भेपबाट सवा २३ करोड राजस्व, करोडौं मूल्यका बरामद भेप नष्ट गर्ने कि लिलाम ?
काठमाडौँ — इलेक्ट्रिक चुरोट (भेप) को ओसारपसारमा सरकारले प्रतिबन्ध लगाए पनि बजारमा यसको निर्बाध कारोबार रोकिएको छैन । अनौठो त के छ भने, स्वास्थ्य मन्त्रालयको सक्रियतामा भेप आयातमा प्रतिबन्ध लागेको छ तर यस विषयमा अर्थ र वाणिज्य मन्त्रालय जानकार देखिन्नन् ।
प्रतिबन्धका बाबजुद पनि बजारमा भेपको निर्बाध कारोबार भइरहेको देखिन्छ । आयातमा प्रतिबन्ध लगाइएको वस्तुको कारोबार र उपयोग वैध हो कि अवैध भन्ने प्रश्नको उत्तरमा पनि सरकारी निकायबीच प्रस्टता देखिन्न । बरु यहीबीच अवैध भेप बरामदका शृंखलाबद्ध घटना सतहमा आइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय सूचना, स्वास्थ्य तथा सञ्चार केन्द्रले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका–२०७१ मा उल्लिखित प्रावधान ‘कोड’ गरेर भन्सार विभागहरुलाई पत्राचार गरेपछि भेपको वैध आयात भने रोकिएको छ । तर अवैध आयात भित्रभित्रै फस्टाइरहेको मात्रै छैन, अवैध कारोबारमा सुन तस्करीहरूकै संग्लनता हुन थालेको आशंका गर्न थालिएको छ । भन्सार राजस्व दर मूल्यको झन्डै शतप्रतिशत कायम गरिएकाले चोरी पैठारीबाट भित्र्याइएको भेप बिक्री गर्दा नाफाको प्रतिशत सुनमा भन्दा बढी हुने सीमा क्षेत्रका व्यापारी बताउँछन् ।
भेप प्रतिबन्धित हो होइन भन्ने विषयमै सरकारी अधिकारीहरुको मत बाझिएको छ । राजस्व अनुसन्धानका अधिकारीहरु भेपको अवैध आयात नेपाली मात्रै नभएर भारतीय बजारका निम्ति भइरहेको बताउँदै यसमा अन्तरदेशीय अवैध कारोबारीको नेटवर्क नै सक्रिय रहेको बताउँछन् ।
स्वास्थ्य निर्देशिकाको आधारमा मात्र भेपको आयात रोक्नु उचित हो कि होइन ? भेपजस्तै सुर्तीजन्य र निकोटिनयुक्त वस्तु आयात गर्न दिइएको छ/छैन ? यस्ता प्रश्नको जवाफ अर्थ मन्त्रालयका अधिकारीहरूले पनि दिएका छैनन् । निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ को दफा ३ अनुसार निकासी पैठारी मनाही वा नियन्त्रण गर्ने अधिकार उद्योग वाणिज्य तथा वाणिज्य मन्त्रालयलाई दिइएको छ । ऐनअनुसार मन्त्रालयले कुनै पनि मालवस्तुको आयात/निर्यात राजपत्रमा सूचना प्रकाशित गरेर खोल्न वा बन्द गर्न सक्छ । तर भेपका विषयमा वाणिज्य मन्त्रालयले कुनै पनि निर्णय गरेको छैन ।
वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले भेप आयातमा रोक लगाएको औपचारिक जानकारी आफूलाई नभएको बताए । ‘भेप स्वास्थ्यमा असर पर्ने वस्तुका हिसाबले सम्बन्धित मन्त्रालयले परिपत्र गरेको होला, त्यसलाई अन्यथा भन्न मिल्दैन । तर वाणिज्य मन्त्रालयले भेप आयात रोक्ने विषयमा कुनै निर्णय गरेको छैन,’ सचिव कार्कीले कान्तिपुरसँग भने ।
स्वास्थ्य मन्त्रालयको सूचना केन्द्रले गत वैशाख १७ मा भन्सार विभागलाई पत्र लेखेर भेप आयातमा रोक लगाउन भनेको थियो । स्वास्थ्य निर्देशिका–२०७१ मा भनिएको छ, ‘कसैले पनि इलेक्ट्रिक सिगरेट उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाइने छैन ।’
फोक्सो रोग विशेषज्ञ रक्षा पाण्डेका अनुसार भेपमा पनि निकोटिन हुन्छ । 'भेपको प्रयोगले दीर्घकालिन रूपमा फोक्सोको समस्या हुन्छ, जसलाई ‘इभाली’ भनिन्छ,' उनले भनिन् ।
स्वास्थ्य मन्त्रालयले नियमित रुपमा भेप आयात हुन थालेको चार वर्षभन्दा बढी समयपछि उक्त निर्देशिकाको प्रावधान ‘कोट’ गरेर सम्बन्धित सबै निकायमा पत्राचार गरेको थियो । उक्त परिपत्र अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पठाएको थियो । तर पत्र पाएका मन्त्रालय र विभाग भने प्रस्ट जवाफ दिन आनाकानी गर्छन् ।
भेपमाथि प्रतिबन्ध जरुरी छ वा छैन भन्ने विषयमा खुलेर कुरा नगरे पनि सरकारी अधिकारी यस विषयमा एकमत देखिन्नन् । एकथरीले राजस्व धेरै आउने भएकाले भेपमाथिको प्रतिबन्ध अनावश्यक भएको तर्क गर्छन् भने अर्कोथरी भेपमाथिको प्रतिबन्ध भए यसको प्रयोगलाई कसरी नियमन गर्ने भन्ने विषयमा अस्पष्टता भएको बताउँछन् । त्यसैले भेप बन्द गर्नुपर्छ वा खुलाउनुपर्छ भन्ने लिखित परिपत्र अर्थ मन्त्रालय वा निकायका कुनै पनि कार्यालय प्रमुखले गरेको देखिन्न ।
भन्सार विभागले भने स्वास्थ्य मन्त्रालयको परिपत्रलाई आधार मानेर भेपको जाँचपास गरिरहेको छैन । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले स्वास्थ्य मन्त्रालयको पत्रका आधारमा भेप जाँचपास नगरेको बताए । उनले मन्त्रालय र विभागबीचको अन्तरसम्बन्ध नहुँदा कतिपय अवस्थामा ‘कन्फ्युजन’ भएको भने स्वीकारे । मन्त्रालय र सम्बन्धित निकायले आफूले पाएको अधिकार प्रयोग गरेर आयातमा प्रतिबन्ध लगाउने विषयलाई औपचारिकता दिनुपर्ने धारणा उनको छ ।
चालु आर्थिक वर्षमा भेपको आयातमा भन्सारमा कर झन्डै शतप्रतिशत बनाइएको हो । शतप्रतिशत कर बढेपछि र लगत्तै आयातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि चोरी पैठारी ह्वात्तै बढेको घटनाक्रमले देखाउँछ ।
भेपको आयात रोक्नुअघि गत आर्थिक वर्षमा तातोपानी नाकाबाट ३० करोड ३८ लाख बराबर मूल्यको भेप आयात भएको थियो । तातोपानी भन्सारले भेपबाट मात्र १९ करोड ४३ लाख राजस्व संकलन गरेको थियो । त्यस्तै, रसुवा भन्सारबाट गत आर्थिक वर्षमा करिब ६ करोड मूल्य बराबरको भेप आयात भएको देखिन्छ । उक्त मूल्यको आयातबाट ३ करोड ८१ लाख १७ हजार राजस्व संकलन भएको रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
बजारमा छ्यापछ्याप्ती
भेप आयातमा प्रतिबन्ध लगाइएको भए बजारमा भेपको बिक्री वितरण कसरी सम्भव भइरहेको छ त ? यसको उत्तर भन्सारका अधिकारीहरू दिन चाहँदैनन् । तर तस्करीबाटै भेपको पूर्ति भईरहेको सहजै बुझ्न्छ सकिन्छ ।
भेप बरामदका पछिल्ला घटनाक्रमले पनि यसलाई पुष्टि गर्छ । गत बिहीबार सशस्त्र र नेपाल प्रहरीले अरनिको राजमार्गमा तातोपानी नाकाबाट लुकाइछिपाई ल्याइएको भेप बरामद गर्यो । कन्टेनरमा चालकले लुकाएर ल्याएको ८ सय ५५ थान भेप बरामद गरेर प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।
भेप बिक्री गर्दा नाफाको मात्रा बढी हुने भएकाले पछिल्लो समय ठूलो परिणाममा मात्रै नभएर एकाध कार्टुन भेप पनि अवैध रुपमा ल्याइरहेको देखिन्छ । गत पुसमा इमाडोलको एउटा गोदामबाट मात्र ८६ हजार थान भेप बरामद भयो । यो घटनामा अहिले राजस्व अनुसन्धान विभागले मुद्दा चलायो । राजस्वले माग गरेको २० करोड धरौटी जम्मा गरेर दुई जना हिरासतमुक्त भए ।
गत पुसमा प्रहरीले कोरोला नाकाबाट भित्रेको १९ हजार थान भेप बरामद गरेको थियो । चोरी पैठारी भएको घटनामा राजस्व अनुसन्धानले उच्च अदालतमा मुद्दा दायर गरेको छ । भेप चोरी पैठारीको अभियोगमा ४ करोड ६६ लाख १२ हजार बिगो र बिगोअनुसार जरिवनासमेत ९ करोड ३२ लाख २४ हजार असुल्नुपर्ने दाबीसहित दुई जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
गत साउनमा वीरगन्ज भन्सारको मूल गेटबाट भारततर्फ लैजान लागेको ४ सय ५० थान भेप बरामद भएको थियो । गत साउनमै वीरगन्जमा बस्दै आएका भारतीय नागरिकको कोठाबाट ७६ कार्टुन अर्थात् १५ सय २ थान भेप बरामद भएको थियो । गत पुसमा राजस्व अनुसन्धान कार्यालय बुटवलले १३ कार्टुन भेप बरामद गरेको थियो । नेपालगन्जको बाटो भएर भारत लैजान लागेको उक्त भेप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको थियो ।
यी उदाहरण काफी छन्, नेपाली बजारमा भेप आइरहेको छ भनेर बुझाउन । त्यसो भए के अवैध रुपमा आयात भएको भेप नेपाली बजारमा मात्रै सीमित छ त ? प्रहरीका एक उच्च अधिकारीले सुनाए, ‘अवैध रुपमा भित्रिएको भेपको ठूलो हिस्सा भारतीय बजारसम्मै पुग्ने गरेको छ । किनकि भारतमा पनि भेपको ओसारपसार प्रतिबन्धित छ ।’
करोडौं मूल्यका भेप नष्ट गर्ने कि लिलाम ?
भेपका बारेमा सरकारी निकायबीचको विद्यमान अस्पष्टताका बीच चोरी पैठारीबाट आयात भएका करोडौं मूल्यको भेप अहिले राजस्व अनुसन्धान विभागमा थुप्रिएको छ । राजस्व विभाग बरामद भएको भेप नष्ट गर्ने कि लिलाम भन्नेमा द्विविधामा देखिन्छ ।
विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे अधिकारप्राप्त निकायले जे निर्देशन गर्छ, आफूले त्यही गर्ने बताउँछन् । ‘प्रतिबन्धित हो लिलाम गर्न पाइँदैन भन्ने निर्णय आयो भने त्यसै गरौंला,’ उनले भने, ‘लिलाम गर्न नमिलेमा नष्ट गर्नुको विकल्प छैन । किनकि प्रतिबन्धित वस्तु लिलाम गर्न मिल्दैन ।'
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल भने भेप आयातमा स्वास्थ्य मन्त्रालयले रोक लगाएकाले प्रतिबन्धित वस्तु मान्नुपर्ने बताउँछन् । ‘नीतिगत विषय हो भने माथिल्लो निकायले जवाफ देला, आयातमा रोक लगाएपछि वाणिज्य विभागले भेपलाई प्रतिबन्धित मान्नुपर्छ,’ दाहालले भने । 
यतिबेला तातोपानी भन्सारले नियन्त्रणमा लिएको झन्डै २ सय कार्टुनभन्दा धेरै भेप गोदाममा थन्किएको छ । तातोपानीका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे आफूहरुले विभागमा सोधेको बताए । ‘नियन्त्रणमा लिएर गोदाममा राखिएको छ । के गर्ने हो यकिन नभएपछि माथिल्लो निकायको निर्देशन खोजेका छौं, जवाफ पाएको छैन,’ उनले भने ।
भेप कति हानिकारक ?
इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) वा भेप भनेको चुरोट पिएको जस्तो अनुभव दिने यन्त्र हो । यसमा हिटर (एटोमाइजर), ब्याट्री र एउटा ट्यांकजस्तो कन्टेनर हुन्छ । यसले धुवाँको सट्टा बाफ दिन्छ । त्यसैले ई–सिगरेट प्रयोग गर्नुलाई ‘भेपिङ’ भनिन्छ ।
हिटरले ‘ई–लिक्विड’ नामक तरललाई तताएर बाफ बनाउँछ । विभिन्न अध्ययनअनुसार यो बाफमा प्रायः निकोटिन र फ्लेभर दिने पदार्थ हुन्छ । निकोटिन चुरोट र अन्य टोबाको उत्पादनमा पाइने अत्यधिक लत लाग्ने हानिकारक पदार्थ हो । यसमा प्रोपेलिन ग्लाइकोल र ग्लिसेरिन हुन्छ, जुन बाफ बनाउन प्रयोग गरिन्छ ।
कति भेपमा थोरै मात्रामा क्यान्सर गराउने (कार्सिनोजेनिक) रसायन जस्तैः एसिटालडिहाइड र फर्मालडिहाइड पनि हुन्छ । फोक्सोको रोग गराउने र गहिरो असर पुर्याउने रसायन, एक्रोलिन, डायसिटाइल र डायइथिलिन ग्लाइकोलजस्ता रसायन हुन्छन् । मारियोनामा पाइने टीएचसी जस्ता कुरा पनि भेपमा हुन्छ, जसले नशालु बनाउँछ ।
काठमाडौंमा सन् २०२२ को अप्रिलदेखि डिसेम्बरसम्म ४ सय स्नातक तहका विद्यार्थीलाई लिएर एउटा अध्ययन गरिएको छ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित उक्त रिपोर्टका अनुसार २१.२ प्रतिशत विद्यार्थीले भेप एक न एकपटक प्रयोग गरेका छन् । त्यस्तै ५.९ प्रतिशतले सक्रिय रूपमा भेपको प्रयोग गर्ने पाइएको थियो ।
