चितवन — भरतपुरको कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा चितवनका थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालाको पनि व्यवस्थापन सम्हालेको भरतपुर अस्पतालले शुक्रबार दिउँसो सूचना निकालेर यसको पुष्टि गरेको हो ।
उनीहरु आठै जना माडी नगरपालिकाको क्वारेन्टाइनमा रहेका पुरुषहरु हुन् । जेठ २८ र २९ गते प्राप्त भएका १९७ वटा नमुना परीक्षण गर्दा आठ जनामा संक्रमण पत्ता लागेको हो ।
अस्पतालका अनुसार खैरहनी नगरपालिकाका ११, भरतपुर असपतालका २९, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका २९, पुरानो मेडिकल कलेजका ८, नयाँ मेडिकल कलेजका पाँच, तनहुँ देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र माडी नगरपालिकाका ८५ वटा नमुना परीक्षण भएको थियो । माडीमा यसअघि पनि ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
योसहित चितवनमा कुल संक्रमितको संख्या २७ पुगेको छ । जसमध्ये एकजना ६८ वर्षीय वृद्धको ज्यान गएको छ ।
