पछिल्लो समय कृत्रिम गर्भाधानबारे सचेतना फैलँदै छ : डा.भारती

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

Recently, awareness about artificial insemination is spreading: Dr. Bharti

काठमाडौँ — 'इन्फर्टिलिटी स्पेसलिस्ट' डा.आकृति भारतीले पछिल्लो समय कृत्रिम गर्भाधानबारे सचेतना फैलँदै गएको बताएकी छिन् ।

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' को दोस्रो सत्र ‘मातृत्व मन्थन’को छलफलमा वात्सल्य आईभीएफकी डा. भारतीले पछिल्लो समय दुर्गम क्षेत्रबाट आईभीएफका लागि आउने बताइन् ।

‘जुम्ला रोल्पा जस्ता दुर्गम ठाउँबाट आईभीएफ गर्न आउनुहुन्छ । एकदमै खुसी लााग्छ ।  काठमाडौं जस्ता सहरहरूमा भने अझै महिलालाई बच्चा नपाउँदा हेर्ने दृष्टिकोण फरक पाउँछु । बच्चा नभए दोस्रो विवाह गरिदिने पारिवारिक दबाब अझै छ,’ उनले भनिन् । 

कतिपय महिलाहरू करियर, पढाइ, आर्थिक कारण, स्वास्थ्यको कारण वा बच्चा जन्माउन तयार हुँदैनन् । त्यस्ता महिलाहरूका लागि 'एग फ्रिज' गर्नु उपयुक्त हुने उनको भनाइ छ । 

महिलाले २० वर्षको उमेरमा 'एग फ्रिज' गरेको छ भने ४५ वर्षसम्म बच्चा जन्माउन सक्ने डा. भारतीले बताइन् । यस प्रक्रियाबारे प्रस्ट पार्दै उनले भनिन्, 'उक्त एगलाई आफ्नो पार्टनरको विर्यसँग आईभीएफको माध्यमबाट निषेचन गरी गर्भधारण गर्न सक्छिन् । यसरी एग फ्रिज गरेर बच्चा जन्माउँदा उनले २० वर्षको उमेरमै जस्तो बच्चा जन्माउँछिन् ।' उक्त बच्चा स्वस्थ हुने पनि डा. भारती बताउँछिन् ।

क्यान्सरजस्ता रोगहरूको उपचारका लागि किमोथेरापी गर्नुअघि एगलाई फ्रिज गर्न सकिने पनि उनले बताइन् । किमोथेरापीको कारण महिलाको अण्ड र पुरुषको विर्यको संख्या र गुणस्तरमा प्रभाव पर्ने भएकाले पनि आईभीएफ प्रविधि प्रभावकारी हुने उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully