टोपाटारको पहिरोमा पुरिएर बालकको मृत्यु

श्रावण १९, २०८०

केदार शिवाकोटी

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक प्रिन्स थामी रहेको वडा अध्यक्ष सोनाम शेर्पाले बताए । उनको शव पहिरोबाट निकाल्ने प्रयास भइरहेको उनले बताए । उनका अनुसार पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।

यस्तै, पहिरोले घर पुरिँदा गौरीशंकर गाउँपालिका–७ मार्वु टोपाटारका कृष्ण मगर, मगरकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको शेर्पाले बताए । बिहीबार राति परेको भीषण वर्षाले गौरीशंकर ७र ८ मा ३२ भन्दा बढी घरमा क्षति गरेको छ । टोपाटारबाट ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोले  विद्युत्‌का पोलहरू बगाएको छ । यस्तै, ग्रामीण सडक अवरुद्ध पारेको छ । टोपाटार पारी गौरीशंकर गाउँपालिका– ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ भने २० भन्दा बढी घर पहिरोको जोखिममा भएपछि स्थानीयले घर छोडेका छन् । केही चौपाया पहिरोमा पुरिएको गौरीशंकर–८ का वडा अध्यक्ष दावा शेर्पाले बताए । 

सल्ले पुग्ने घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्‍याएका कारण उद्धारमा कठिनाइ भएको छ । उद्धार लागि सुरक्षाकर्मी वैकल्पिक बाटो भएर पहिरो गएका क्षेत्रमा गएपनि पुग्न भने सकेका छैनन् । हाल स्थानीयले उद्धार कार्य गरिरहेका छन् । टेलिफोन सम्पर्क टुट्दा जोखिममा रहेकाको उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

बाढीपहिरो

केदार

Link copied successfully