दाना ढुवानी घटेपछि घाँसको भर
काठमाडौँ — दैनिक डेढ सय लिटर दूध बिक्रीवितरण गर्दै आएका ललितपुर महानगरपालिका–१४ विशालचोकमा डेरी सेन्टर सञ्चालक रुद्रप्रसाद दाहालले लकडाउनपछि सय लिटर मात्र घरघरमा पुर्याउन पाएका छन् । दूध उत्पादन गर्नेले चाहे जति दिन नसकेको र पसलमा पनि कोही किन्न नआएपछि उनले बिक्री गर्ने दूधको परिमाण घटेको हो ।
डेरी सञ्चालकलाई घरघरै दूध पुर्याउन दिइएकाले व्यापारमा भने त्यति समस्या नरहेको उनको भनाइ छ । गाईभैंसी पाल्नेहरूले दूध उपलब्ध गराउन नसक्दा सेवा घट्न थालेको उनी बताउँछन् । दैनिक ५० घरमा दूध पुर्याउने गरेका उनले पछिल्लो समय ग्राहकलाई दूध पुर्याउन भने नसकेको जानकारी दिए ।
लकडाउनले काठमाडौं उपत्यकाका पशुपालन गरिरहेकालाई सास्ती हुन थालेको छ । गाईभैंसीलाई खुवाउन बाहिरबाट आयात गरिने दाना, भुसा, मकैजस्ता सामग्री कम ढुवानी भएपछि उनीहरू समस्यामा परेका हुन् । अहिलेसम्म ऐंचोपैंचो गरेर दानापानी चलाएको किसान बताउँछन् । यतिखेर ढुवानी व्यवसायीले दानाको भाउसमेत बढाएको किसानको गुनासो छ ।
ललितपुर महानगरपालिका–२६ र २७ सुनाकोठी नख्खुफाँटमा दुई दर्जनभन्दा बढी परिवारले गाईभैंसी पाल्दै आएका छन् । यहाँका अधिकांश फाँटमा यतिखेर गहुँ खेती भइरहेको छ । अतिरिक्त जग्गामा पशुपालकले गाईभैंसीका निम्ति जै, राईजस्ता घाँस लगाएका छन् । गहुँबालीमा पलाएको बन्सोसमेत बटुलेर घाँसमा भरथेग गर्दै आएको किसानले बताएका छन् ।
यहीँ किसानी गरिरहेका सुवास गौतमले तीन वटा दुहुनोसहित ६ वटा भैंसी पालेका छन् । दैनिक ३० लिटर दूध बेच्ने उनी अहिले मुस्किलले २५ लिटर मात्र पुर्याउन सकेको बताउँछन् । ‘दाना र भुसा अहिलेसम्म जेनतेन पुगेको छ,’ उनले भने, ‘अब केही दिनसम्म मात्र पुग्छ । त्यतिन्जेल लकडाउन खुल्यो भने दाना ढुवानी हुन सक्ला, नत्र दूधको मात्रा घट्छ ।’
१३ वटा भैंसी र दुई वटा गाई पालेका बालकृष्ण बजगाईंको चिन्ता पनि उस्तै छ । दैनिक एक सय लिटरभन्दा बढी दूध बेच्ने गरेका उनले दानापिठोको अभाव चुलिने हो कि भन्ने गुनासो गरे । ‘सरकारले लकडाउनका बेला कम्तीमा हामीले उत्पादन गरेको दूध बजारसम्म पुर्याउन दिएकोमा खुसी छौं,’ उनले भने, ‘लकडाउन लम्बिँदै जाने हो भने समस्या पक्कै आउँछ ।’
गाईपालक धर्मा राई यसअघि दैनिक नौ लिटर दूध बेच्थिन् । लकडाउनपछि भने ६ लिटरमा झरेको उनी बताउँछिन् । ‘दाना सकिएपछि घाँसको भरमा गाईले दूध कम दिन थालेको छ,’ उनले भनिन्, ‘लकडाउनले गाह्रो हुँदै गएको छ ।’ वरिपरि खेत रहेकाले जेनतेन बन्सो घाँस बटुल्न सकेको उनले जानकारी दिइन् ।
दानाको समस्या हुन थालेपछि पशुपालकहरूले पाँच–छ वटा फर्महरू मिलेर एक डेढ महिना पुग्ने परालको भुसा, दाना ट्रकमा ढुवानी गरेर स्टक राख्ने गरेका छन् । तर यो महिना त्यसरी मगाउन पाएका छैनन् । दाना ढुवानीकर्ताले भाउसमेत बढाएको जनाएका छन् । कृषक बालकृष्णका अनुसार एउटा दुहुनो भैंसीलाई मासिक ४ हजार ५ सय रुपैयाँको दाना र १० बोरा परालको भुसा आवश्यक पर्छ । अहिले भुसा प्रतिबोरा ५ सय ५० रुपैयाँ पर्ने गरेको छ । त्यसका अतिरिक्त घाँस, औषधिसमेत आवश्यक छ ।
महानगरभित्र १ हजार ६ सय गाई, नौ सय भैंसी र ७ सय ५० बाख्रा पालिएको ललितपुर महानगरपालिका पशु सेवा शाखाका प्रमुख राजेन्द्र विष्टले जानकारी दिए । ‘लकडाउनले गर्दा अहिले कृषकको फार्महरू अनुगमन गर्न सकिएको छैन,’ दुई वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको उल्लेख गर्दै उनले भने, ‘लकडाउनले गर्दा पशु सेवा खोप रोकिएको छ । अहिले फोनबाटै प्राविधिक सल्लाह दिइरहेका छौं ।’
वाग्मती प्रदेश भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले काठमाडौं उपत्यकाका तीन गाउँपालिका, दुई महानगर र १६ नगरपालिकासहित २१ स्थानीय निकायको समन्वय गर्दै आएको छ । प्रत्येक पालिकामा पशु सेवा शाखा विस्तारसँगै चार जना प्राविधिक कर्मचारी खटाइएको केन्द्रका प्रमुख डा. नारायणबहादुर श्रेष्ठले बताए ।
केन्द्रको तथ्यांकमा उपत्यकामा दर्ता प्राप्त पशु फार्ममा पालिएका गाई १ लाख २० हजार, भैंसी ८० हजार, बाख्रा २ लाख र बंगुर १ लाख छन् ।
