काभ्रेको खानीखोलाका ८ घर बगे, १ महिला बेपत्ता

आश्विन १२, २०८१

रासस

8 houses washed away in Kavre mine, 1 woman missing

धुलिखेल — अविरल वर्षाका कारण वाग्मती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा ८ घर बगाएको छ । वडा नं ६ स्थित वाग्मती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो ।

स्थानीय धनबहादुर लामाले बाढीले नयाँ बस्तीका फुलबहादुर रुम्बा, हस्तबहादुर सिङ्तान, बुद्धि सिङ्तान, प्रकाश सिङ्तान, साजन सिङ्तान, देवराज सिङ्तान, विक्रम सिङ्तान र उत्तरमान गोलेको घर बगाएको जानकारी दिए । उक्त बाढीमा एकजना महिला बेपत्ता भएकी छिन् । 

डाँडापारिका दुई पालिका सञ्चार सम्पर्कविहीन

डाँडापारि क्षेत्रमा रहेको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका अधिकांश स्थानमा सञ्चार सम्पर्कविहीन भएका छन् । अविरल वर्षाले विद्युत् सेवा बन्द भएपछि सम्पर्कविहीन बनेका हुन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले वर्षाका कारण पालिकाका अधिकांश ठाउँ सञ्चार सम्पर्कविहीन भएका बताउँदै कहाँ, कति क्षति भएको यकिन गर्न नसकेको उल्लेख गरे । नेपाल टेलिकमलाई बारम्बार खानीखोलामा सञ्चार सम्पर्कमा जोड्न पटकपटक आग्रह गरिएको भन्दै जीर्ण टावरमा सेवा जडान नहुँदा दुई वर्षदेखि समस्या व्यहोर्दै आएको उनले बताए । 

त्यस्तै महाभारत गाउँपालिकाका अधिकांश स्थान पनि सञ्चार सम्पर्कविहीन भएका गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । वर्षाका कारण विद्युत् प्रसारण लाइनमा क्षति हुँदा सञ्चार सम्पर्क विच्छेद भएको उनले उल्लेख गरे ।

रासस

Link copied successfully