काभ्रेमा खोला किनार र जोखिमयुक्त बस्तीमा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

केही समयअघि संकलित विवरण अनुसार बाढी र पहिरोबाट काभ्रेका १३ पालिकामा रहेका ३ सय ९५ वटा बस्ती जोखिममा परेको पहिचान भएको थियो ।

आश्विन १८, २०८२

ज्योती श्रेष्ठ

In Kavre, those living in river banks and vulnerable settlements will be shifted to safer places

काभ्रे — खोला किनार र जोखिमयुक्त बस्तीमा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गराइने भएको छ । शनिबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिले खोला किनार र जोखिमयुक्त बस्तीमा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

खोला किनार र जोखिमयुक्त बस्तीमा रहेका नागरिकहरूलाई स्थानीय विपद् व्यवस्थापन समितिहरूले नजिकको सुरक्षा युनिटहरूको सहयोग लिएर पालिकाका वडा अध्यक्षहरूमार्फत अस्थायी बसोबासका लागि सुरक्षित स्थानमा स्थानान्तरण गराउन अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । 

मनसुनजन्य विपद्बाट काभ्रेका ३ सय ९५ वटा बस्ती उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । केही समयअघि समितिले तयार पारेको विवरण अनुसार, स्थानीय तह, जिल्ला प्रहरी मातहत रहेका विभिन्न चौकीमार्फत जिल्ला विपद् व्यवस्थापन समितिले छलफल गरेर संकलन गरेको विवरण अनुसार बाढी र पहिरोबाट काभ्रेका १३ पालिकामा रहेका ३ सय ९५ वटा बस्ती जोखिममा परेको पहिचान भएको हो ।

बैठकले सबै सुरक्षा निकायहरू उद्धार राहतका लागि परिचालन हुन उच्च तयारी र सतर्कतामा राखे निर्णय भएको उनले बताए । उनका अनुसार, यस अघि स्वीकृत डीआरपी र मनसुन कार्ययोजना बमोजिम सबै सुरा निकायहरू, नगरपालिकाहरू, गाउँपालिकाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू, स्वास्थ्य संस्थाहरुलगायत सबै पक्षहरू उच्च सतर्कतामा रहने र खोज तथा उद्धार एवं राहतका लागि तयारी अवस्थामा रहने निर्णय गरिएको छ । 

सम्बन्धित अन्य समाचार : लाइभ अपडेट : वर्षाको विपत्ति- देशैभर कहाँ के भइरहेकाे छ?

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully