वीरगन्ज — ‘हाम्रो खोप हाम्रो सुरक्षा, खोप लगाऊँ, सुरक्षित बनौं' नारासहित पर्सामा १८ वर्षमाथि उमेर समूहका व्यक्तिका लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा यही मंसिर २२, २३ र २४ गते कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गरिने जिल्ला खोप समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
कोभिड १९ विरुद्धको खोप लिन छुटेका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन खोप समन्वय समितिले आह्वान गरेको छ । स्वास्थ्य संस्था बाहेक वीरगन्ज बसपार्क यात्री प्रतिक्षालय र घन्टाघरको प्रहरी बिटमासमेत खोप केन्द्र राखिने स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।
खोप समन्वय समितिका अनुसार २०७८ साउनयता ७ पटक खोप अभियान सञ्चालन भइसकेका छन् । पर्सामा हालसम्म १ लाख ३२ हजार १२८ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको संख्या ४ लाख ४५ हजार ३६८ रहेको छ । जिल्लामा हालसम्म ३० प्रतिशतले मात्रै खोप लगाएका छन् ।
विगतमा पर्सा दुईपटक कोरोना संक्रमणको केन्द्र बनिसकेको छ । ‘नया' भेरिएन्टको संक्रमण भित्रिन नदिन, भित्रिहालेको खण्डमा संक्रमितको उपचार गर्न आवश्यक तयारीहरू भइरहेका छन्,’ प्रजिअ ढकालले भने, ‘साथै आइपरेको अवस्थामा यसको लागि जिल्लाका सबै निकाय तयारी अवस्थामा छौं ।’
जिल्ला खोप समन्वय समितिले पुस मसान्तभित्र दुईतिहाइ नागरिक अर्थात् ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ । जिल्लाको स्थानीय तहको सहकार्यमा सबै स्वास्थ्य संस्था तथा आवश्यकताको आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी हाल ४ सय ७५ जना स्वास्थ्यकर्मी स्वयंसेवक तथा ७ सय ६५ जना सामुदायिक महिला स्वयंसेविका सहितको टिम परिचालन गरी १ सय २९ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने प्रजिअ ढकालले जनाए ।
‘वीरगन्ज महानगरपालिकाको बढी भीडभाड हुने घन्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राईपोर्ट चोकमासमेत खोप केन्द्र स्थापना भएका छन्,’ प्रजिअ ढकालले भने, ‘आवश्यकता परेको खण्डमा खोप केन्द्र थप्न पनि सकिन्छ ।’ पोखरीया नगरपालिकामा हाट बजार लाग्ने दिन अभियानको दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।
यसअघि भेरोसेल, कोभिसील्ड वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा लिएकालाई खोप कार्डको आधारमा दोस्रो मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिने व्यवस्था मिलाइएको छ ।
भेरोसेल सिनोफार्म खोपको पहिलो मात्रा वा पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपकोसमेत सुनिश्चितता भइसकेको स्वास्थ्य निरीक्षक ठाकुरले जनाए । उनका अनुसार गर्भावस्थाको पहिलो त्रैमासिक पुगेका सबै गर्भवतीलाई खोप दिइनेछ ।
खोप अभियान सफल बनाउन स्थानीय तहलाई महिला स्वयंसेविकालाई घर घरमा पठाएर खोप अभियानबारे जानकारी गराउन आग्रह गरिएको पनि बताइएको छ । अभियानलाई अझ प्रभावकारी बनाउन कोभिड १९ विरुद्धको प्रदेश स्तरीय कार्यक्रम सञ्चालन मार्गदर्शन २०७८ बमोजिम निजी अस्पतालहरूमा पनि खोप सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
समितिका अनुसार विशेष खोप अभियानका लागि जिल्लामा प्रयाप्त मात्रामा खोप छ । ४३ हजार भेरोसेल खोप जिल्लामा आइसकेको छ, स्वास्थ्य निरीक्षक ठाकुरले भने, 'थप ६० हजार खोप पथलैया प्रादेशिक खोप स्टोरमा पर्साको लागि सुनिश्चित गरी आवश्यकताको आधारमा आपूर्ति हुने गरी राखिएको छ ।'
प्रकाशित : मंसिर २१, २०७८ १५:२१