प्रतिबन्धित 'भेप'को किन भइरहेछ निर्बाध कारोबार ?

भेपबाट सवा २३ करोड राजस्व, करोडौं मूल्यका बरामद भेप नष्ट गर्ने कि लिलाम ?

चैत्र १४, २०८१

ऋषिराम पौड्याल

Why is there an uninterrupted trade of the banned 'vape'?

काठमाडौँ — इलेक्ट्रिक चुरोट (भेप) को ओसारपसारमा सरकारले प्रतिबन्ध लगाए पनि बजारमा यसको निर्बाध कारोबार रोकिएको छैन । अनौठो त के छ भने, स्वास्थ्य मन्त्रालयको सक्रियतामा भेप आयातमा प्रतिबन्ध लागेको छ तर यस विषयमा अर्थ र वाणिज्य मन्त्रालय जानकार देखिन्नन् । 

प्रतिबन्धका बाबजुद पनि बजारमा भेपको निर्बाध कारोबार भइरहेको देखिन्छ । आयातमा प्रतिबन्ध लगाइएको वस्तुको कारोबार र उपयोग वैध हो कि अवैध भन्ने प्रश्नको उत्तरमा पनि सरकारी निकायबीच प्रस्टता देखिन्न । बरु यहीबीच अवैध भेप बरामदका शृंखलाबद्ध घटना सतहमा आइरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय सूचना, स्वास्थ्य तथा सञ्चार केन्द्रले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका–२०७१ मा उल्लिखित प्रावधान ‘कोड’ गरेर भन्सार विभागहरुलाई पत्राचार गरेपछि भेपको वैध आयात भने रोकिएको छ । तर अवैध आयात भित्रभित्रै फस्टाइरहेको मात्रै छैन, अवैध कारोबारमा सुन तस्करीहरूकै संग्लनता हुन थालेको आशंका गर्न थालिएको छ । भन्सार राजस्व दर मूल्यको झन्डै शतप्रतिशत कायम गरिएकाले चोरी पैठारीबाट भित्र्याइएको भेप बिक्री गर्दा नाफाको प्रतिशत सुनमा भन्दा बढी हुने सीमा क्षेत्रका व्यापारी बताउँछन् । 

भेप प्रतिबन्धित हो होइन भन्ने विषयमै सरकारी अधिकारीहरुको मत बाझिएको छ । राजस्व अनुसन्धानका अधिकारीहरु भेपको अवैध आयात नेपाली मात्रै नभएर भारतीय बजारका निम्ति भइरहेको बताउँदै यसमा अन्तरदेशीय अवैध कारोबारीको नेटवर्क नै सक्रिय रहेको बताउँछन् । 

स्वास्थ्य निर्देशिकाको आधारमा मात्र भेपको आयात रोक्नु उचित हो कि होइन ? भेपजस्तै सुर्तीजन्य र निकोटिनयुक्त वस्तु आयात गर्न दिइएको छ/छैन ? यस्ता प्रश्नको जवाफ अर्थ मन्त्रालयका अधिकारीहरूले पनि दिएका छैनन् । निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ को दफा ३ अनुसार निकासी पैठारी मनाही वा नियन्त्रण गर्ने अधिकार उद्योग वाणिज्य तथा वाणिज्य मन्त्रालयलाई दिइएको छ । ऐनअनुसार मन्त्रालयले कुनै पनि मालवस्तुको आयात/निर्यात राजपत्रमा सूचना प्रकाशित गरेर खोल्न वा बन्द गर्न सक्छ । तर भेपका विषयमा वाणिज्य मन्त्रालयले कुनै पनि निर्णय गरेको छैन । 

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले भेप आयातमा रोक लगाएको औपचारिक जानकारी आफूलाई नभएको बताए । ‘भेप स्वास्थ्यमा असर पर्ने वस्तुका हिसाबले सम्बन्धित मन्त्रालयले परिपत्र गरेको होला, त्यसलाई अन्यथा भन्न मिल्दैन । तर वाणिज्य मन्त्रालयले भेप आयात रोक्ने विषयमा कुनै निर्णय गरेको छैन,’ सचिव कार्कीले कान्तिपुरसँग भने । 

स्वास्थ्य मन्त्रालयको सूचना केन्द्रले गत वैशाख १७ मा भन्सार विभागलाई पत्र लेखेर भेप आयातमा रोक लगाउन भनेको थियो । स्वास्थ्य निर्देशिका–२०७१ मा भनिएको छ, ‘कसैले पनि इलेक्ट्रिक सिगरेट उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाइने छैन ।’

फोक्सो रोग विशेषज्ञ रक्षा पाण्डेका अनुसार भेपमा पनि निकोटिन हुन्छ । 'भेपको प्रयोगले दीर्घकालिन रूपमा फोक्सोको समस्या हुन्छ, जसलाई ‘इभाली’ भनिन्छ,' उनले भनिन् ।Why is there an uninterrupted trade of the banned 'vape'?

स्वास्थ्य मन्त्रालयले नियमित रुपमा भेप आयात हुन थालेको चार वर्षभन्दा बढी समयपछि उक्त निर्देशिकाको प्रावधान ‘कोट’ गरेर सम्बन्धित सबै निकायमा पत्राचार गरेको थियो । उक्त परिपत्र अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पठाएको थियो । तर पत्र पाएका मन्त्रालय र विभाग भने प्रस्ट जवाफ दिन आनाकानी गर्छन् । 

भेपमाथि प्रतिबन्ध जरुरी छ वा छैन भन्ने विषयमा खुलेर कुरा नगरे पनि सरकारी अधिकारी यस विषयमा एकमत देखिन्नन् । एकथरीले राजस्व धेरै आउने भएकाले भेपमाथिको प्रतिबन्ध अनावश्यक भएको तर्क गर्छन् भने अर्कोथरी भेपमाथिको प्रतिबन्ध भए यसको प्रयोगलाई कसरी नियमन गर्ने भन्ने विषयमा अस्पष्टता भएको बताउँछन् । त्यसैले भेप बन्द गर्नुपर्छ वा खुलाउनुपर्छ भन्ने लिखित परिपत्र अर्थ मन्त्रालय वा निकायका कुनै पनि कार्यालय प्रमुखले गरेको देखिन्न । 

भन्सार विभागले भने स्वास्थ्य मन्त्रालयको परिपत्रलाई आधार मानेर भेपको जाँचपास गरिरहेको छैन ।  भन्सार विभागका महानिर्देशक महेश भट्टराईले स्वास्थ्य मन्त्रालयको पत्रका आधारमा भेप जाँचपास नगरेको बताए । उनले मन्त्रालय र विभागबीचको अन्तरसम्बन्ध नहुँदा कतिपय अवस्थामा ‘कन्फ्युजन’ भएको भने स्वीकारे । मन्त्रालय र सम्बन्धित निकायले आफूले पाएको अधिकार प्रयोग गरेर आयातमा प्रतिबन्ध लगाउने विषयलाई औपचारिकता दिनुपर्ने धारणा उनको छ । 

चालु आर्थिक वर्षमा भेपको आयातमा भन्सारमा कर झन्डै शतप्रतिशत बनाइएको हो । शतप्रतिशत कर बढेपछि र लगत्तै आयातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि चोरी पैठारी ह्वात्तै बढेको घटनाक्रमले देखाउँछ । 

भेपको आयात रोक्नुअघि गत आर्थिक वर्षमा तातोपानी नाकाबाट ३० करोड ३८ लाख बराबर मूल्यको भेप आयात भएको थियो । तातोपानी भन्सारले भेपबाट मात्र १९ करोड ४३ लाख राजस्व संकलन गरेको थियो । त्यस्तै, रसुवा भन्सारबाट गत आर्थिक वर्षमा करिब ६ करोड मूल्य बराबरको भेप आयात भएको देखिन्छ । उक्त मूल्यको आयातबाट ३ करोड ८१ लाख १७ हजार राजस्व संकलन भएको रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए । 

बजारमा छ्यापछ्याप्ती
भेप आयातमा प्रतिबन्ध लगाइएको भए बजारमा भेपको बिक्री वितरण कसरी सम्भव भइरहेको छ त ? यसको उत्तर भन्सारका अधिकारीहरू दिन चाहँदैनन् । तर तस्करीबाटै भेपको पूर्ति भईरहेको सहजै बुझ्न्छ सकिन्छ । 

भेप बरामदका पछिल्ला घटनाक्रमले पनि यसलाई पुष्टि गर्छ । गत बिहीबार सशस्त्र र नेपाल प्रहरीले अरनिको राजमार्गमा तातोपानी नाकाबाट लुकाइछिपाई ल्याइएको भेप बरामद गर्‍यो । कन्टेनरमा चालकले लुकाएर ल्याएको ८ सय ५५ थान भेप बरामद गरेर प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । 

भेप बिक्री गर्दा नाफाको मात्रा बढी हुने भएकाले पछिल्लो समय ठूलो परिणाममा मात्रै नभएर एकाध कार्टुन भेप पनि अवैध रुपमा ल्याइरहेको देखिन्छ । गत पुसमा इमाडोलको एउटा गोदामबाट मात्र ८६ हजार थान भेप बरामद भयो । यो घटनामा अहिले राजस्व अनुसन्धान विभागले मुद्दा चलायो । राजस्वले माग गरेको २० करोड धरौटी जम्मा गरेर दुई जना हिरासतमुक्त भए । 

Why is there an uninterrupted trade of the banned 'vape'?

गत पुसमा प्रहरीले कोरोला नाकाबाट भित्रेको १९ हजार थान भेप बरामद गरेको थियो । चोरी पैठारी भएको घटनामा राजस्व अनुसन्धानले उच्च अदालतमा मुद्दा दायर गरेको छ । भेप चोरी पैठारीको अभियोगमा ४ करोड ६६ लाख १२ हजार बिगो र बिगोअनुसार जरिवनासमेत ९ करोड ३२ लाख २४ हजार असुल्नुपर्ने दाबीसहित दुई जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । 

गत साउनमा वीरगन्ज भन्सारको मूल गेटबाट भारततर्फ लैजान लागेको ४ सय ५० थान भेप बरामद भएको थियो । गत साउनमै वीरगन्जमा बस्दै आएका भारतीय नागरिकको कोठाबाट ७६ कार्टुन अर्थात् १५ सय २ थान भेप बरामद भएको थियो । गत पुसमा राजस्व अनुसन्धान कार्यालय बुटवलले १३ कार्टुन भेप बरामद गरेको थियो । नेपालगन्जको बाटो भएर भारत लैजान लागेको उक्त भेप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको थियो । 

यी उदाहरण काफी छन्, नेपाली बजारमा भेप आइरहेको छ भनेर बुझाउन । त्यसो भए के अवैध रुपमा आयात भएको भेप नेपाली बजारमा मात्रै सीमित छ त ? प्रहरीका एक उच्च अधिकारीले सुनाए, ‘अवैध रुपमा भित्रिएको भेपको ठूलो हिस्सा भारतीय बजारसम्मै पुग्ने गरेको छ । किनकि भारतमा पनि भेपको ओसारपसार प्रतिबन्धित छ ।’

करोडौं मूल्यका भेप नष्ट गर्ने कि लिलाम ?
भेपका बारेमा सरकारी निकायबीचको विद्यमान अस्पष्टताका बीच चोरी पैठारीबाट आयात भएका करोडौं मूल्यको भेप अहिले राजस्व अनुसन्धान विभागमा थुप्रिएको छ । राजस्व विभाग बरामद भएको भेप नष्ट गर्ने कि लिलाम भन्नेमा द्विविधामा देखिन्छ । 

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे अधिकारप्राप्त निकायले जे निर्देशन गर्छ, आफूले त्यही गर्ने बताउँछन् । ‘प्रतिबन्धित हो लिलाम गर्न पाइँदैन भन्ने निर्णय आयो भने त्यसै गरौंला,’ उनले भने, ‘लिलाम गर्न नमिलेमा नष्ट गर्नुको विकल्प छैन । किनकि प्रतिबन्धित वस्तु लिलाम गर्न मिल्दैन ।'

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल भने भेप आयातमा स्वास्थ्य मन्त्रालयले रोक लगाएकाले प्रतिबन्धित वस्तु मान्नुपर्ने बताउँछन् । ‘नीतिगत विषय हो भने माथिल्लो निकायले जवाफ देला, आयातमा रोक लगाएपछि वाणिज्य विभागले भेपलाई प्रतिबन्धित मान्नुपर्छ,’ दाहालले भने । Why is there an uninterrupted trade of the banned 'vape'?

यतिबेला तातोपानी भन्सारले नियन्त्रणमा लिएको झन्डै २ सय कार्टुनभन्दा धेरै भेप गोदाममा थन्किएको छ । तातोपानीका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे आफूहरुले विभागमा सोधेको बताए । ‘नियन्त्रणमा लिएर गोदाममा राखिएको छ । के गर्ने हो यकिन नभएपछि माथिल्लो निकायको निर्देशन खोजेका छौं, जवाफ पाएको छैन,’ उनले भने ।

भेप कति हानिकारक ?
इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) वा भेप भनेको चुरोट पिएको जस्तो अनुभव दिने यन्त्र हो । यसमा हिटर (एटोमाइजर), ब्याट्री र एउटा ट्यांकजस्तो कन्टेनर हुन्छ । यसले धुवाँको सट्टा बाफ दिन्छ । त्यसैले ई–सिगरेट प्रयोग गर्नुलाई ‘भेपिङ’ भनिन्छ । 

हिटरले ‘ई–लिक्विड’ नामक तरललाई तताएर बाफ बनाउँछ । विभिन्न अध्ययनअनुसार यो बाफमा प्रायः निकोटिन र फ्लेभर दिने पदार्थ हुन्छ । निकोटिन चुरोट र अन्य टोबाको उत्पादनमा पाइने अत्यधिक लत लाग्ने हानिकारक पदार्थ हो । यसमा प्रोपेलिन ग्लाइकोल र ग्लिसेरिन हुन्छ, जुन बाफ बनाउन प्रयोग गरिन्छ । 

कति भेपमा थोरै मात्रामा क्यान्सर गराउने (कार्सिनोजेनिक) रसायन जस्तैः एसिटालडिहाइड र फर्मालडिहाइड पनि हुन्छ । फोक्सोको रोग गराउने र गहिरो असर पुर्‍याउने रसायन, एक्रोलिन, डायसिटाइल र डायइथिलिन ग्लाइकोलजस्ता रसायन हुन्छन् । मारियोनामा पाइने टीएचसी जस्ता कुरा पनि भेपमा हुन्छ, जसले नशालु बनाउँछ । 

काठमाडौंमा सन् २०२२ को अप्रिलदेखि डिसेम्बरसम्म ४ सय स्नातक तहका विद्यार्थीलाई लिएर एउटा अध्ययन गरिएको छ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित उक्त रिपोर्टका अनुसार २१.२ प्रतिशत विद्यार्थीले भेप एक न एकपटक प्रयोग गरेका छन् । त्यस्तै ५.९ प्रतिशतले सक्रिय रूपमा भेपको प्रयोग गर्ने पाइएको थियो ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully