आरडीटी पोजिटिभ देखिएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

वैशाख २३, २०७७

हेटौंडा — मकवानपुरको भीमफेदीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एन्टिबडी पोजिटिभ देखिएका एक जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा मंगलबार स्वाब परीक्षण गर्दा ती व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । ‘पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ,’ हेटौंडा–४ स्थित कर्रामा रहेको आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले भने ।

राजविराज घर भएका उनी आइतबार मात्र गाउँपालिका आएका थिए । उनी गाउँपालिकाका कर्मचारी हुन् । सोमबार बिहान आरडीटी गर्दा उनमा एन्टिबडी पोजिटिभ देखिएको थियो ।

हाल मकवानपुरमा आइसोलेसन वार्डमा सात जना रहेका छन् । मकवानपुरमा अन्य जिल्लाबाट आएकाहरुको आरडीटी गर्ने क्रम सोमबारबाट सुरु भएको थियो । पहिलो चरणमा विदेशबाट फर्किएकाहरु र विभिन्न स्थानको क्वारेन्टाइनमा बसेकोहरुको परीक्षण सकिएसँगै लकडाउनको समयमा विभिन्न जिल्लाबाट मकवानपुरमा आएकाहरुको आरडीटी विधिबाट कोरोना आशंका गरिएकाहरुको एन्टिबडी परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए । 

कोरोना भाइरस

Link copied successfully