सरकारले व्यवस्था गरेको क्वारेन्टाइन, टेस्ट आदि सबै प्रक्रिया मान्न तयार हुँदाहुँदै आफ्ना नागरिकलाई बेवारिस छाड्नु कुनै पनि सरकारलाई शोभा दिँदैन ।
युनिभर्सिटी अफ सिकागोमा डेन्टलसम्बन्धी सर्ट टर्म स्कलर ट्रेनिङका लागि २४ जनवरीमा म अमेरिका आएको थिएँ । नेपालमा लकडाउनको घोषणा भयो । ट्रेनिङ सकेर १९ अप्रिलमा नेपाल फर्किने मेरो कार्यक्रम थियो ।
सोहीअनुसार रिटर्न टिकट लिएर म यहाँ आएको थिएँ । कोरोना भाइसरको प्रकोप चीनमा महामारीका रुपमा फैलिन थाले पनि नेपाललगायत अन्य राष्ट्रमा यसको संक्रमण निकै कम मात्र देखिएको थियो । अमेरिकामा पनि फाट्टफुट्ट मात्रै संक्रमित भेटिएका थिए । नेपालमा कोरोना संक्रमित देखिनेबित्तिकै सरकारले आकस्मिक रुपमा गरेको लकडाउन घोषणा गरेको मैले यहाँ आएपछि थाहा पाएँ । मेरो ट्रेनिङ चलिरहेको थियो । तर जतिजति घर फर्किने दिन नजिकिँदै आयो, मेरो चिन्ता बढ्न थाल्यो । कारण नेपालमा लकडाउनको समय थपिँदै गएको थियो ।
यसबीच म यहाँ महिना दिनदेखि एक परिचित नेपाली मेडिकल विद्यार्थीको अपार्टमेन्टमा शरण लिएर बसेको छु । यसरी बस्दा मलाई निकै अप्ठेरो महसुस भइरहेको छ । विषम परिस्थितिका कारण मेरो विशेष अनुरोधमा युनिभर्सिटीले अप्रिलमा सकिएको मेरो भिसा जुनसम्म थप गरिदिएको छ । तर नेपालमा लकडाउन लम्बिँदै गएर उडानहरु यसैगरी बन्द गर्ने क्रम बढ्यो भने भिसामा समस्या नआउला भन्न सकिन्न । अमेरिकाजस्तो महँगो देशमा यसरी अलपत्र परेर लामो समय बस्नुपर्दा निकै कष्ट भइरहेको छ । यहाँ म मात्रै होइन थुप्रै नेपाली जो आफन्त भेट्न, घुम्न र विभिन्न कार्यक्रममा सहभागी हुन आएका थिए, फसेका छन् ।
सीमित अवधिका लागि आएका थुप्रै वृद्ध आमाबुवा देश फर्किन नपाएर अलपत्र परेका छन् । उहाँहरुमध्ये केही त डायबिटिज र प्रेसरका बिरामी पनि हुनुहुन्छ । ल्याएको औषधि पनि सकिन थाल्दा उहाँहरुको चिन्ता बढ्दै गएको छ । यहाँ औषधि किन्न नेपालमा जस्तो सजिलो छैन । बिनाप्रेस्क्रिप्सन किन्न पाइँदैन । मेडिकल बिमा नगरीकन आएकालाई अमेरिकामा चिकित्सक देखाउनु र औषधोपचार गर्नु निकै महँगो हुने रहेछ । औषधि मगाउने परिस्थिति छैन । यस्तोमा चिन्ता बढ्नु स्वाभाविक हो ।
यहाँ भर्खर आएका विद्यार्थी बढी मारमा छन् । काम गर्दै पढ्न आएका विद्यार्थी एकातर्फ कलेज बन्द हुनाले पढ्नबाट वञ्चित छन् भने सहरबजार बन्द हुँदा काममा जान पाएका छैनन् । दैनिक ज्यालादारी काममात्र भेटिने विद्यार्थी काममा जान नपाएपछि मुस्किलका साथ गुजारा गरिरहेका छन्।
लकडाउन के हो र कस्तो हुन्छ यसको अनुभव मलाई छैन । घरमा फोन गर्दा लकडाउन भनेको कर्फ्युजस्तै हो भन्छन् । सडकमा आर्मीचाहिँ छैनन्, बिहान-बेलुका खाद्यान्न किन्न जान पाइन्छ भन्ने सुनेको छु । यहाँ लकडाउन छैन । सरकारले 'स्टे होम' भनेको छ । तर मानिसहरु निस्किरहेकै छन् । अत्यावश्यक सामानका लागि मार्ट, ग्यास स्टेसन, ससाना पसल खुलेका छन् । ठूला मलहरु, सिनेमा हलजस्ता धेरै मानिस जम्मा हुने ठाउँमात्रै बन्द छन् । धेरैजसो मानिस आ–आफ्नो गाडीमा यात्रा गर्ने भएकाले यहाँ स्टे होमको खासै पालना भएको देखिँदैन ।
यहाँ त मानिसहरु मास्क लगाएर हिँड्नेलाई टुलुटुलु हेर्छन् । मानौं कि मास्क लगाउने मान्छेचाहिँ कोरोना संक्रमित हो । सुरुसुरुमा मेट्रोमा आउँदा-जाँदा म मास्क लगाएरै हिँड्थेँ तर मानिसहरु मलाई अचम्म मानेर हेर्न थालेपछि मैले पनि मास्क लगाउन छाडेँ । सबैको स्वास्थ्य बिमा हुने भएर हो वा घर बस्नु र मास्क लगाउनु आफ्नो व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप सम्झेर हो, अमेरिकीहरु स्टे होमलाई खासै वास्ता गरिरहेका छैनन् । मानिसहरुको चहलपहल उस्तै छ । सडकमा गाडी उत्तिकै छन् । १२ वर्षको छोरा आरोनसँग भेट्ने अभिलाषाका अगाडि अमेरिका जति नै स्वतन्त्र र सुन्दर देश भए पनि अहिले मलाई यसको आकर्षणले तान्न सकेको छैन । मेरो इच्छा भनेको देश फर्कने हो । परिवार भेट्ने हो ।
यहाँ थुप्रै नेपाली अड्किएका छन् । तीमध्ये केही नेपाली मिलेर नेपाल एम्बेसीसँग कुरा गरिरहेका छन् । तर ठोस जवाफ अझै प्राप्त हुन सकेको छैन । बतास समूहका शान्तराज बतासजी यसको चाँजोपाँचो मिलाउन खटिरहनुभएको छ । उहाँ पनि मार्चमा एउटा कार्यक्रममा सहभागी हुन अमेरिका आउनुभएको रहेछ । नेपाल फर्कन चाहनेहरुको सूची तयार पार्ने, नेपाल सरकारले व्यवस्था नगरे आफ्नै खर्चमा फर्कन विमान चार्टर गर्न, नेपालमा क्वारेन्टाइनमा बस्न होटलसँग संयोजन गर्न सबै कुरा भइरहेको छ भन्नुहुन्छ उहाँ । अहिलेसम्म ३ सयभन्दा बढी मानिसले आ–आफ्नो नाम टिपाइसकेका छन् । ती सबैसँग सूचना आदानप्रदानमा सजिलो होओस् भनेर भाइबर ग्रुप पनि बनाइएको छ । तर मुख्य कुरा नेपाल सरकारले हामीलाई फिर्ता लान पहल गर्नुपर्यो ।
आफ्नो नागरिक यसरी विदेशमा अलपत्र पर्दा सरकार मूकदर्शक भएर बस्न मिल्छ र ? के सुविधाजनक ढंगबाट देश फर्कन पाउनु हाम्रो अधिकार होइन ? के हामी काम विशेषले विदेश आएकाहरु आफ्नो देश फर्कन नपाउने ? सरकारले व्यवस्था गरेको क्वारेन्टाइन, टेस्ट आदि सबै प्रक्रिया मान्न तयार हुँदाहुँदै पनि आफ्ना नागरिकलाई बेवारिस छाड्नु कुनै पनि सरकारलाई शोभा दिँदैन । नेपाल सरकारका तर्फबाट केही पनि प्रतिक्रिया नआउँदा म लगायत ३ सयभन्दा बढी नेपाली विचल्लीमा परेका छन् ।
मैले सुनेको छु, थुप्रै विदेशी नागरिक नेपालबाट चार्टर्ड उडान मिलाएर आ–आफ्नो देश फर्किसकेका छन् । त्यस्तै चीन र अस्ट्रेलियामा रहेका नेपालीहरुलाई पनि सरकारले देशमा फिर्ता ल्याएको छ । हामी किन फर्किन नपाउने ? मेरो सरकारसँग अपिल छ- चाँडोभन्दा चाँडो आफ्नो देश फर्किने र परिवारसँग पुनर्मिलन गर्ने वातावरण बनाइयोस् । हामी नेपाल सरकारको यस्तै निर्णयको पर्खाइमा छौं ।
-पोस्ट ग्राजुएट प्रोग्राम कोअर्डिनेटर तथा वीर अस्पताल दन्त विभागमा कार्यरत सहप्राध्यापक डा. प्रधानसँग शिशिर वैद्यले गरेको कुराकानीमा आधारित
