दोलखा पहिरो : सख्त घाइतेको हेलिकप्टरमार्फत उद्धार, बेपत्ताको खोजी जारी

श्रावण १९, २०८०

केदार शिवाकोटी

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–७ र ८ मा बिहीबार राति गएको पहिरोमा परी सख्त घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गौरीशंकर–७ मार्बु टोपाटार पहिरोमा परी घाइते भएका ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीया श्रीमती धनमाया थामीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । पहिरोमा परी घाइते भएकी बुहारी सीता थामीको उद्धारपछि सिंगटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेका नाबालक प्रिन्स थामीको शव निकालिएको छ । पहिरोमा बेपत्ता ३ जनाको नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् ।

बिहीबार राति खसेको पहिराले टोपाटारका ७ घरमा क्षति गरेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको वडाध्यक्ष सोनाम शेर्पाले बताए । यस्तै, पहिराले गौरीशंकर–८ खारेको सल्लेमा ३ वटा घर बगाएको छ ।

थप २५ घर जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको वडाध्यक्ष दावा शेर्पाले बताए । जोखिममा परेका घरबाट लत्ताकपडा, खाद्यन्न निकाल्ने काम भइरहेको उनले जानकारी दिए ।


पहिरोले सल्ले आउजाउ गर्ने झोलुङ्गे पुलमा क्षति गरेपछि वैकल्पिक बाटोबाट स्थानीयको उद्धार भइरहेको उनले बताए । पहिराले उक्त क्षेत्रमा विद्युत्‌का पोलहरुमा समेत क्षति पुर्‍याएको छ ।

पुनः वर्षा सुरु भएका कारण उद्धारमा थप कठिनाइ भएको वडाध्यक्ष शेर्पाले बताए । पहिरोबाट विस्थापितलाई तत्काल विद्यालय, सामुदायिक भवन आफन्तकोमा राखिने उनले बताए ।

बाढीपहिरो

केदार

Link copied successfully