मेरी आमा र औतारी लामा 

पुस १७, २०८१

ईश्वर पोखरेल

My mother and Autari Lama

मैले रुँदा,

मैले रुँदा,

पीडा पोख्न ‘आमा’ भनें !

अभावमा,

आवश्यकता पूरा गर्न ‘आमा’ गुहारें !

यातना र पीडामा

झक्कानिएर रुँदा ‘आमा’ सम्झेँ !

आँसुहरुमा आमालाई नै बगाएँ !

कुनै बेला,

कालले मुख बाएर निल्न खोज्दा,

आमाकै शक्तिको सहारामा

आफूलाई सुरक्षित राखें !

यस्ती आमा—

आज मसित हुनु हुन्न,

तर, सुरक्षित छन्

आमाप्रति

मुटुभित्रको सम्मान

र, कहिल्यै नओइलाउने सम्झनाहरु !

ममतामयी आमा !

सन्तानको सम्झनामा,

वात्सल्यको अजस्र स्रोत भएर

बाँचिरहनुहुनेछ !

हाम्री आमाका धेरै सन्तान ! एउटा जन्मेको दुई वर्ष नपुग्दै अर्को जन्मिसक्ने ! लगातार बाह्र सन्तान जन्मिएको त्यो क्रम लामै रहृयो । 

तात्कालिक परिवेशमा सन्तान जन्माउने, हुर्काउने, बढाउने काम चुनौतीपूर्ण त थियो नै, साथै कम कष्टपूर्ण थिएन ! घरको खस्कँदो आर्थिक अवस्था, अस्वस्थ बन्दै गएका पति, घरायसी परिवेशको बढ्दो प्रतिकूलताले गाँजिरहेको थियो । हो, त्यस्तै प्रतिकूलताबिच आमाको चालिसवर्षे कोखबाट मैले जन्म लिएछु । त्यस्तो अवस्थामा जन्मिएको मैले राम्रो स्याहारसुसार, पौष्टिक आहार र आवश्यक औषधिमूलो पाउने स्थिति थिएन । प्रतिकूलता र व्यस्तताबिच आमा जे सक्नुहुन्थ्यो, जे जान्नुहुन्थ्यो, त्यसरी नै गर्नुभयो मेरो स्याहारसुसार । कान्छो सन्तान, मातृवात्सल्यको छहारीले छोपिरहनुभयो ।

तर, म सानैदेखि रोगी थिएँ रे । पछि आमाले बताएअनुसार मेरो जिउभरि घाउखटिरा आइरहन्थे । आमाले कति गर्दा पनि खटिरा निको भएन । मेरो पेटले केही पचाउनै सक्तैनथ्यो । प्रायः पखाला चलिरहने ! मेरो अवस्था साह्रै नाजुक थियो रे— हाडछाला प्रस्ट देखिने । मेरा हातखुट्टा पाकेर कति पटक त नङ नै झरेको कुरा पनि सुनाउनुभएको थियो आमाले ।

म सधैं बिरामी परिरहने । त्यस बेलाको उपचारको चलनअनुसार अनेक जडीबुटी, झारफुक गर्दा पनि मेरो स्थितिमा केही सुधार हुन सकेनछ । अवस्था झन्झन् नाजुक हुँदै गयो । डेढ वर्ष भएपछि एक दिन त म लगभग अन्तिम अवस्थामा पुगेछु । शरीरभरि फैलिएका घाउखटिराका कारण ज्वरो आइरहने ! झन् त्यसमाथि लगातार झाडापखाला चलेपछि के चाहियो ! सास रोकिन खोज्यो, मुटुको धड्कन धिमा हुँदै गयो । नाडी पनि चल्न छोडे ! 

मेरो त्यस्तो अवस्था देखेर आमा अत्तालिनुझयो, रनुभयो । मलाई बँचाउने केही उपाय छ कि भनेर हारगुहार गर्नुभयो । त्यस्तै अवस्थामा छिमेकी बस्नेतनी आमैले भनिछन्— “लेकको ठुलाघरे औतारी लामाकाँ लानुपर्छ । उसले जडीबुटी गरेपछि च्वाट्टै निको हुन्छ ।”

बस्नेतनी आमैले मलाई त्यहाँ पुर्‍याउन आमालाई साथ दिने कुरा पनि गरिछन् । बस्नेतनी आमैको त्यति सहारा पाएपछि आमाले मलाई थाङ्नामा गुटमुट्याएर लानुभएछ । राम्ररी कुरा बुझ्ने भइसकेकी माहिली दिदीलाईपनि सँगैलाग्नुभएछ आमाले !

मरेतुल्य न्याल्टुङ बनेको मलाई रुपनालुको ओरालो र ठोट्नेको तीरैतीर लानुभएको रे ! खोलाको तीरमा हिँड्दै गर्दा एक पटक त मेरो शरीर पूरै चिसो भएपछि ‘छोरो अब रहेन’ झनी आमा डाँको छोडेर रनुभएछ । जीवनको कुनै चाल नदेखेपछि मरिसकेको ठानेर आमाले मलाई ढुङ्गामा राखेर घोप्टो फरी रन थाल्नुभयो रे ! धेरै बेरपछि, खै कसरी हो, मेरो श्वास चल्न थालेको देखिछन् बस्नेतनी आमैले । 

शरीर पनि अलि तातो भएछ । अनि भनिछन्— “मुखिनी, नानी त तातै छन्, लु यिनलाई केही भको छैन ! छिटो जौं ।”

त्यसपछि आमाले ‘मेरो बाबु, तिमीलाई केही भ’को छैन, तिमी बाँच्छौ’ भन्दै अँगालेर बोक्नुभएको थियो रे ! सानीटारको उकालो, ओखलढुङ्गा र सोलुको सीमा पर्ने पात्ताले लेक हुँदै औतारीको गाउँ (ठुलागाउँ) मा वास बस्ने गरी हिँड्नुभएको थियो रे आमाहरु !

झमक्क साँझ परेपछि मृत्युको मुखमा पुगिसकेको आनो छोरालाई औतारी लामाको घरमा पुर्‍याएर आँखामा बग्दैगरेका आँसु सारीको सप्कोले पुछ्तै मनमा आशाको दियो बालेर ‘छोरो बँचाइदिन’ अनुनयविनय गर्नुभएको थियो रे लामासँग !

त्यस बेला उहाँको मनमा एउटै मात्र आशा थियो— औतारी लामा । त्यही आशाको सहारामा उहाँले औतारी लामा र मर्नै लागेको आनो छोरालाई आशापूर्ण नजरले हेर्नुभएछ । लामाले धेरैबेर लगाएर, अनेक विधि गर्दै झारफुक गरेछन् । अनेक जडीबुटी घोटेर त्यसको रस मेरो मुखमा हालिदिएछन् ! आमाले पछि सुनाउनुभएको थियो— म त्यसै रातदेखि अलि चलमलाएको थिएँ रे ! मेरो फेरिएको अवस्थाबाट आमामा खुसी छचल्किएको थियो । साथै रहेका बस्नेतनी आमै र माहिली दिदी पनि खुसी हुनुभएछ । मेरो रोग राम्ररी निको होस् भनेर आमाले तिनै औतारी लामाको मझेरीमा दोस्रो रात पनि बिताउनुभएको थियो रे !

औतारी लामाको औषधिमूलोबाट म निको हुँदै गएपछि आमा एकदमै खुसी हुनुभयो रे । सन्चो हुँदै जाँदा म हाँस्न थालेको देखेपछि आमाको अनुहारमा खुसी छचल्किएछ । उहाँ पनि मसँगै मुस्कुराउनुभएको थियो रे ! छोरो बाँचेकोमा खुसीले औतारी लामालाई कृतज्ञता व्यक्त गर्दै हँसिलो अनुहारले हेर्नुभएको थियो सायद !

औतारी लामाले त्यस बेला मलाई केके औषधि खुवाए, आमालाई त्यति थाहा भएन । तर, उहाँ अत्यन्त खुसी हुनुभयो, कृतज्ञताका आँसु बगाउनुभयो । त्यस बेला उहाँले आफूसित ल्याउनुभएको सबै पैसा लामालाई दिनुभयो । आनो छोरो निको पारिदिएको गुन कहिल्यै नबिर्सने कुरा गर्नुभएको थियो रे लामासँग ! 

घर फिर्न लागेकी आमाको काखमा लुटपुटिएको मलाई औतारी लामाले टाउकोमा हात राखेर ‘अब केही नहुने’ कुरा गरेका थिए रे ! त्यो प्रसङ्ग पछि पनि आमाले धेरै पटक सुनाउनुभएको थियो ।

“मुखिनी, तिम्रो छोरालाई अब केही पनि हुँदैन । कालले पनि छुँदैन, यो ठुलो मान्छे हुन्छ, तिमीसित घरमा पनि बस्तैन, ढुक्क होउ !” हिँड्ने बेलामा औतारी लामाले आफूलाई भनेका तिनै कुरा आमा सधैं सुनाइरहनुहुन्थ्यो ।

पछिल्ला दिन आमा मलाई बेलाबेला भन्नुहुन्थ्यो— “हेर बाबु, तँ ठुलो मान्छे हुँदै छस्, तँलाई बँचाउने, तेरो जीवनरक्षा गर्ने औतारी त मरिसके होलान् । तर, तिनको घर ठुलागाउँतिर जाँदा त्यहाँ केके दुःख छ, हेरिदे है । बाटोघाटो, खानेपानी, चौतारो केके बनाइदिनुपर्ने हो, बनाउन लगाइदे ! तिनैले तेरो जीवन बँचाइदिएका हुन् !”

आमाले आनो जीवनको अन्तिम समयसम्म पनि मलाई भनिरहेका ती शब्द मैले बिर्सन सकेको छैन । ओखलढुङ्गा–सोलु आउजाउ गरिरहँदा म प्रायः पात्तालेको लेकमा केही समय बस्ने गर्छु । त्यहाँको मनोरम दृश्य हेर्दैमोहित हुन्छु । २,९६५ मिटरको उचाइमा रहेको पात्तालेको लेक अत्यन्त मनोरम छ । त्यो उचाइबाट पऽरपऽरसम्म अग्ला डाँडाकाँडा मात्र होइन, आठ हजार मिटरभन्दा अग्ला छवटा हिमशिखर पनि मजाले देख्न सकिन्छ (सगरमाथा, कञ्चलजङ्घा, लोत्से, मकालु, चोयु र चीनको तिब्बतमा पर्ने सिसापाङ्मा हिमाल) । 

तर, ती अनुपम दृश्यबाट सम्मोहित हुनुभन्दा मलाई जन्माउने आमा र जीवनदान दिने औतारी लामालाई एकै पटक सम्झिmरहेको हुन्छु म ।

मरिसकेको मलाई धरधरी रँदै लामो, अप्ठ्यारो बाटो पार गरेर औतारी लामाकहाँ पुर्‍याउने मेरी आमासँगै मलाई मृत्युको मुखबाट बँचाउने औतारी लामाको काल्पनिक धमिलो तस्बिर मेरा आँखाअगाडि आइरहन्छ !

धन्य मेरी आमा ! धन्य हुन् मलाई बँचाउने औतारी लामा !

ईश्वर पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुन् ।

Link copied successfully