काभ्रेमा क्षेत्र नं १ मा ३ जना र क्षेत्र नं २ मा ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
काभ्रे — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिएको छ ।
राजनीतिक दलका उम्मेदवारले आफ्नै दलको चुनाव चिह्न प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारलाई उनीहरूले रोजेको चिह्न दिइएको छ । स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न प्रेसर कुकरदेखि खसीको टाउकोसम्म रहेका छन् ।
काभ्रेमा क्षेत्र नं १ मा ३ जना र क्षेत्र नं २ मा ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचन कार्यक्रमअन्तर्गत आज बिहान १० बजेदेखि एक बजेसम्म उम्मेदवारी फिर्ताको कार्यक्रम रहे पनि काभ्रेमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काभ्रे क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार जीवन लामाले क्याप, युवराज चौलागाइँले ड्रम सेट र राजेशकुमार श्रेष्ठले आँखीझ्याल चुनाव चिह्न पाएका छन् ।
यस्तै, क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार आशा तामाङले भँगेरा, उमेश थापाले ठेकी, केशवराज तिमल्सिनाले आँप, गणेशप्रसाद अधिकारीले आँखीझ्याल, लेनिन विष्टले कप र प्लेट, विष्णुकुमार श्रेष्ठले प्रेसर कुकर, सीताराम मैनालीले खसीको टाउको र डिल्लीप्रसाद न्यौपानेले मसी चिह्न पाएका छन् ।
