सिन्धुलीमा एक कोरोना संक्रमितको मृत्यु

कार्तिक २०, २०७७

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–५ ढाक्रेबासका ४८ वर्षीय खिलबहादुर मगरको बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै सिन्धुलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि कात्तिक १७ गते कमलामाई नगरपालिका–६ पानिट्यांकीकी ८४ वर्षीय वृद्धा विष्णुमाया विकको मृत्यु भएको थियो ।  

सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि सिन्धुली अस्पतालमा भर्ना गरी आईसियूमा राखेर मगरको उपचारको भइरहेको थियो । श्वासप्रश्वासमा समस्या आएपछि मगरलाई सिन्धुली अस्पतालले कात्तिक १५ गते धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाएको थियो । धुलिखेल अस्पतालले पनि सोही दिन मगरलाई केएमसी अस्पताल सिनामंगल पठाएको र स्वाब पीसीआर परीक्षण गर्दा कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित मगरको उपचार हुन नसक्ने भन्दै केएमसीले बुधबार घर पठाएको र पुन: उपचारका लागि बुधबार राति १० बजे सिन्धुली अस्पतालको आईसियूमा भर्ना गरिएको व्यवस्थापक श्रेष्ठले बताए । नेपाली सेनाको टोलीले मृतक मगरको शवलाई कमलामाई नगरपालिका–७ गड्यौली खोलामा व्यवस्थापन गरेको छ । 

कोरोना भाइरस

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully