काठमाडौँ — गत पुसमा राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा ठूलो मात्रामा विद्युतीय चुरोट (भेप) बरामद भयो । उक्त भेप राजस्व छलेर नेपाल भित्र्याइएको थियो । विभागका अनुसार पुस महिनामा दुई सातामै करिब १ लाख २० हजार थान भेप बरामद भएको हो ।
भेपलाई भन्सार छलेर लुकाइछिपाइ नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलको एक गोदामबाट मात्रै ८६ हजार थान भेप बरामद गरेको थियो । त्यस्तै मुस्ताङबाट १९ हजार थान भएको ९५ कार्टुन भेप बरामद गरिएको थियो । पथलैया र बुटवलबाट क्रमश: १५ हजार र ४ हजार थान भेप बरामद भयो ।
राजस्वले हाल बरामद गरेको भेपको बजार मूल्य मात्रै २५ करोड रुपैयाँभन्दा बढी छ । भन्सार छलेर बाहेक पनि नेपालमा ठूलो मात्रामा भेप भित्रिने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १० लाख ६४ हजार रुपैयाँ बराबरको भेप भित्रिएको छ । कुल १ सय १९ किलो भेप नेपाल भित्रिएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा २४ लाख ३० हजार रुपैयाँबराबरको २ सय ८१ किलो भेप नेपाल भित्रिएको छ ।
विश्वव्यापी तथ्यांक हेर्ने हो भने युवा वर्गमा भेपको उपभोग बढी छ । १८ देखि २४ वर्षका व्यक्तिहरू भेपको उपभोग गर्ने सबैभन्दा ठूलो उमेर समूह हो । उदाहरणका लागि अमेरिकाको नेसनल सेन्टर फर हेल्थ स्टाटिस्टिक्सले सन् २०२१ मा गरेको अध्ययनअनुसार १८ देखि २४ वर्षका व्यक्तिहरूले भेप धेरै प्रयोग गर्ने गरेको पाइएको छ । नेपालमा पनि भेप खपत गर्नेमा त्यस्तै उमेर समूहका धेरै देखिन्छन् । जस्तो, बानेश्वरमा भेप बिक्री गर्ने एक बिक्रेताका अनुसार उनको पसलमा विशेष गरी २० देखि ३० वर्षका मानिस भेप किन्न आउँछन् ।
भेप विभिन्न फ्लेभरमा उपलब्ध छ। हालै बरामद गरिएका भेप पनि विभिन्न फ्लेभरका थिए । एउटा भेपको बजार मूल्य १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म पर्ने देखिन्छ । एउटा भेपमा बढीमा ३० हजार सर्को तान्न मिल्ने धूवाँ हुन्छ । 
२१ वर्षीया सुमना (नाम परिवर्तन)ले एक वर्षदेखि भेपको प्रयोग सुरु गरेकी थिइन् । उनले सुरुवातमा २ ‘एमजी’ निकोटिन भएको भेप प्रयोग गर्थिन् । २ एमजीभन्दा धेरै निकोटिन भएको भेप प्रयोग गर्दा उनलाई छाती पोल्ने, असहज हुने गर्छ । एक वर्षपछि अर्थात् हाल उनको भेप प्रयोगको मात्रा बढेको छ । अब उनी २ एमजी निकोटिनभन्दा धेरै जति पनि भेप प्रयोग गर्न सक्छिन् ।
हाल उनले ५० एमजीको भेप प्रयोग गर्ने गरेकी छिन् । उनी भन्छिन्, ‘मलाई हाल २ एमजी निकोटिन भएको भेप त खाएको जस्तो पनि लाग्दैन । भेप मेरो हातमा जतिबेलै पनि भइराख्छ । दिनभरि बेला–बेलामा पफ लिइराख्छु । बरू हातमा नहुँदा के नभएको नभएको महसुस हुन्छ ।’
उस्तै अनुभव सुनाउँछन्, २३ वर्षीय सुरज (नाम परिवर्तन) । उनी केही समय अघि चुरोट छोड्न निकै कोसिस गरिरहेका रहेछन् । निकै प्रयास गरे पनि चुरोट छोड्न उनलाई हम्मे परेको रहेछ । त्यही समय उनलाई उनकै एक जना साथीले भेपले चुरोट छोड्न सहयोग गर्ने बताएका रहेछन् । सुरजले त्यसैदिन भेप किने र प्रयोग गर्न थाले । उनी भन्छन्, ‘चुरोट छोड्नलाई सहयोग हुन्छ भनेर भेप प्रयोग गर्न थालेको थिएँ । केही दिन त चुरोट कम पनि भएको थियो तर बिस्तारै भेप नै पटकपटक प्रयोग गर्न थालेँ । अहिले म बेला बेलामा चुरोट खान्छु तर भेप धेरै खाने गरेको छु ।’
के हो ई–सिगरेट (भेप) ? कति हानिकारक ?
इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) वा भेप भनेको चुरोट पिएको जस्तो अनुभव दिने यन्त्र हो । यसमा हिटर (एटोमाइजर), ब्याट्री र एउटा ट्यांकजस्तो कन्टेनर हुन्छ । यसले धूवाँको सट्टा बाफ दिन्छ । त्यसैले ई–सिगरेट प्रयोग गर्नुलाई ‘भेपिङ’ भनिन्छ ।
हिटरले ‘ई–लिक्विड’ नामक तरललाई तताएर बाफ बनाउँछ । विभिन्न अध्ययनहरूका अनुसार यो बाफमा प्रायः निकोटिन र फ्लेभर दिने पदार्थ हुन्छ । निकोटिन चुरोट र अन्य टोब्याको उत्पादनमा पाइने, अत्यधिक लत लाग्ने, हानिकारक पदार्थ हो । यसमा प्रोपेलिन ग्लाइकोल र ग्लिसेरिन हुन्छ, जुन बाफ बनाउन प्रयोग गरिन्छ । त्यस्तै कति भेपमा थोरै मात्रा क्यान्सर गराउने (कार्सिनोजेनिक) रसायनहरू, जस्तैः एसिटालडिहाइड र फर्मालडिहाइड हुन्छ । फोक्सो रोग गराउने र गहिरो असर पुर्याउने रसायनहरू, एक्रोलिन, डायसिटाइल र डायइथिलीन ग्लाइकोल जस्ता रसायन हुन्छ । मारियोनामा पाइने टीएचसी जस्ता कुराहरू पनि भेपमा हुन्छ, जसले नशा गराउँछ ।
‘एकपटक कुनै कुरामा एडिक्ट भएपछि जे गर्न पनि त्यसमै भर पर्नुपर्ने हुन्छ । अलिकति नकारात्मक अनुभूति हुनेबित्तिकै त्योसँग डिल गर्ने नभइ लत लागेको कुराको प्रयोग गर्ने बानी पर्छ । दुःख, रिस, खुसी जे महसुस गर्दा पनि पदार्थ प्रयोग बढ्छ । एन्जाइटी पनि बढाउँछ । यसमा सबैभन्दा सहज भेपको प्रयोग हुन्छ । त्यसैले यसको प्रयोग बढेको हो ।’
- आदित्य डंगोल, मनोपरामर्शदाता
काठमाडौंमा सन् २०२२ को अप्रिलदेखि डिसेम्बरसम्म ४ सय स्नातक तहका विद्यार्थीलाई लिएर एउटा अध्ययन गरिएको छ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित उक्त रिपोर्टका अनुसार २१.२ प्रतिशत विद्यार्थीले भेप एक न एक पटक प्रयोग गरेका छन् । त्यस्तै ५.९ प्रतिशतले सक्रिय रूपमा भेपको प्रयोग गर्ने गरेको पाइएको थियो ।
ललितपुरको इमाडोलस्थित एक गोदामबाट बरामद गरिएको भेप
ती विद्यार्थीहरूको भेपप्रतिको धारणा पनि सोधिएको थियो । जसमा ३४.८ प्रतिशतले भेपले चुरोटको लत छुटाउन सक्ने अनुमान गरेका थिए । त्यस्तै ६४.७ प्रतिशतले भेप चुरोटभन्दा कम हानिकारक हुने धारणा राख्ने गरेको पाइएको थियो ।
फोक्सोसम्बन्धी डा. रक्षा पाण्डेका अनुसार भेपले क्षणिक रूपमा एलर्जी हुने, मुटुको चाल बढाउने, रक्तचाप बढाउने र केमिकल र फ्लेभरहरूले एलर्जिक रियाक्सन गराउँछ । दीर्घकालीन रूपमा भने भेपले फोक्सोको समस्या, जसलाई ‘ईभाली’ भनिन्छ, त्यसको संक्रमण हुन सक्छ । भेपले अन्य फोक्सोका रोगहरू गराउने पनि देखिएको छ । भेपकै अत्यधिक प्रयोगले श्वास–प्रश्वासमा गाह्रो भएर युवाहरूकै ज्यान गएको पनि देखिएको छ ।
बीबीसीले सन् २०२२ मा प्रकाशित गरेको एक लेखका अनुसार भेप पहिलो पटक व्यावसायिक रूपमा चुरोटको लत छोड्नकै लागि बजारमा आएको थियो । यद्यपि भेपले चुरोट छोड्न मद्यत गर्छ भन्नु भ्रम मात्र भएको पाण्डेको भनाइ छ ।
‘निकोटिन प्रयोग गरिएको ६ सेकेन्डमा नै ब्रेनमा पुग्छ । त्यसले आनन्दको महसुस गराउँछ । प्रयोग बढाउँदै गएपछि बिस्तारै थोरैले नपुग्ने हुन्छ । त्यही भएर मात्रा बढाउँदै जान पर्ने हुन्छ,’ उनी भन्छिन्, ‘त्यही प्रोसेस चुरोट र भेप दुवैमा हुन्छ । भेप पहिला बजारमा आउँदा चुरोटको लत छोड्न मद्दत गर्ने भनेर आएको थियो । यसको ठोस केही प्रमाण छैन ।’
त्यस्तै तर्क गर्छन् मनोचिकित्सक डा. अरुण कुँवर । भन्छन्, ‘तुलनात्मक रूपमा हेर्ने हो भने भेपमा कम निकोटिन भएकाले राम्रो हो भन्ने तर्क आउने गरेका छन् । तर भेपमा पनि निकोटिन हुन्छ र हानि गर्छ । यसरी एउटा डिपेन्डेन्सबाट अर्कोमा स्विच मात्र हुन्छ ।’
त्यस्तै भेपमा भएको फ्लेभरका कारण पनि यसले धेरै लत गराउने कुँवर बताउँछन् । फ्लेभरकै कारण पनि भेपको प्रयोग बढ्छ ।
कुनै पनि अन्य लागुपदार्थले जस्तै भेपको प्रयोगले पनि एन्जाइटी बढाउने तर्क राख्छन्, मनोपरामर्शदाता आदित्य डंगोल । ‘एकपटक कुनै कुरामा एडिक्ट भएपछि जे गर्न पनि त्यसमै भर पर्नुपर्ने हुन्छ । अलिकति नकारात्मक अनुभूति हुनेबित्तिकै त्योसँग डिल गर्ने नभइ लत लागेको कुराको प्रयोग गर्ने बानी पर्छ । दुःख, रिस, खुसी जे महसुस गर्दा पनि पदार्थ प्रयोग बढ्छ । एन्जाइटी पनि बढाउँछ,’ भन्छन्, ‘यसमा सबैभन्दा सहज भेपको प्रयोग हुन्छ । त्यसैले यसको प्रयोग बढेको हो ।’
भेपलाई सामाजिक रूपमा पनि स्विकार गरिएकाले पनि यसको प्रयोग बढ्नुमा सहयोग गरेको डंगोलको भनाइ छ । ‘यसले हानि गर्दैन भन्ने बुझाइ भएकाले, समाजमा खुल्लमखुला पनि प्रयोग गरिएको छ । यसैबाट किशोरकिशोरीहरूले नै सिकिरहेका छन्, ख्यालठट्टामा पफ तान्ने गर्दागर्दै लत पनि बस्छ,’ डंगोलले बताए ।
मुस्ताङबाट बरामद गरिएको ९५ कार्टुन भेप
बालबालिका र किशोरकिशोरीमा पनि यसको प्रयोग बढिरहेको छ । स्कुले विद्यार्थीका ब्यागमा पनि भेप भेटिने गरेको डा. पाण्डेले सुनाइन् । त्यस्तै भेपको रिसर्च गर्ने क्रममा पाण्डेले अनलाइन पोर्टलबाट भेप खरिद गर्न लागिन् । तर उनलाई उनको उमेर कति हो जस्तो डिस्क्लेमरसमेत नदेखाएकामा आश्चर्य लाग्यो ।
‘कुन उमेर समूहले खरिद गर्न लागेको हो भन्ने डिस्क्लेमर देखाउन पर्ने हो, अर्डरमा क्लिक गरिसक्दा समेत देखाएन,’ उनले कान्तिपुरसँग बताइन्, ‘नेपालमा रेगुलेसन नभएकाले पनि यसको प्रयोग बढेको हो । एक त कस्तो भेप भित्रिरहेको छ, के छ त्यसमा थाहा छैन । के छ भन्ने नै थाहा नभइ कसरी असर गर्छ भन्ने थाहा हुने कुरै भएन । फेरि उमेर पनि नहेरी बिक्री हुने गरिएको देखियो ।’
साना बालबालिका र किशोरकिशोरीहरूले यसको हानिबारे नबुझी प्रयोग गर्ने भएकाले बालबालिकका लागि यो प्रतिबन्ध लगाउनुपर्ने कुँवरले बताए । ‘उनीहरूको राम्रो नराम्रो थाहा हुँदैन, विकास राम्ररी भइसकेको हुँदैन । त्यसैले भेप जस्तो केमिकल प्रयोग गर्यो भने उनीहरूको विकासमा पनि हानि हुन्छ । जति सानै उमेरमा प्रयोग सुरु गर्यो, लत त्यति नै लामो समय बस्छ,’ कुँवर भन्छन्, ‘१८ वर्षभन्दा कम उमेरकालाई प्रतिबन्ध लगाएको राम्रो हुन्छ ।’
साथीहरूका बीचमा पनि ‘कुल’ देखिन भेप प्रयोग गर्ने ट्रेन्ड बढ्दो भएको डंगोल बताउँछन् । हातमा भेप हुँदा राम्रो देखिन्छु भन्ने धारण किशोरकिशोरी र बालाबालिकामा रहेको उनी बताउँछन् । डंगोल भन्छन्, ‘विज्ञापनदेखि अन्य तरिकाबाट यो हानिकारक छ है भन्ने सन्देश सबैमा पुर्याउनुपर्छ । भेप हानिकारक भएको चेतना विकास गराउनुपर्छ । फ्याक्ट के हो, के होइन बुझ्न पर्यो नि पहिला ।’
