२५ करोडभन्दा बढी राजस्व चुहावटको अभियोगमा ६ जना प्रतिवादीविरुद्ध तीन मुद्दा
काठमाडौँ — मुस्ताङको कोरोला नाकाबाट भित्रिएको १९ हजार थान विद्युतीय चुरोट (भेप) का मुख्य अभियुक्त पत्ता लगाउन नसकेपछि गाडी मालिक र कार्यालय सहयोगीविरुद्ध मुद्दा चलाइएको छ । गत पुसमा मुस्ताङबाट बरामद भेप चोरी पैठारी गर्ने मुख्य अभियुक्त पहिचान गर्न नसकेपछि राजस्व अनुसन्धान विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
भेपसहित दक्षिण नाकाबाट बरामद कपडासहितका मालवस्तु चोरी पैठारी गरेर राजस्व छली गरेको अभियोगमा २५ करोड ८३ लाख ९२ हजार असुली र प्रतिवादीलाई जेल सजायसमेतको मागदाबीसहित पाटन, विराटनगर र जनकपुर उच्च अदालतमा ६ जना प्रतिवादीविरुद्ध छुट्टाछुट्टै तीनवटा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
लामो समयदेखि अड्किएका चुहावटका घटनाको अनुसन्धान गरेर मुद्दा दायर गरिएको विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले बताए । विभाग आफैं, इटहरी र पथलैया कार्यालयले गरेको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो ।
मुस्ताङबाट भित्रिएको भेप ढुवानीमा प्रयोग गरेको गाडी तथा चालक एउटै भएको र उनले आफैंले ल्याएको स्विकारेका कारण मुद्दा गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए । भेप पैठारीमा थप व्यक्तिको संलग्नताको शंकामा अनुन्धान गरे पनि चालकले नै कोरोला नाकाबाट आफैंले ल्याएको बताएका छन् । विभागले भेपको पैठारीकर्ता भेटेको छैन ।
कोरोला नाकामा करारमा कार्यरत कार्यालय सहयोगी र व्यापारीलाई प्रतिवादी बनाएर पाटन उच्च अदालतमा मुद्दा चलाइएको अनुसन्धान विभागको भनाइ छ । कोरोलाबाट जोमसोम हुँदै बेनीतर्फ लैजान लागिएको भेपको गाडी घरपझोङ गाउँपालिका–४ को चेक पोस्ट नजिकैबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो । उक्त भेप पैठारीमा संलग्न रहेको आरोपमा गाडी चालक घ्याम्चो गुरुङ र भन्सारमा करारमा कार्यरत कार्यालय सहयोगी टासी नोर्बु गुरुङविरुद्ध मुद्दा दायर गरिएको छ ।
भेप चोरी पैठारीमा चालक घ्याम्चो र टासी नुर्बुबाट ४ करोड ६६ लाख १२ हजारको बिगो र शतप्रतिशत जरिवानासमेत कुल ९ करोड ३२ लाख २४ हजार ९२ रुपैयाँ असुल्नुपर्ने दाबीसहित मुद्दा दायर गरिएको हो । उनीहरूलाई जेल सजायसमेत माग गरिएको विभागले जनाएको छ । चालक घ्याम्चोले चीन गएर गाडीमा भेप लोड गरेर ल्याएको बयान दिएका छन् । तर सामानको मालिक भने बताएका छैनन् ।
चोरी पैठारीमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै कार्यालय सहयोगी टासी नुर्बुलाई मुख्य अभियुक्तलाई हुनेभन्दा आधा सजाय हुने माग दाबी गरिएको छ । भेप लोड गरिएको ग १ ख ६९९९ को सवारी पनि जफत गर्नुपर्ने माग छ । मुस्ताङ प्रहरीले भेप बरामद गरेपछि भन्सारका कार्यालय सहयोगी टासी भन्सारबाट आयात भएका अन्य सामानको राजस्व रकमसमेत लिएर फरार रहेको विभाग स्रोतको भनाइ छ । चालक घ्याम्चो भने हिरासतमा छन् ।
कोरोला नाकामा कर्मचारी र प्रहरी बस्ने संरचना निर्माण नभएकाले चोरी पैठारीमा सहज भएको स्थानीय प्रशासनको भनाइ छ । ‘राजस्व तिरेको रसिद र रकमसमेत लिएर कार्यालय सहयोगी टासी फरार भएको देखिन्छ,’ स्रोतले भन्यो ।
विभागले दक्षिणी नाका झापा नाकाबाट ठूलो मात्रामा तयारी कपडा चोरी पैठारी गरेको अभियोगमा कृष्ण स्टोरका प्रोपाइटर सोनु कानुविरुद्ध ७ करोड २९ लाख २३ हजार ३ सय ३० बिगो र शतप्रतिशत जरिवानासमेत गरी १४ करोड ५८ लाख ४६ हजार ६ सय ६० मागदाबीसहित विराटनगरको अस्थायी उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।
अनुसन्धान विभागको अनुमतिमा इटहरी कार्यालयले जेलसजायसमेत माग गर्दै सोनुविरुद्ध मुद्दा दायर गरिएको हो । गत असोजमा झापाको भद्रपुरस्थित स्टोरमा खानतलासी गर्दा सोनुले चोरी पैठारी गरेको, भन्सार महसुल, भ्याट र आयकर नतिरेको देखिएपछि इटहरी कार्यालयले मुद्दा दायर गरेको हो ।
स्कुटरमा फल्स बटम बनाएर ६० किलो ८० ग्राम चाँदी चोरी पैठारी गरेको अभियोगमा ९६ लाख ६० हजार ८ सय ६४ रुपैयाँ बिगो र शतप्रतिशत जरिवानासमेत १ करोड ९३ लाख २१ हजार ७ सय २८ असुल्नुपर्ने मागदाबीसहित तीन जनाविरुद्ध जनकपुर अस्थायी इजालसमा मुद्दा दायर गरिएको छ ।
मुद्दामा बारा कलैया उपमहानगरपालिका–५ का कर्मा साह सोनारलाई मुख्य अभियुक्त बनाइएको छ । चोरी पैठारीमा वीरगन्ज महानगरपालिका–२८ का शंकर शाह सोनार भनिने शंकरप्रसाद सोनार, कलैया उपमहानगरपालिका–५ बाराकी इन्द्रकुमारी परियारलाई मुख्य अभियुक्तलाई हुनेभन्दा आधा सजाय माग गरिएको छ ।
