आर्थिक विधेयक सदनमा टेबल, मंगलबारदेखि छलफल हुने

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व व्ययको वार्षिक अनुमानित विधेयक सदनमा टेबल गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानित वक्तव्य सदनसमक्ष टेबल गरेका हुन् ।

अर्थमन्त्री शर्माले भने, ‘आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट वक्तव्य सदनसमक्ष टेबल गर्दछु ।’ प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि मंगलबार, बुधबार र बिहीबारका लागि समय तोकेका छन् । 

त्यस क्रममा अर्थमन्त्री शर्माले छलफलमा उठेका प्रश्नहरुको उत्तर पनि दिनेछन् । सभामुख सापकोटाले उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरुलाई आ-आफ्ना दलका सदस्यहरुको नाम बैठक बस्नुभन्दा एक घण्टाअघि नै कार्यव्यवस्था शाखा संघीय संसद सचिवालयमा उपलब्ध गराउन पनि अनुरोध गरे ।

‘आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्न र माननीय अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको उत्तर दिनको लागि २०७९ साल जेठ १७, १८ र १९ गते तोकेको छु । साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरुले आ- आफ्ना दलका वक्ता सदस्यहरुको नाम बैठक बस्नुभन्दा एक घण्टाअघि नै कार्यव्यवस्था शाखा संघीय संसद सचिवालयमा उपलब्ध गराइदिनुहुन अनुरोध छ’ उनले भने । 

कान्तिपुर

Link copied successfully