साम्बा चोकमा छोरी कुर्दै बस्छिन् मुनामाया

छोरी सफलताको पखेटा हालेर जितको सिमाना काटिरहेका बेला मुनामाया छोरीलाई सम्झिरहन्छिन् । प्रतिमा सामुन्ने पुगेर गर्वले छाती फुलाउँछिन् । गाउँलेहरू भन्छन्, ‘यो त्यही छोरी हो, जो बच्चामा गाउँभरिका मोजा बटुल्थी र त्यसैको बल बनाएर दाजुहरूसँग भकुन्डो खेल्थी ।’

भाद्र १७, २०८२

समर्पण श्री

Munamaya waits for her daughter in Samba Chowk

What you should know

काठमाडौँ — साम्बाका निम्ति फुटबल मैदानभन्दा ठूलो के होला ? लाखौं समर्थकको हुटिङलाई शक्तिमा बदलेर प्रतिस्पर्धीलाई खेलमा परास्त गर्नुजस्तो आनन्द के होला ? कहिलेकाहीँ तिनै ठूला मैदानमा उभिइरहँदा साम्बाभित्र विरोधाभास खडा हुन्छ ।

खेलमा आनन्द लिने कि अनिश्चित भयको चिन्ता लिने ? उनलाई आफ्नै सोचाइहरूले बिथोल्छन् । जसले जीवनको मैदानमा उभ्याएर पाइला–पाइला हिँड्न सिकाइन्, सावित्रा भण्डारीलाई साम्बा बनाउन दुःख कुँदिरहेकी उनै आमा मुनामाया भण्डारी एक समय छोरीको खेल परीक्षा चलिरहँदा अस्पतालको शय्यामा थिइन् । 

सन् २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउँदाताकाको कथा हो यो । त्यही रापतापमा रहँदा पनि साम्बाले हारसँग सम्झौता गरिनन् । उनले १० खेलमा ३१ गोल गरिन् । सिजन सुरु हुनुअघि आमालाई पेट दुख्ने समस्याले सताएको थियो । आमाको बिमार बढेसँगै साम्बाका चिन्ताका रेखाहरू बढ्न थाले । लमजुङस्थित घरबाट आमालाई पोखरा अस्पताल लैजान साम्बाले दिदीलाई भनिन् । आमालाई पत्थरी रहेछ । त्यसको अपरेसन गर्नुपर्ने भयो ।

ती दिन अहिले पनि साम्बाको मस्तिष्कमा गढेर बसेका छन् । साम्बाले मैदानबाट आमाको स्वास्थ्यलाभको प्रार्थना गरिरहँदा आमा अस्पतालबाटै छोरीको जितको कामना गरिरहेकी थिइन् । ‘फाइनलको दिन बिहान ममीको अपरेसन, दिउँसो मेरो म्याच । मलाई कति गाह्रो भयो होला ?’ साम्बा सम्झिन्छिन् । मैदानमा साम्बाले आफ्नो उत्कृष्ट प्रस्तुति दिइन् । म्याच सकियो । सबै जना जितको ‘सेलिब्रेसन’ गर्न थाले । ‘सेलिब्रेसन’ लाई थाती राख्दै साम्बाले आमालाई फोन गरिन् । गोकुलमका समर्थकहरू भने खुसीले चिच्याइरहेका थिए, ‘साम्बा, ओ ! साम्बा ।’

आमासँग बोल्दै गर्दा साम्बालाई बधाई दिन हातहरू आए । साम्बा हात मिलाउँदै फोनमा मुनामायाको हालचाल बुझ्न थालिन् । ‘मलाई ठीक छ, नआत्तिनु,’ खेल जितेको आनन्द त आमाले स्वास्थ्य अपडेट गराएपछि मात्र मिल्यो साम्बालाई । साम्बाले पनि खुसीका साथ आफ्नो खेल जितेको कुरा सुनाइन् । आमा हर्षविभोर भइन् । कसैको क्यामेराले आमासँगको त्यो मुमेन्टलाई कैद गर्‍यो । पछि सामाजिक सञ्जालमा साम्बाका प्रशंसकले प्रशंसाका थुप्रै शब्द खर्चिए ।

नेपालको महिला फुटबल इतिहासमा वर्तमानको एउटा दरिलो स्तम्भ हुन् साम्बा । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरिसकेकी साम्बा मैदानकी ‘हिरो’ हुन् । साम्बाका शुभचिन्तकका लागि उनका उत्कृष्ट गोलहरू जीवनका प्रेरणा हुन् । गर्वको कुरो त, नेपालमा मात्र हैन, दक्षिण एसियाकै चर्चित महिला फुटबल हुन् उनी । समर्थकमा साम्बाको खेलको मात्र हैन, निडर स्वभाव र पृथक् ‘हेयर स्टाइल’ को पनि चर्चा हुने गर्छ । 

फराकिलो भूगोलमा फैलिएकी साम्बालाई आफ्नो जराको याद हरदिन आइरहन्छ । जहाँ जुन भूगोलमा उनले मोजाको बल खेलेर आफूलाई उभ्याइन् । त्यही गाउँले उनलाई जीवनकै सुन्दर उपहार दिएको छ । मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदी बजार चोकमा साम्बा सानदार उभिएकी देखिन्छिन् । उनको प्रतिमा ठड्याइएको चोकलाई गाउँपालिकाले नयाँ नाम दिएको छ– साम्बा चोक । चोक पुगेर आफ्नै प्रतिमालाई हेर्दा साम्बालाई त सपनाजस्तो लाग्छ । ‘अझै गर्न बाँकी छ, जिम्मेवारी धेरै छ,’ साम्बा सोच्ने गर्छिन् । उनलाई सम्झँदै थुप्रै युवाले त्यो चोकमा टिकटक र रिल्स बनाउँछन् । फोटोमा मुस्कुराउँछन् । त्यही चोकमा अरूले जस्तै एक दिन आमा मुनामाया र बा थमबहादुरले पनि फोटो खिचेका थिए । 

छोरी सफलताको पखेटा हालेर जितको सिमाना काटिरहेका बेला मुनामायामाया छोरीलाई सम्झिरहन्छिन् । प्रतिमा सामुन्ने पुगेर गर्वले छाती फुलाउँछिन् । गाउँलेहरूले भन्छन्, ‘यो त्यही छोरी हो, जो बच्चामा गाउँभरिका मोजा बटुल्थी । मोजाको बल बनाएर दाजुहरूसँग खेल्थी ।’ साम्बालाई त त्यो कुरा पनि सम्झना छ, ‘जति बेला हामी सुकाएका मोजाहरू चोरेर लुकाउँथ्यौं । अनि बल बनाएर खेल्न निस्कन्थ्यौं ।’ आमालाई त चिन्ता लाग्थ्यो, ‘पढाइ पो बिगार्छे कि !’ बिस्तारै साम्बाले खेलमा जादु देखाउन थालिन् । त्यो जादुले आमालाई पनि लठ्याउन थाल्यो । अनि त छोरीका जितहरूमा आफ्ना खुसी भेट्टाउन थालिन् ।

साम्बा करिब एक महिनाअघि मात्र घर गएकी थिइन् । घर जाँदा मुनामायाको २ वर्षदेखिको प्रतीक्षा पूरा भएको थियो । ‘भिडियो कलमा बोलिरहन्थें तर २ वर्षदेखि आउँछु–आउँछु भनेर टारिरहेकी थिएँ । यस पटक त गएँ,’ साम्बा सुनाउँछिन् । छोरीका लागि मुनामायाले नयाँ–नयाँ परिकार बनाइन् । छोरीका स्वादहरूसँग उनी परिचित छिन् । साम्बा घर पुग्दा आमा र परिवारले मात्र पर्खिरहेको थिएन, सिंगो गाउँले पर्खिरहेको थियो । पुग्नासाथ कोही फोटो खिच्न तम्सिए, कोही टिकटक बनाउन । ‘रातको १२ बजेसम्म पनि भेट्न आउनेहरूको लर्को थियो,’ साम्बाले सुनाइन् । यता आमा भने फुर्सद मिल्छ र छोरीसँग मन साटुँ भनेर कुरिरहेकी थिइन् । साम्बा घर पुगेपछि आमाको अनुहारमा चमक नै अर्कै देख्छिन् । ‘त्यो चमक म आएको खुसीले नै भरिएको थियो,’ साम्बा भन्छिन् ।

Munamaya waits for her daughter in Samba Chowkआमासँग बस्न भनेर घर जान्छिन् तर समय विभाजित हुन्छ साम्बाको । एक साता कार्यक्रमहरूमा अतिथि बन्न र सम्मान थाप्नमै बित्यो । सम्मानका लागि सँगै आमालाई पनि बोलाउँछन् । साम्बाको आमा भएर सम्मान पाउँदा मुनामायालाई त्योभन्दा गर्व के होला ? ‘आफूलाई उभ्याउने मान्छे आफूसँगै उभिएर सम्मान पाउँदा खुसी लाग्दो रहेछ,’ आमाको चौडा भएको छाती सम्झँदै साम्बा भावुक हुन्छिन् ।

साँझमा खाना खाने समयमा आमा मौका पाउँछिन् । जुन कुरा उनी छोरीलाई भन्न खोजिरहेकी छन् । त्यही मौकामा आमा सुटुक्क भन्छिन्, ‘अब कति खेल्ने ? नखेल । आराम गर ।’ छोरीले ट्रफी उठाउँदा त खुसीको सीमै रहन्न तर खेल्दा लागिरहने चोटपटकसँग भने आमाको असाध्यै डर छ । दुःख मान्दै भन्छिन्, ‘त्यस्तो चोटपटक लगाएर पनि किन खेल्नुपर्‍यो ?’ तर साम्बा खेललाई यति छिट्टै विश्राम कहाँ दिन्छिन् र ? अझै रच्नु छ नयाँ इतिहास । खेलेरै पैसा पनि त कमाउनु छ । घरको आर्थिक अवस्थालाई मजबुत बनाउनु छ । साम्बाको सपना छ, एउटा राम्रो पक्की घर बनाएर आमालाई सुखसयलमा राख्ने । 

‘त्यसकै लागि पनि खेल्न छाड्नुहुन्न,’ साम्बा बुझाउन खोज्छिन् । आमालाई घर हैन, साम्बा नदुखेको हेर्नु छ । हुन पनि आमाको ध्यान खेलको उपलब्धिभन्दा लडेको, कसैले धकेलेकामा बढी जाँदो रहेछ । आमालाई दुख्नका लागि त त्यो काफी नै छ । कहिलेकाहीँ साम्बाको फोन लागेन भने आमाको भोक हराउँछ । दिदीबहिनीलाई कल गरेर सोध्छिन्, ‘सावित्रीको फोन किन लागेन हँ ?’ आमाले साम्बाको खेल प्रत्यक्ष हेरेकी छैनन् । हेर्न खुबै रहर पनि छ उनलाई ।

यसअघि रंगशालामा खेल हुँदा बा–आमा दुवैलाई आउन मन थियो । तर घर छाडेर दुवै कसरी आउने ? एक न एकले रहर थाती राख्नै पर्थ्यो । भाइले गोलाप्रथा गरे । गोलाप्रथामा बाले जिते । बुबा थमबहादुरले रंगशाला आएर छोरीको खेल हेरे । मुनामाया दुःखी भइन् । ठूली छोरीलाई गुनासो पोखिन्, ‘बाउलाई लगेर देखाई, मलाई लगिन ।’ साम्बालाई रहर छ, अबको खेल आमालाई लगेर हेराउने । यस पटक घर जाँदा साम्बा खेत रोपाइँमा सामेल भइन् । आफूले बासँगै बाउसे गरेको पुराना दिनहरू सम्झिइन् । रोपाइँमा आलीमा बसेर खाना खाएका यादहरूमा रमाइन् । 

एक साता एक झिमिकमै बित्यो मुनामायाका लागि । छोरी फर्कने अघिल्लो रात केही उदासीपनाले छोप्यो उनलाई । फर्किने दिन छोरीलाई भनिन्, ‘राम्रोसँग खेल्नू । छुट्टी हुनासाथ घर आउनू ।’ त्यो बेला साम्बालाई एपीएफमा छनोट भएर पहिलो पटक काठमाडौं आउँदाको क्षण सम्झना आयो । काठमाडौं जाने दिन मुनामायाको आँखा आँसुले भरिएको थियो । आँसु पुछ्दै आधा बाटोसम्म छोरीलाई पुर्‍याउन आएकी थिइन् । साम्बा आमाको सामुन्ने त रोइनन् तर आमाले बिदाइ गरेपछि भने रुँदै–रुँदै बस स्टेसनसम्म पुगिन् । ‘बाटोमा मान्छेले देख्लान् र किन रोएकी भन्लान् भन्ने लागेर आँसु पुछ्दै हिँड्थे । जति पुच्छु, त्यति आँसु आउँथ्यो,’ साम्बा सम्झन्छिन् ।

एपीएफमा आएपछि नै सावित्रा साम्बा बनेकी थिइन् । ‘सिनियर दिदीहरूले सावित्रा भण्डारी नाम लामो हुन्छ भनेर साम्बा राखिदिनुभयो,’ उनी सम्झन्छिन् । २०१४ मा पहिलो पटक काठमाडौं आएकी साम्बा त्यही वर्ष राष्ट्रिय टिममा परिन् । एपीएफको दुई महिना तालिम उनका लागि सहज थिएन । तर २ महिनापछि भने साम्बाको खेलाडी स्वरूप झन् दरिलो बनेर आयो । 

साम्बा २०५३ सालमा जन्मिइन् । मुनामायाले साम्बा जन्माउँदा छोराको आस गर्ने समाज थियो । आमालाई हजुरआमाको दबाब थियो । ‘मैले त छोरैछोरा पाएँ, तैंले छोरीछोरी पाइस् ? हामीलाई छोरै चाहिन्छ,’ हजुरआमाको कठोर शब्द मुनामाया छोराछोरीलाई पछि सुनाउँथिन् । साम्बापछि बहिनी जन्मिँदा आमा झन् अपहेलित भइन् । ‘फेरि मुनामायाले छोरी पाई,’ छिमेकीले अनुहार खुम्च्याउँदै भन्दा मुनामायालाई जलन भयो । आक्रोशजन्य भावमा उनीहरूलाई जवाफ दिइन्, ‘घर नजिकै खोला छ, फाल्देओ ।’ धेरै कुरा मुनामायाले नसुनेझैं पनि गरिदिइन् । 

बाले भने छोराछोरीमा कहिल्यै विभेद गरेनन् । पछि भाइ जन्मेपछि पनि आमा र बाले कहिल्यै फरक गरेनन् । साम्बालाई भने आफू छोराभन्दा कम देखिनु थिएन । दिदी घरभित्रको काम गर्थिन्, साम्बा घरबाहिरको । खेत जोत्ने, आली लगाउने, बाउसे गर्नेजस्ता पुरुषका लागि भनेर तोकिएका काम गर्थिन् ।

Munamaya waits for her daughter in Samba Chowkसाम्बा १२ वर्षकी थिइन् । गाउँमा दसैंका बेला कुभिन्डो काटेपछि खसी ढाल्ने चलन थियो । छिमेकी दाइहरूले साम्बालाई कुभिन्डो काट्न बोलाए । तर गाउँका काका, बाजेहरूले कहाँ दिन्थे र ? उनीहरू अवरोध गर्न थाले । साम्बा अटेरी थिइन् । दाजुहरूले उक्साए, ‘काट् माइली काट् ।’ साम्बाले खुकुरी उठाइन् र कुभिन्डो काटेर भागिन् । अर्को वर्ष त कुभिन्डो होइन, खसी नै काट्न हौस्याए दाइहरूले । छोरीले मार हाने अनर्थ हुन्छ भन्ने मान्यतामा बाँचेको समाज थियो । दाइहरूले भने, ‘काट् माइली, काट् ।’ अर्कोतर्फबाट आवाज आउँथ्यो, ‘हुन्न । नकाट् ।’ तर साम्बाले खुकुरी उठाइन्, एकै पटकमा काम फत्ते गरिन् । त्यसपछि त उनी निडर छोरीका रूपमा चिनिन थालिन् । 

साम्बा यतिसम्म निडर थिइन्, झगडा पर्‍यो भने आफूभन्दा ठूला उमेरका दाइहरूलाई नै कुटेर हिँड्थिन् । साम्बाको यही कुराबाट आजित भएपछि आमा हात लगाउँथिन् । साम्बा फुटबल मात्र होइन, भलिबल, एथलेटिक्स जुनसुकै खेलमा पनि मेडल ल्याउँथिन् । घरमा मेडलसँगै पैसा पनि ल्याउँथिन् । अनि आमालाई दिन्थिन् । साम्बाको सानैदेखिको सपना थियो– आर्मी बन्ने । जब उनी फुटबलका लागि एपीएफ भर्ना भइन्, गाउँमा सबैले चर्चा गरे, ‘माइलीले पुलिसमा जागिर खाई ।’ आमाले सानोमा आशीर्वाद दिँदा जहिल्यै भन्थिन्, ‘ठूली मान्छे हुनु ।’ के गरेमा ठूलो भइन्छ, थाहा थिएन उनलाई । उनलाई जे भए पनि समाज परिवर्तन गर्नुपर्छ भन्ने लाग्थ्यो । पछि लख काटिन्, ‘आर्मी भएँ भने ठूलो हुन्छु अनि परिवर्तन गर्छु ।’ तर अहिले साम्बाको खेलाडी कद देखेर सबैले श्रद्धा गर्छन् । प्रेम गर्छन् । ठूलो हुनुको अर्थ त साम्बाले बिस्तारै बुझिन् । आमा चाहन्थिन्, ‘छोरीले सरकारी जागिर खाओस् ।’ एपीएफमा जागिर खाएपछि आमाको त्यो सपना पनि पूरा भयो ।

साम्बालाई फर्केर हेर्दा सब कुरा सपनाजस्ता लाग्छन् । हिजो खाली खुट्टा, बिनाजर्सी मोजाको फुटबल बनाएर खेलेकी उनी अहिले अन्तर्राष्ट्रिय खेलाडी बनिसकिन् । अहिले उनैलाई देखेर साम्बाको गाउँले खेलमा मुहार फेरेको छ । अहिलेका पुस्ताहरूले जर्सी र जुत्ताका साथ फुटबल खेल्न पाएका छन् । परिवारको जोड पनि उनीहरूको फुटबल प्रेममा छ । स्कुलहरूले विभिन्न प्रतियोगिता राख्न थालेका छन् । यो देखेर साम्बा दंग छिन् । तर साम्बालाई रोकिनु छैन । योभन्दा अझै गर्नु छ । ‘ताकि मैले पनि नेपाली फुटबलमा कुनै योगदान छाड्न सकुँ । त्यो देखेर आमालाई अझै गर्विलो बनाउन सकुँ,’ साम्बा अडिग सुनिन्छिन् ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully