विपत्तिमा संयमित चीन

लक्ष्मी लम्साल

जनवरी १७ तारिखमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सन् २०२० को पहिलो विदेश भ्रमणका लागि म्यानमार पुगेका थिए। उनी म्यानमारको ३ दिवसीय भ्रमण सकेर गरिबी निवारणको ध्याउन्नमा युन्नान प्रान्तको एउटा गाउँमा पुगेर सर्वसाधारणलाई हौस्याउँदै थिए।राष्ट्रपति सी जनतामाझ घुलमिल हुँदै गर्दा राजधानी बेइजिङमा नयाँ वर्षको स्वागतको तयारी हुँदै थियो ।

विपत्तिमा संयमित चीन

सन् १९८३ देखि चिनियाँ सरकारी टेलिभिजनमा नियमित प्रसारण गर्दै आइएको नयाँ वर्षको सांगीतिक गालाको चरण चरणमा रिहर्सल भइरहेको थियो। चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको अवधि चिनियाँ जीवनमा पुनर्मिलनको एउटा प्राचीन परम्परागत पर्व हो। एकपछि अर्को सुखद संयोगहरू चलिरहेका बेलामा चिनियाँहरूका जीवनमा कोरोना भाइरस जस्तो डरलाग्दो संक्रमणले एकाएक हमला गर्न पुग्यो।

शनिबार सुँगुर वर्ष सकिएर मुसा वर्ष प्रारम्भ हुनु अघिल्लो साँझ सीसीटीभीबाट प्रसारण हुने सांगीतिक गालाको सम्पूर्ण तयारी सकिएको थियो। वस्तुस्थितिलाई ध्यानमा राख्दै सोही समारोहमा माया भनेको पुल हो विषयक कोरोना भाइरस प्रतिरोध सम्बन्धी एउटा नयाँ स्तम्भ पनि अचानक थपियो। यसअघि गरिबी निवारणको निर्णायक लडाइँ, सम्पन्न समाजको निर्माणसम्बन्धी चीनको महान अभियानमा सँगै आइलागेको दुःख समेट्दै सरूवा रोगको प्रतिरोधको स्तम्भ थपिएको थियो। यसरी पनि चिनियाँहरूले हुबेई प्रान्तको वुहान सहरमा देखापरेको ज्यानमारा कोरोना भाइरसविरूद्ध एकताबद्ध भएर सुसूचित र प्रतिकार गर्ने प्रण देखाए।

विपत्ति जहिले पनि जहाँ पनि देखा पर्न सक्छ। यसको रोकथाममा चालिएका कदमबाट नै कुनै पनि सरकारको सामर्थ्य प्रमाणित हुन्छ। यही आपतकालीन घडीमा चीनले थालेका एकपछि अर्का हार्दिक कदमहरू निकै सराहनीय देखिन्छन्। पहिलो कुरा चीनले कोरोना नामक भाइरसले आफू आक्रान्त भएको कुरा निःसंकोच विश्वसामु उजागर गर्यो भने दोश्रो उसले सर्वसाधारणप्रतिको आफ्नो जिम्मेवारीलाई निकै गम्भीरतापूर्वक आत्मसात गर्‍यो ।

वसन्त चाडको हर्षोल्लासका बीच चीनले घोषणा गर्‍यो कि वर्षमा एकदिन आउने पारिवारिक पुनर्मिलनको यो क्षणलाई वुहानमा पीडित जनताको शोकलाई शक्तिमा बदल्न सारा चिनियाँ एकताबद्ध छन्। यही सन्देशका कारण चिनियाँहरूले पारिवारिक पुनर्मिलनको क्षणलाई थाती राखेर भाइरसको प्रतिरोध गर्न घरभित्र रहेर वा पूर्वनिर्धारित यातायातका टिकट रद्ध गरेर सहयोग गरे। १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा वसन्त चाड नै मानव इतिहासमा सर्वाधिक ओहोरदोहोर हुने अवधि हो। वसन्त चाडलक्षित यातायातको अवधि गत जनवरी १० तारिखबाटै घोषणा गरिएको थियो तर वुहानमा देखिएको निमोनियाले योजनाहरू प्रभावित भए। यसैले घर फर्किने योजना परित्याग गर्ने वा घुम्ने योजनाहरू स्थगित गरे। सरकारले भीडभाडका कारण स्वास्थ्य समस्या विकराल हुने देखेर सहजै वसन्त चाड अवधिमा पूर्व निर्धारित अधिकांश मेला महोत्सव, पर्यटकीय स्थलहरूको आउजाउलगायत गतिविधिहरू ठप्प पार्ने घोषणा गर्योर जसलाई चिनियाँ जनताले सहजै स्वीकार गरे।

मुलुकको संकटको घडीमा एकताबद्ध भएर सामना गर्ने चिनियाँहरूको यो बानीले भाइरसको भयावह स्थिति नियन्त्रणमा केही टेवा पुग्ने नै छ। यतिखेर चिनियाँ नागरिकहरू भिडियो, टेलिफोन र इन्टरनेटका अन्य उपायमार्फत् वसन्त पर्व मनाइरहेका छन्।

विपत्ति परेका ठाउँमा सबैभन्दा धेरै शक्ति लगाएर दुःखद अवस्थाबाट मुक्ति दिलाउने चिनियाँहरूको कार्यशैली पनि प्रशंसनीय छ। चीनका धेरै ठाउँका चिकित्सकहरू वुहान सहर गएर खुल्ला तथा पारदर्शी रूपमा सहयोगका लागि सक्रिय भएका छन्। यस घटनाले चिनियाँहरूबीच आपसी सहकार्य र झन्झटरहित सहयोग प्रवृत्तिको उजागर गरेको छ। सर्वसाधारणको जीउधनलाई प्राथमिकतामा राखेर नै रातारात विशेष अस्पताल नै ठड्याउनु सानोतिनो हिम्मत होइन।

नयाँ कोरोना भाइरस संक्रमणको अवस्थाबारे चीनले तत्कालै अन्तर्राष्ट्रिय जगतलाई सुसूचित गरेर ठूलो गुन लगाएको छ। यसबाट सूचना लुकाउन उद्यत चीन भन्ने पश्चिमाहरूको आरोपको स्वतः खण्डन भएको छ। जनवरी २० तारिखका दिन बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले भने, ‘वुहानमा देखापरेको कोरोना भाइरसबाट संक्रमित निमोनियाका बिरामी भेटिएपछि चीनले गम्भीर तथा निष्ठापूर्वक रोग प्रतिरोधका लागि प्रयास गरिरहेको छ र विश्व स्वास्थ्य संगठनलाई यसबारे जानकारी दिइरहेको छ।’

चीनले विश्व स्वास्थ्य संगठनले बोलाएको आपतकालीन बैठकमा समेत भाग लिएर सत्यतथ्य जानकारी गराएको छ। २३ तारिखमा विशेषज्ञहरूको बैठकपछि संगठनका निर्देशक टेड्रोस अधानोम घेब्रेयेसासले कोरोना भाइरस विश्व ध्यानाकर्षणको विषय बने पनि आकस्मिक सार्वजनिक स्वास्थ्यसम्बन्धी घटना भनेर घोषणा गरेनन्। यसको अर्थ उनले भाइरस विश्वभर फैलिन सक्नेतर्फ सचेत गराउँदै फेरि अर्को आपतकालीन बैठकको प्रतीक्षा गर्नुपर्ने सुझाए। उनले भने, ‘चीन बाहेक अरू देशमा कोरोना भाइरस मानव मानवबीच सर्ने नभए पनि भविष्यमा पनि यस्तै रहने अर्थमा बुझ्नु हुँदैन। त्यसका लागि तयारी र अनुगमन राम्रोसँग गर्दै जानुपर्छ।’

जनउत्तरदायी भावनाका साथ विपत्ति देखापरेपछि चीनका जिम्मेवार निकायहरूको सक्रियताले पनि धेरै ठूलो हौसला दिएको प्रतीत हुन्छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बारम्बार सूचनाहरू अद्यावधिक गरिरहेको छ भने बिरामीहरूको निगरानी, उपचार र फैलावट रोकथामका उपायबारे जानकारी फैलाइरहेको देखिन्छ।

चीन सरकारले आफ्नो भूमि मातहत रहेका विदेशी निकायहरूलाई पनि समयमै सचेत गराएको छ। त्यसै कारण धेरै विदेशी दूतावास, नियोगहरूले आफ्नो देशका नागरिकका लागि हटलाइन वा शीघ्र जानकारीका अनेकन कदमहरू चालेका छन्। यो विपतको बेलामा चीन सरकारले चालेको अर्को सुझबुझपूर्ण कदमको रूपमा लिइएको छ। कोरोना भाइरसको संक्रमण फैलिएर बिरामीको संख्या झन् झन् बढ्दै गर्दा यतिखेर चीनका कार्यालयहरूमा पनि निगरानी बढाइरहेको छ। स्वदेशी तथा विदेशी कामदारहरूलाई कार्यालय प्रवेश गर्नुअघि गेटमै यन्त्र राखेर ज्वरो आए/नआएको नियमित चेकजाँच गरेको देखिन्छ। सवारीसाधन तथा लिफ्टहरूमा चेकजाँचबाट खतरामुक्त भएका स्टिकरहरू टाँसेर सर्वसाधारणलाई ढुक्क हुने वातावरण सिर्जना गरेको छ।

भाइरसको उद्‍गमस्थल वुहान सहरले त सार्वजनिक यातायातलगायत भोजनालय, वस्त्रालय सबैतिरको भीड नियन्त्रणका लागि अनिश्चितकालीन बन्दको चेतावनी जारी गरेको छ। अन्य प्रान्तहरूले पनि गम्भीरतापूर्वक स्थितिलाई नियालेका कारण विद्यालय, विश्वविद्यालयलगायत क्रमशः स्थगित गर्ने घोषणा गरिरहेका छन्। विषम परिस्थितिमा चिनियाँ जनतालाई संयमित पार्न सक्ने र विपद्माछथि विजय हासिल गरिछाड्ने चीन सरकारको अठोटलाई राष्ट्रसंघदेखि विश्वबाट नै प्रशंसा हुन थालेको छ। विपत्ति कति दिनमा निमिट्यान्न हुन्छ, यसै भन्न सकिन्न। तर चीनका राष्ट्रपतिदेखि लिएर सामान्य निकायहरूको तदारूकता र एकताबद्ध सहकार्यले सर्वसाधारणको कठिन दैनिकीमा मल्हम लगाएको प्रस्टै झल्किन्छ।

प्रकाशित : माघ ११, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?