अनि किन नल्याएको भन्दा सक्षम नभएर, कसले नाप्ने सक्षमता ?, कहाँ मापन गरिने ?, मापन गर्ने जुन ठाउँ हो, त्यहाँबाट प्रारम्भ गर्नुपर्‍यो ।’

कान्तिपुर

Link copied successfully