काठमाडौं-चितवन यात्रा १ घण्टामा गर्न सकिने गरी द्रूतमार्ग निर्माण गरिने

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले गुणस्तरीय पूर्वाधार विकास गरी आर्थिक विकासको आधार तयार गर्न राष्ट्रिय र अन्तर प्रदेश मार्गलगायत रणनीतिक प्रकृतिका ठूला आयोजनाको क्षेत्रमा लगानी वृद्धि गर्ने भएको छ ।

आइतबार संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंदेखि चितवनको यात्रा १ घण्टामा गर्नेगरी द्रुतमार्ग निर्माण गर्न लागिएको पनि बताए ।

आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री शर्माले चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रूतमार्ग पहिलो चरणमा निर्माण गरिने बताए ।

त्यस्तै चितवन-रामपुर-बुटवल र चितवन-रामपुर-पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइने अर्थमन्त्री शर्माले बताए । यसबाट काठमाडौंदेखि बुटवल र काठमाडौंदेखि पोखरासम्मको यात्रा छोटिने उनको भनाइ थियो ।

मिर्चैया-लुक्ला सगरमाथा द्रूतमार्गमा समेत निजी क्षेत्रको लगानी गर्ने प्रबन्ध मिलाइने उनले बताए ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully