चुईगम, चकलेटदेखि फलफूल र गेडागुडीसम्म अन्तःशुल्क बढ्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुईगम, चकलेटदेखि फलफूल र गेडागुडीसम्म अन्तःशुल्क बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विभिन्न वस्तुको अन्तःशुल्क बढाएको छ । आर्थिक विधेयक २०७९ मार्फत् विभिन्न आयातित वस्तुहरूमा अन्तःशुल्क बढाएको हो ।

पिउने पानी र सबै प्रकारका माछामा १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था राखिएको छ । आरु, पैयुँ आयातमा अन्त:शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । ससेज, मासुजन्य वस्तुमा १० प्रतिशत अन्तःशुल्क लाग्दै आएको १५ प्रतशित पुर्‍याइएको छ । त्यस्तै, चुईगममा १० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा १५ प्रतिशत पुर्‍याइएको छ । क्रिस्प ब्रेड, जिन्जर ब्रेड, केक, टोस्ट, पेस्ट्री, कुकिज र बिस्कुटहरू, चकलेट र कोको मिसाईएका अन्य खाद्य वस्तुको अन्तःशुल्क ५ प्रतिशतबाट १५ प्रतिशत भएको छ ।

च्याउ, काँक्रो र गोलभेडा, फ्रेन्चफ्राइज र आलु चिप्स, केराउ, बोडी, सिमी, कुरिलो, जैतुनजस्ता गेडागुडीमा १० प्रतिशत रहेकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । त्यसैगरी, बदाम, मम्फली, भुटेको चना, भुटेको काजु, पेस्ता, भुँइकटहर, अमिला फलफूल, नास्पाती, खुर्पानी, पैयुँ, आरु, स्ट्रबेरीजस्ता फलफलको अन्तःशुल्क ५ प्रतिशतबाट १५ प्रतिशत पुर्‍याइएको छ ।

बाँस, बैस, निगालो र पानको पातमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ । सुँगुरको मासुजन्य पदार्थमा १० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ । पर्फ्युम, नङ पालिस, लिपस्टिक, सन्स्क्रिमजस्ता मेकअपका सामान, स्याम्पु, मेहन्दीजस्ता वस्तुमा ५ प्रतिशतबाट १५ प्रतिशत पुर्‍याइएको छ । काठमा ५ प्रतशित अन्तःशुल्क लगाइएको छ । काठका फल्याक, प्लाइउड, चिरेको काठ, काठका गोलियामा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

मोटरको पिकआवर २ सय किलोवाटभन्दा बढी भएको तर ३ सय किलोवाट ननाँघेका जीप र भ्यानका लागि ४५ प्रतिशत र पिकपावर ३ सय मेगावाटभन्दा बढी भएका कार, जीप, भ्यानका लागि ६० प्रतिशत अन्तःशुल्क तोकिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

विमान दुर्घटनाबारे ५ सदस्यीय जाँचबुझ आयोग गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — तारा एयरको विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन सरकारले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

जेठ १६ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'गैरसैनिक हवाई दुर्घटना जाँच नियमावली, २०७१ को नियम ११ बमोजिम वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमन दुर्घटना जाँच इन्चार्ज रहने गरी देहाय बमोजिमको दुर्घटना जाँच आयोग गठन गर्ने नेपाल सरकारमा मन्त्रीस्तरबाट मिति २०७९/०२/ १६ मा निर्णय भएको व्यहोरा जानकारी गराइन्छ । दुर्घटनामा मृत्यु हुनु भएका चालकदलका सदस्य एवं यात्रुहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनप्रति मन्त्रालय हार्दिक समवेदना प्रकट गर्दछ।'

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

दुर्घटनामा उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको बताइएको छ । सोमबार दिउँसो उद्धार टोलीले सबै शवलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।


प्रकाशित : जेष्ठ १६, २०७९ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×