तातोपानी नाकाबाट काठमाडौं जाँदै गरेको कन्टेनरबाट साढे २५ लाख बराबरको भेप  र अन्य सामान बरामद, चालक पक्राउ [अपडेट]

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Vape and other goods worth 2.5 million were seized from a container going to Kathmandu from Tatopani border, driver arrested [Update]

सिन्धुपाल्चोक — चीनको तातोपानी नाका हुँदै काठमाडौं गइरहेका दुई मालवाहक ट्रकबाट बाह्रबिसे र लामोसाँघुमा गरी २१ लाख रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) तथा केही मोबाइल प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बाह्रबिसे र सशस्त्र प्रहरी बल लामोसाँघुले बुधबार नियमित जाँचका क्रममा सिटमुनी लुकाइएका साना र ठूला आकारका भेपसहित अन्य सामग्री फेला पारेका हुन्।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार तातोपानी नाकाबाट भन्सार प्रक्रिया पूरा गरी काठमाडौं गइरहेका दुई कन्टेनरमध्ये ना ६ ख ५४९६ नम्बरको कन्टेनरलाई बाह्रबिसेको खुर्सानीबारी बजारमा जाँच गरिएको थियो।

सो क्रममा सिटमुनी लुकाइएका ७४० वटा भेप र तीन वटा मोबाइल फेला परेको पाण्डेले बताए। प्रारम्भिक अनुमानअनुसार बरामद भेप झन्डै २२ लाख २० हजार रुपैयाँ बराबरको रहेको छ। चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जम्मा २५ लाख ५२ हजार बराबरको सामान रहेको तथ्यांक भर्खर प्रहरीले सार्वजनिक गरेको छ ।

त्यसैगरी, बलेफी गाउँपालिका–१, लामोसाँघुस्थित सशस्त्र प्रहरी बल चेकपोस्टले ना ६ ख ६६४७ नम्बरको ट्रकबाट १५५ वटा भेप, मोबाइल तथा नगद गरी ३ लाख ५२ हजार रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ। चालक भोटेकोशी गाउँपालिका–२ दशकिलो निवासी प्रविन खत्री हुन् ।

त्यस्तै, लामोसाँघुमा पक्राउ परेका ट्रकका चालक भोटेकोशी गाउँपालिका–४ निवासी २८ वर्षीय अजय श्रेष्ठ र ट्रकमा सवार २४ वर्षीय विश्वास श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सामग्री राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन, ललितपुर पठाइएको सशस्त्र प्रहरी बल लामोसाँघुले जनाएको छ।

कान्तिपुर

Link copied successfully