काठमाडौँ — रोगको रोकथाम तथा नियन्त्रणका लागि नेसनल सेन्टर फर डिजिज कन्ट्रोल स्थापना कार्य अगाडि बढाइने भएको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रोगको रोकथाम र नियन्त्रणका लागि नेसनल सेन्टर फर डिजिज कन्ट्रोल स्थापना कार्य अगाडि बढाइने बताएका हुन् ।
यसैगरी स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना गर्नका लागि समेत आवश्यक कानुनी व्यवस्था गरिने भएको छ ।
प्रत्येक नेपालीहरूको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न आगमी वर्षदेखि प्रमुख अस्पतालहरूमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली स्थापना गरेर क्रमशः त्यसलाई सबै स्वास्थ्य संस्थामा लागू गर्दै लगिने अर्थमन्त्री शर्माले जानकारी दिए ।
स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न लाभग्राहीहरूलाई सामुदायिक तथा सहकारी अस्पतालबाट मात्रै उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि करिब सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए ।
