काभ्रे — कोभिड लेभल ३ अस्पतालको मान्यता प्राप्त धुलिखेल अस्पतालका थप ३ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएर क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा नतिजा पोजिटिभ आएको हो ।
विभिन्न चरणमा गरिएको परीक्षणमा सोही अस्पतालका चिकित्सक, नर्स गरी १४ जना स्वास्थ्यकर्मीमा कोराना संक्रमण भइसकेको छ । कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १ सय २० जना क्वारेन्टाइमा बसेका थिए । अन्य १ सय ९० जनाको पीसीआरको नतिजा भने नेगेटिभ आएको छ ।
यसअघि शिर मेमोरियल अस्पताल बनेपाको आइसोलेसन वार्डमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेकी छिन् । मंगलबार शिर मेमोरियल अस्पतालमा उपचाररत बनेपा – ९ की २९ वर्षीय सुत्केरी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बनेपा –१३ साँगाका ३९ वर्षीय पुरुषमा पनि कारोना देखिएको छ । ज्वरो आएपछि उपचारका लागि अस्पताल गएका उनको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय २ पुगेको छ । २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
