राहतको खोजीमा ‘राइडर’

लकडाउनअघि आफ्नो खर्च जुटाउन समस्या नरहेका चालक अहिले काम नपाउँदा छटपटीमा छन्
विजय तिमल्सिना

काठमाडाैं — ३८ वर्षीया भीममाया सुनुवारको दैनिकी २ महिनायता फेरिएको छ । २ वर्षदेखि राइड सेयरिङ सेवा दिने टुटल राइडरका रूपमा आफ्ना ग्राहकलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँदै आएकी उनको दैनिकी स्वयम्भूस्थित आफ्नै डेरामा सीमित छ । पहिलो वर्ष उनले बिहानदेखि बेलुकासम्म टुटल राइडरका रूपमा आफूलाई व्यस्त राखिन् । एक वर्षयता भने उनी बिहान ९ देखि ३ बजेसम्म मात्रै काम गर्थिन् ।

राहतको खोजीमा ‘राइडर’

फुलटाइम काम गर्दा उनको कमाइ मासिक ५०–६० हजारसम्म हुन्थ्यो, जुन उनका दुई छोराको पढाइ र घरखर्चका लागि पर्याप्त थियो । एक वर्षयता भने उनी मासिक २० हजार हाराहारीमा कमाउँदै आएकी थिइन् । छोरालाई पढाउने शिक्षिकाबाट पठाओ एपबारे थाहा पाएपछि श्रीमान्को सल्लाहमा उनले टुटललाई आफ्नो कमाइको स्रोत बनाउन थालेकी थिइन् ।

दुई महिनायता उनको आम्दानी शून्यमा झरेको छ । भएको बचत पनि सकिएको छ । ‘अहिले जेनतेन खर्च चलाइरहेकी छु,’ उनी भन्छिन्, ‘मसँगै काम गर्नेहरु पनि खर्च नभएर सरसापटी गरेर चलाइरहेको बताउँछन् ।’

मध्यबानेश्वरमा आफूले चलाएको डेरी पसल नचलेर भाडा तिर्न पनि धौधौ भएपछि गोविन्द कार्कीले पनि आफूसँग भएको मोटरसाइकललाई आफ्नो आम्दानीको स्रोत बनाउने विचार गरे र साढे २ वर्षअघि पठाओमा आबद्ध भए ।

बिहान केहीबेर पसलमा बसेर पठाओ राइडरका रूपमा उनी दिनभर उपत्यकाका एक ठाउँदेखि अर्को ठाउँसम्म गरिरहन्थे । यसो गर्दा उनको कमाइ मासिक ४५ हजार हाराहारीमा हुन्थ्यो । यही आम्दानीबाट शंखमूलमा डेरा गरी बस्ने उनको ५ जनाको परिवार चलिरहेको थियो ।

‘दुई महिनादेखिको लकडाउनले पसलमा पनि आम्दानी छैन,’ उनी भन्छन्, ‘यसअघि पठाओबाट भएको कमाइले भए पनि पसलको भाडा तिर्न पुग्थ्यो । अहिले त तिर्न सकिने स्थिति छैन ।’ यसअघि व्यापार नहुँदा इज्जतका लागि भए पनि समयमै भाडा तिर्ने गरेको भए पनि अब भने घरबेटीसँग गुहार माग्नुको विकल्प नभएको उनी बताउँछन् ।

‘मेरो ठाउँमा अरू भइदिएको भए आत्महत्या गर्थे होलान् । तर म त संघर्ष गर्ने मान्छे हुँ,’ उनी भन्छन् । भूकम्प नआउन्जेल शंखमूलमै उनको डेरी पसल थियो । शंखमूलमा हुँदा राम्ररी चलेको पसल भूकम्पले भत्किएपछि उनले मध्यबानेश्वरलाई व्यापारको स्थल बनाएका थिए ।

भूकम्पमा भत्किएको घर पुनर्निर्माण गरेपछि धनधनीले साढे ७ हजारको मासिक भाडालाई कैयौं गुणा बढाए । ‘भाडा तिर्न सक्दिनँ भनेर पसल मध्यबानेश्वर सारेको थिएँ,’ उनी भन्छन्, ‘पसल चल्न छाड्यो अनि पठाओको राइडर बनें ।’

लकडाउनका कारण राइड सेयरिङ सेवा बन्द भएपछि पठाओले एक सातादेखि खाद्यान्न डेलिभरीको काम थालेको छ । एक सातादेखि कार्की पठाओबाट घरघरमा खाद्यान्न डेलिभरी गरिरहेका छन् । रिङरोडभित्र डेलिभरी गरेको १ सय रुपैयाँ र रिङरोडबाहिर डेलिभरी गरेको १ सय ५० रुपैयाँ पाउँछन् । यसमा पेट्रोल खर्च र मोबाइल खर्च कटाएर केही मात्र पैसा बच्ने उनको भनाइ छ । ‘पीपीई, मास्क, सेनिटाइजर लगाएर डेलिभरी गर्न जान्छु,’ उनी भन्छन्, ‘त्यही पनि डरले आङ सिरिङ हुन्छ ।’

कार्कीको जस्तै व्यथा छ, ४२ वर्षीय राजेशकुमार श्रेष्ठको पनि । दुई वर्षअघिसम्म पेन्टरका रूपमा काम गर्ने श्रेष्ठले त्यसयता टुटल राइडरको परिचय बनाएका थिए । दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी गर्ने उनको आय २ महिनायता शून्यमा झरेको छ । बचत गरेको पैसा पनि सकिएको छ ।

पुख्र्यौली घर डिल्लीबजार भए पनि उनी ललितपुरको सानेपामा डेरा गरी बस्छन् । लकडाउनयता उनले ललितपुर उपमहागरपालिका–२ बाट ५ किलो चामल, एक प्याकेट नुन र अन्य केही सामग्री राहत पाएका थिए । ‘५ जनाको परिवारका लागि त्यति राहतले कति दिन पुग्थ्यो र ?’ उनी भन्छन्, ‘लकडाउन सुरु हुने बेलामा एकैपटक धेरै सामान किन्दा आफूसँग भएको पैसा पनि सकियो र सामान पनि सकिन लाग्यो । लकडाउन अब एक महिनासम्म पनि भइरह्यो भने त बिजोग हुन्छ ।’

लकडाउनका कारण २ महिनादेखि देशभर यातायात क्षेत्र ठप्प हुँदा राइड सेयरिङबाट आम्दानी गर्नेहरु मात्रै होइन, उपत्यकामा ट्याक्सी चलाइरहेकाहरु पनि निकै मारमा छन् । उपत्यकामा भएका करिब १५ हजार ट्याक्सी चालकको आय पनि लकडाउनमा शून्य छ ।

२ वर्ष कतार बसेर फर्किएका वीरबहादुर तामाङले नेपाल फर्किएर गत दसैंमा ट्याक्सी किनेका थिए । आधा पैसा आफ्नो र आधा पैसा बैंकबाट ऋण लिएर ३३ लाख रुपैयाँमा उनले ट्याक्सी किनेका हुन् । ऋण चुक्ता गर्न उनले मासिक ३५ हजार बैंकलाई बुझाइरहेका थिए ।

ललितपुरको ठेंचुमा बस्दै आएका उनी लकडाउनअघि दैनिक २ हजार देखि २ हजार ५ सयम्म कमाइ हुने गरेको बताउँछन् । उनले आफ्नो ट्याक्सी राइड सेयरिङ सेवा दिने प्लेटफर्म पठाओमा आबद्ध गराएका थिए । ‘नाकाबन्दीका बेलामा बरु ठीक थियो, जसोतसो गाडी चलिरहेको थियो,’ उनी भन्छन्, ‘अहिले त त्योभन्दा नि खत्तम भयो ।’

कतारबाट फर्किएर ट्याक्सी चलाउन थालेका तामाङ जस्तै कोभिड–१९ को प्रभाव कम भएसँगै विदेशबाट फर्किने धेरै नेपाली रोजगारीका लागि यस्तै मोबिलिटी क्षेत्रमा संलग्न हुने सम्भावना उच्च भएको टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टको टिप्पणी छ । ‘कोभिड–१९ का कारण धेरै नेपाली फर्किंदै छन्,’ उनी भन्छन्, ‘उनीहरु राइड सेयरिङजस्तै स्वतन्त्र रूपले काम गर्न पाइने खालका काममा जोडिन्छन् ।’

पठाओका क्षेत्रीय निर्देशक असीममान सिंह बस्न्यात आफ्नो प्लेट–फर्मममा ६० हजार मानिस जोडिएको बताउँछन् । ‘कोही फुल–टाइम र कोही पार्ट–टाइम राइडका रूपमा जोडिएका छन्,’ उनी भन्छन् । पछिल्लो समय ट्याक्सीको सेवा पनि सुरु गरेको पठाओमा ५ हजार ट्याक्सी आबद्ध भएको उनले जानकारी दिए । टुटलमा २५ हजार राइडर दर्ता भएको भट्टको भनाइ छ ।

आगामी दिनमा अझै बढी मानिस यो क्षेत्रमा आबद्ध हुने भएकाले सरकारले कोभिड–१९ पछिको अवस्थामा यो क्षेत्रलाई फस्टाउने खालको नीति बनाउनुपर्ने उनको तर्क छ । भन्छन्, ‘लकडाउनपछिको केही महिना प्लेटफर्म प्रयोग गरेबापत मेरो कम्पनीले लिने कमिसन नलिन म तयार छु । धेरै मानिस यसमा आबद्ध भए मोबिलिटी बढाउनेखालको नीति सरकारको पनि हुनुपर्छ ।’

राष्ट्रिय श्रमशक्ति सर्वेक्षणका अनुसार नेपाली श्रम बजारमा ७० लाख ८६ हजार जना कार्यरत छन् । तीमध्ये ४४ लाख ११ हजार अनौपचारिक र र २६ लाख ७५ हजार औपचारिक क्षेत्रमा काम गर्छन् । करिब ८५ प्रतिशत कामदार सहरी क्षेत्रमा भएको सर्वेक्षणले देखाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?