प्रदेश निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दिएका ४४ उम्मेदवारमध्ये बुधबारसम्म २४ जनाले निर्वाचन प्रयोजनार्थ नयाँ बैंक खाता खोलेका हुन् ।
What you should know
हेटौंडा — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा २४ जना उम्मेदवारले छुट्टै बैंक खाता खोलेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दिएका ४४ उम्मेदवारमध्ये बुधबारसम्म २४ जनाले निर्वाचन प्रयोजनार्थ नयाँ बैंक खाता खोलेका हुन् ।
बैंकको खाता खोल्न प्रदेश निर्वाचन कार्यालयवाट सिफारिस लगेका २४ जना उम्मेदवारले खाता खोलेको जानकारी आएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका सूचना अधिकारी ताराप्रसाद आचार्यले बताए । ‘बाँकी २० उम्मेदवारले बैंक खाता खोल्न सिफारिससमेत लिन आएका छैनन्,’ उनले भने । मकवानपुरमा राजनीतिक दलबाट उम्मेदवारी दिएका ९ जना र स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले निर्वाचन प्रयोजनार्थ बैंकमा खाता खोल्न सिफारिस समेत नलगेको उनको भनाइ छ ।
निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त सहयोग रकम बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्छ । २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यसभन्दा कम नगद लेनदेन गरे पनि रसिद भने दाखिला गर्नुपर्ने हुन्छ ।
२ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाले उम्मेदवारी दिएका छन् । मकवानपुर–१ मा २१ र २ मा २३ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि जुनसुकै बैंक छुट्टै खाता खोल्नुपर्ने हुन्छ । त्यसका लागि निर्वाचन कार्यालयले सिफारिसपत्र दिने गरेको छ । उम्मेदवारले निर्वाचन प्रयोजनार्थ बैंक खाता खोलेपछि उक्त वित्तिय संस्थाले निर्वाचन कार्यालयलाई जानकारी दिने गर्छ ।
मकवानपुरको हकमा उम्मेदवारहरूले ३३ लाख रुपैयाासम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ । छुट्टै खाताले खर्च पारदर्शी हुने, आयोगले तोकेको खर्चको सीमा उल्लंघन नहुने मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् । छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिने, एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही गर्नसक्ने अधिकार निर्वाचन अधिकृतलाई छ ।
