चुरोट र भेप दुवै हानिकारक : डा. रक्षा पाण्डे

माघ १९, २०८१

कान्तिपुर संवाददाता

Both cigarettes and vape are harmful: Dr. Raksha Pandey

काठमाडौँ — भेप बजारमा आउँदा चुरोटको लत छोड्न मद्दत गर्ने भनेर आएको तर यसको ठोस प्रमाण नभेटिने फोक्सो रोग विशेषज्ञ डा. रक्षा पाण्डेको तर्क छ । अहिले युवा मात्र होइन, स्कुल पढ्ने विद्यार्थीहरूमा पनि यसको प्रयोग बढेको उनी बताउँछिन् ।

भेपबारे डा.पाण्डेसँग ईकान्तिपुरका लागि प्रविना पौडेलले गरेको कुराकानी : 

भेप प्रयोगको क्षणिक र दीर्घकालीन असरहरू के के हुन् ?

कुनै पनि लागूपदार्थ प्रयोग गर्दा सुरुमा खोकी लाग्ने, गाह्रो हुनेजस्ता लक्षण देखिन्छ । त्यसको अर्थ नै हाम्रो शरीरलाई असर गरिरहेको छ भन्ने बुझ्न सकिन्छ । क्षणिक रूपमा एलर्जीहरू हुने, मुटुको चाल बढाउने, रक्तचाप बढाउने, केमिकल र फ्लेभरहरूले एलर्जिक रियाक्सन गराउँछ । दीर्घकालीन रूपमा भने भेपसम्बन्धी फोक्सोको समस्या, जसलाई ‘इभाली’ भनिन्छ, त्यो हुनसक्छ । भेपले अन्य फोक्सोका रोगहरू गराउने पनि देखिएको छ । भेपकै अत्यधिक प्रयोगले श्वास–प्रश्वासमा गाह्रो भएर युवाहरूकै ज्यान गएको पनि देखिएको छ । 

चुरोटको विकल्पमा भेप बजारमा आएको देखिन्छ । सिगरेट र भेपमा के फरक छ ? यी दुईको प्रभावमा के फरक छ ?  

कसरी फरक छ भनेर हेर्न, दुइटैको लत कसरी हुन्छ, थाहा पाउन आवश्यक छ । चुरोटमा लत लाग्ने अन्य केमिकल र निकोटिनले हो । भेपमा पनि निकोटिन हुन्छ । विदेशतिर निकोटिन नभएको भनिएको भेपमा पनि निकोटिन पाइएको थियो । निकोटिनले प्रयोग गरिएको ६ सेकेन्डमा नै ब्रेनमा पुग्छ । त्यसले आनन्दको महसुस गराउँछ । प्रयोग बढाउँदै गएपछि बिस्तारै थोरैले नपुग्ने हुन्छ । त्यही भएर मात्रा बढाउँदै जान पर्ने हुन्छ । त्यही प्रोसेस चुरोट र भेप दुवैमा हुन्छ । भेप पहिला बजारमा आउँदा चुरोटको लत छोड्न मद्दत गर्ने भनेर आएको थियो । यसको ठोस केही प्रमाण छैन । अहिले युवा मात्र होइन, स्कुल पढ्ने विद्यार्थीहरूमा पनि यसको प्रयोग बढेको देखियो । स्कुलको ब्यागमा भेप भेटिएका कति दृष्टान्त छन् । 

यसमा कुनको प्रभाव नराम्रो भन्ने छैन । दुवै नराम्रा हुन् । कुन रक्सी हानिकारक हुन्छ भनेर सोधेको जस्तै हुन्छ भेप नराम्रो कि चुरोट भन्दा । दुईटाको असर फरक छ । चुरोटले फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग गराउँछ । त्यसमा भएको केमिकल र धूवाँले हो ।

आजसम्मको तथ्यांकले भेपले चुरोट जत्तिको रोग निम्तिएको देखाएको छैन । यद्यपि, यो उत्तिकै हानिकारक छ । यसको लत पनि छिटो लाग्छ । अर्को कुरा चुरोटका बारेमा जति पनि कुरा थाहा छ, त्यो एक सताब्दीको अध्ययन र खोज हो । भेप कमर्सियलाइज भएको धेरै भएको छैन । अब आउने दशकहरूमा मात्र थाहा हुन्छ यसको थप असर के के हुन सक्छ भन्ने । अहिलेसम्मको अध्ययन हेर्दा चुरोटले र यसले पार्ने प्रभाव एउटै खाले छैनन् । तर यो पनि राम्रो कुरा भने होइन । लत लाग्ने कुरा हो । 

किशोरकिशोरी र युवाहरूमा यसको प्रयोग बढी भएको पाइएको छ । विशेष गरी यो वर्गमा के कस्ता असरहरू पर्छन् ?

भेप सुरु हुँदादेखि नै युवाहरूलाई टार्गेट गरिएको देखिन्छ । अर्को, यसमा गन्ध आउँदैन । सानो हुन्छ, खेलौना जस्तो । देखिँदा पनि देखिँदैन । कति त भेप हो भन्ने पनि थाहा नहुने हुन्छ । अहिले १० वर्षकै बालबालिकाहरूले पनि प्रयोग गर्ने गरेको देखेको छु । उनीहरूको राम्ररी विकास भइसकेको हुँदैन । भेप जस्तो केमिकल प्रयोग गर्यो भने उनीहरूको विकासमा पनि हानि हुन्छ । जति सानै उमेरमा प्रयोग सुरु गर्यो, ल त त्यति नै लामो समय बस्ने भयो । चुरोट नखाएकाहरूले पनि धेरै अघिबाट भेपको प्रयोग सुरु गरेका छन् । भेप एकपटक ट्राइ गर्ने १५ देखि २० प्रतिशतले नियमित खान थालेको देखिएको छ । वयस्क बिरामीहरू मसँग आउनुहुन्छ । चुरोट छोड्न स्विच गरेको भन्नु हुन्छ । तर के देखियो भने उहाँहरू एउटा लतबाट अर्को लतमा लाग्नुभयो । धेरैले चुरोट त छोड्न सक्नुभएन नै भेपको लतमा पनि लाग्नुभयो । नेपालमा अझ केही रेगुलेसन छैन । कस्तो भेप भित्रिरहेको छ, के छ त्यसमा थाहा छैन । के छ भन्ने नै थाहा नभइ कसरी असर गर्छ, थाहा हुने नै भएन । फेरि उमेर पनि नहेरी बिक्री हुने गरिएको देखियो । 

के यसको सेकेन्ड ह्यान्ड इफेक्ट पनि हुन सक्छ ?

सेकेन्ड ह्यान्ड इफेक्ट त मलाई थाहा छैन त्यति । अध्ययन पनि धेरै भएको छैन । यसबाट धूवाँ नभएर बाफ आउने हो । यसमा टोब्याको जस्तो जलाउन पर्दैन, त्यसैले त्यति असर नगर्ला भन्ने बुझाइ हो । 

के भेपले चुरोट छोड्न सहयोग गर्छ ?

भेपले चुरोट छोड्न मद्दत गर्छ भन्नु भ्रम मात्र हो ।

भेपले चुरोट छोड्न सघाउँछ भन्ने कन्सेप्ट कसरी आयो ?

पहिला जब भेपको कन्सेप्ट आयो, यो औषधि सेवन गर्ने भनेर बनाइएको थियो । जुन कमर्सियलाइज भएन । पछि चाहिँ चुरोट छोड्न हेल्प हुन्छ भनेर भनियो । यत्रो समयसम्म हामीले चुरोटले शतप्रतिशत हानि गर्छ भनेर पत्ता लगाई सक्यौँ । त्यो त्यसमा भएको हजारौँ केमिकलले भएको हो भन्ने पुष्टि भइसकेको छ । चुरोट छोड्न नसक्नुको कारण त्यसमा भएका निकोटिनको लत हो । त्यो भेपमा नहुँदा छोड्न सकिन्छ भन्ने कन्सेप्टले आएको देखिन्छ । निकोटिनले के गर्छ भने प्रयोग गरेको ६ सेकेन्डमा नै ब्रेनमा पुग्छ, अनि आनन्दको महसुस गराउँछ । अनि बिस्तारै थोरैले नपुग्ने हुन्छ । त्यही भएर मात्रा बढाउँदै जान पर्ने हुन्छ । त्यही प्रोसेस भेपमा पनि हुन्छ । सुरुमा दुई-तीन पफ तानेर पुग्थ्यो भने बिस्तारै दिनैभरि तान्न पर्ने पनि हुन्छ । भेप सजिलो हुन्छ प्रयोग गर्न, जहाँ र जसरी खाए पनि हुन्छ । बरू यसैको लत लागेको पाइयो । तर चुरोट छोड्न सघाएन । 

यसरी चुरोट छोड्न भेप प्रयोग गर्नेहरूलाई थप के समस्या आउन सक्छ ?

मसँग नै बिरामीहरू आउनुभएको छ, चुरोट खान मिल्ने ठाउँमा चुरोट खाने र नमिल्ने ठाउँमा भेपको प्रयोग गर्ने भनेर । कतिलाई यसले हानि गर्छ भन्ने पनि थाहा छैन । यो हार्मलेस छ भन्ने बुझाइ छ । 

यसमा फ्लेभर भएकाले पनि लत बढी लाग्छ । जस्तै पानी मात्र पिउनभन्दा पानीमा फ्लेभर छ भने त्यो मिठो लाग्छ । त्यस्तै हो भेप । पहिलो पटक खानेहरूलाई कस्तो मिठो फ्लेभर भन्ने हुन्छ । फ्लेभरले युवालाई नै टार्गेट गर्‍या हो । 

विशेष गरी हामीले चुरोटसँग भेपलाई तुलना गर्नु जरुरी छैन । पक्कै पनि यसको हानि गर्ने तरिका फरक होला । समस्या सुरु भएको नै यो चुरोटभन्दा राम्रो छ भनेर प्रोमोट गरिएकाले हो । नराम्रा कुराहरूमध्ये कुन कम नराम्रो भन्ने नै हुँदैन ।

युवामा बढ्दै भेप को कुलत 

कान्तिपुर

Link copied successfully