सुरक्षा व्यवस्था :  २५ वर्षअघि र अहिलेको त्रिभुवन विमानस्थल

पुस १०, २०८१

सुरज कुँवर

Security arrangements: Tribhuvan Airport 25 years ago and now

काठमाडौँ — २५ वर्षअघि इण्डियन एयरलायन्सको जहाज अपहरण भएको घटना सम्झिने धेरैको मनमा एउटै प्रश्न छ, ‍के त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अहिले सुध्रिएको छ ?  आजको रिपोर्टिङमा हामी त्यो घटनापछि विमानस्थल सुरक्षामा के कस्ता बदलाव आए, यस्तो बदलावबाट सुरक्षाको प्रबन्ध कस्तो भयो र के हामी विमानस्थल सुरक्षामा ढुक्क हुने अवस्थामा छौं त भन्नेबारे बुझाउनेछौँ ।

इण्डियन एयरलायन्सको जहाज अपहरणपछि काठमाडौं विमानस्थलको सुरक्षा जाँचको अवस्थाबारे भारतलगायत थुप्रै मुलुकले आलोचना गरे । 

अहिले काठमाडौंमा दैनिक ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । यीमध्ये तीनवटा भारतीय वायुसेवा कम्पनीले आफ्नो उडानका यात्रुलाई जहाज चढ्नुअघि अन्तिम विन्दुमा ‘स्क्रिन’ गर्छन् । काठमाडौं विमानस्थलका उच्च अधिकारीहरुका अनुसार भारतले २०५७ जेठदेखि आफ्ना जहाजमा सादा पोसाकका कमाण्डोलाई हरेक उडानमा पठाउँदै आएको छ ।

हतियार बोकेर आउने उनीहरु यात्रुका रुपमा जहाजमा आउँछन् र फर्किन्छन् । यसको जानकारी हरेक उडानका कप्तानलाई मात्रै हुने गरेको छ । यो सूचना नेपालको जानकारीमा छ । तर, हरेक उडानमा क्रु मेम्बरका रूपमा आउने उनीहरुबारे हरेक दिन छुट्टै विवरण विमानस्थललाई दिइरहनु पर्दैन । विमानस्थल सुरक्षा स्रोतका अनुसार अहिले चिनियाँ वायुसेवा कम्पनीहरुले पनि जहाजमा चालक दलका साथ कमाण्डो पठाउने गरेका छन्।

छानबिन समितिले सुरक्षा सुधारमा के भनेको थियो ? 

इण्डियन एयरलायन्स जहाज अपहरणबारे तत्कालीन सरकारले गठन गरेको पाँच सदस्यीय उच्चस्तरीय छानबिन समितिलाई त्यसताका तत्काल र दीर्घकालका रूपमा गर्नुपर्ने सुधारबारे सुझाउन मुख्य जिम्मेवारी दिइएको थियो । 

अवकाश प्राप्त प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको नेतृत्वको समितिमा रहेका तत्कालीन गृहसचिव खेमराज रेग्मीका अनुसार ‘छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, हवाई सुरक्षासम्बन्धी सम्पूर्ण व्यवस्था, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत निकायहरूको संरचना र औचित्य आदिका बारेमा पुनरावलोकन गरेर’ तत्काल तथा दीर्घकालीन रूपमा गर्नुपर्ने सुधारहरूबारे सुझाव दिनुपर्ने जिम्मेवारी दिइएको थियो । 

त्यसताका तत्काल लागू गर्नुपर्नेमा टिकट भएका र प्रवेश अनुमति पत्र भएका व्यक्तिलाई मात्रै चेकइन काउन्टरसम्म जान दिनुपर्ने, विमानस्थलका सबै प्रवेशद्वार तथा प्रस्थान कक्षमा वाकीटाकीसहित सुरक्षाकर्मी राखिनुपर्ने, उनीहरूको निरन्तर रक्षा कमाण्ड पोस्ट वा कन्ट्रोल सेक्युरिटी डेस्कसँग निरन्तर सम्पर्क हुनुपर्ने सुझाव थियो । 

Security arrangements: Tribhuvan Airport 25 years ago and now

त्यस्तै, भीआईपी प्रवेशद्वार सधैं बन्द हुनुपर्ने, भीआईपीलाई सुरक्षा दिएर भीआईपी कक्षमा सुरक्षाकर्मीले लैजानुपर्ने, उनीहरूबारे टर्मिनल डेस्कमा जानकारी अनिवार्य गराउनुपर्ने, साधारण आगन्तुकलाई भीआईपी कक्षमा प्रवेश अनुमति दिन नहुने, पास आवश्यकताका आधारमा मात्रै वितरण हुनुपर्ने, ड्युटीमा नभएका कर्मचारीलाई यात्रुहरू राखिने स्टेरायल हलमा जान निरुत्साहित गर्नुपर्ने, भिजिटर पास लिनेको विस्तृत विवरण रेकर्डमा राखिनुपर्ने पनि उल्लेख थियो ।

समितिले  डिपार्चर हलमा कम्तीमा चारवटा सामान जाँच्ने आधुनिक एक्सरे मेसिन हुनुपर्ने, आगमन कक्षमा पनि तीनवटा एक्सरे मेसिन हुनुपर्ने, लगेजहरू कन्भेयर बेल्टमा राखिनुअघि एयर साइडमा एक्सरे मेसिन जडान गरेर जाँचिनुपर्ने, हाते झोला जाँचका लागि आधुनिक जाँच उपकरण हुनुपर्ने, ट्रान्जिट र भीआईपी कक्षमा पनि एक्सरे मेसिन जडान हुनुपर्ने, डिपार्चर लाउन्ज प्रवेशअगाडि लगायतका विभिन्न ७ वटा संवेदनशील स्थानमा वाक थ्रु मेटल डिटेक्टरसहित स्क्रिनिङ बिन्दु हुनुपर्ने सुझाव दिएको थियो । 

त्यस्तै आधुनिक प्रविधिको ह्यान्ड हेल्ड मेटल डिटेक्टरहरू प्रचुर मात्रामा उपलब्ध गराउँदै डिपार्चर लाउन्ज र ट्रान्जिट प्वाइन्टको सुरक्षा जाँच गर्ने स्थलहरूमा प्रयोग हुनुपर्ने, वायुयानको कार्गो होल्ड तथा एयरक्राफ्ट क्याबिनमा जाने वायुसेवाका कर्मचारीहरू तथा क्याटरिङ कर्मचारीहरूको यी उपकरणको सहायतामा पूर्ण जाँच हुनुपर्ने पनि थियो ।

सुरक्षा उपकरणहरूको कम्पनीको सुझाव अनुसार पर्याप्त मात्रामा सुरक्षाकर्मीलाई तालिम दिनुपर्ने, यस्तो तालिम लिएका कर्मचारीको कम्तीमा एक वर्षसम्म सरुवा गर्न नपाइने, ब्यागेजमा लगाइने सेक्युरिटी स्टिकर प्रथा बन्द गरी भरपर्दो सेक्युरिटी स्ट्रयाप बाइन्डिङको व्यवस्था गर्नुपर्ने, यसका लागि कम्तीमा चारवटा बाइन्डिङ मेसिन र यथेष्ट सेक्युरिटी स्ट्रयाप उपलब्ध हुनुपर्ने, विमानस्थलको ब्यागेज, कार्गो बिल्डअप क्षेत्रमा कुकुरको सहायतले हुने जाँच अत्यन्त जरुरी भएकाले बम निष्क्रिय गर्ने विशेषज्ञ युनिट अविलम्ब सक्रिय हुनुपर्ने समितिको सुझाव थियो ।

समितिले  बोर्डिङ पास कम्प्युटर प्रणालीबाट उपलब्ध हुनुपर्ने र त्यसमा अनिवार्य यात्रुको नाम उल्लेख हुनुपर्ने, अध्यागमनमा कार्यरत कर्मचारीले अनिवार्य औपचारिक तालिम लिएको हुनुपर्ने, अध्यागमन डेस्कअगाडि भीड हुन नदिन आवश्यक संकेत चिन्ह, गाइडको व्यवस्था हुनुपर्ने, राहदानी निरीक्षण कम्प्युटर तथा अन्य आवश्यक अल्ट्रा भ्वाइलेट लाइट जस्ता आधुनिक उपकरणहरूको सहायताबाट संचालन हुनुपर्ने सुझाव पनि दिएको थियो ।

ड्युटी फ्रि सप, स्न्याक्स बार, कन्फेक्सनरी सप, एक्जुकेटिभ लाउन्जलाई यात्रु रहने अन्तिम स्टेरायल हलबाट सार्नुपर्ने, आगमन क्षेत्रतर्फ रहेका मुद्रा सटही र ड्युटी फ्रि सपमा रहने कर्मचारीलाई प्रस्थान कक्षतर्फ जाने अनुमति दिन नहुने, बोर्डिङ पास जाँच गर्दा अध्यागमनको जाँच छाप भए/नभएको हेरी सुरक्षाकर्मीले जाँच छाप लगाउने, सुरक्षाकर्मी र अध्यागमनको निरीक्षण भए/नभएको निरीक्षण गरेर वायुसेवाका कर्मचारीले बोर्डिङ पासको अर्धकट्टी लिई यात्रुलाई वायुयानतर्फ लैजाने व्यवस्था गर्नुपर्ने सुझाव पनि थियो ।

हाते झोलामा ह्याण्ड ब्याग ट्याग अनिवार्य लगाउनुपर्ने, प्रस्थान कक्ष र आगमन कक्षका यात्रुहरूलाई मिसिन नदिन वाक–वेमा पर्खाल लगाउनुपर्ने, सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने, यात्रुले प्रयोग गर्ने वाक–वेमा कन्भेयर बेल्ट आदिबाट आवतजावत गर्ने बाटो सदाका लागि बन्द गर्नुपर्ने, वाक–वेको दुवैतर्फ पारदर्शी छेकवार लगाउनुपर्ने, भन्सारमा सामान छुटाउन आउने व्यापारी लगायतलाई आगमन कक्षमा आउन नदिई भन्सार कार्यालयले अन्यत्रै वैकल्पिक व्यवस्था गर्नुपर्ने समितिको सुझावमा छ ।

समितिको प्रतिवदेनका अनुसार विमानस्थलका सीसीटीभी क्यामरालाई दुरुस्त र चालु राख्नुपर्ने, महत्त्वपूर्ण र संवेदनशील क्षेत्रका गतिविधिहरू सीसीटीभीमार्फत रेकर्ड भइरहने व्यवस्था गर्नुपर्ने, विमानस्थलको ल्याण्डसाइड र एयर साइडमा जाने सवारीसाधनको अनिवार्य विस्तृत जाँच गर्नुपर्ने, त्यस्ता गाडी र यात्रुको पूर्ण विवरणसहित लगबुक राख्नुपर्ने, भत्केका पर्खाल, चेनलिक फेन्स, प्रवेशद्वारहरू, सुरक्षा चेकपोस्ट आदि अविलम्ब मर्मतसम्भार गर्नुपर्ने सुझाव थियो ।

विमानस्थल क्षेत्रभित्र निश्चित दूरीहरूमा सर्च लाइटसहित सेक्युरिटी वाच टावर निर्माण गरिनुपर्ने, स्टेरायल कक्षमा जानुपर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई अनिवार्य जाँच गरेर पठाउनुपर्ने, कार्गो सामग्री जहाजमा राख्नुअघि अनिवार्य स्क्रिनिङ गरिनुपर्ने, यसका लागि दुइटा ठूला एक्सरे मेसिन विमानस्थल क्षेत्रमा जडान गरिनुपर्ने, विमानस्थलमा खटिने सुरक्षाकर्मीले अनिवार्य हवाई सुरक्षाबारे तालिम र हरेक ६ महिनामा रिफ्रेसर तालिम लिएको हुनुपर्ने, सुरक्षाकर्मीको ड्युटी समय पुनरावलोकन हुनुपर्ने उल्लेख थियो ।

Security arrangements: Tribhuvan Airport 25 years ago and now

समितिले दिएको सुझावअनुसार ट्याक्सी काउन्टर, पर्यटक सूचना केन्द्र लगायतका निजी क्षेत्रका काउन्टरलाई उपयुक्त स्थानमा सारी सञ्चालन गर्नुपर्ने, कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्ने, सबै वायुसेवा कम्पनीले अपरेटर सेक्युरिटी कार्यक्रम अनिवार्य विमानस्थल कार्यालयमा पेस गर्नुपर्ने, निषेधित वस्तुहरू यात्रुहरूले छाडे/नछाडेको निरीक्षण गरी विमानस्थल कार्यालयलाई जानकारी दिनुपर्ने उल्लेख थियो ।

विमानस्थलमा रहेका राजश्व, राष्ट्रिय अनुसन्धान, विशेष प्रहरी, लागू औषध नियन्त्रण आदि अनुगमन गर्ने निकायले राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिमा आफ्ना कार्यको औचित्य विवरण पेस गरेर सकेसम्म एकीकृत रूपमा एकै थलोबाट काम गर्नुपर्ने, विमानस्थलको सुरक्षा प्रणाली चुस्त बनाउन प्रत्येक तीन महिनामा कम्तीमा एकपटक नक्कली घटना सिर्जना गरेर अभ्यास गर्नुपर्ने आदि तत्काल गर्नुपर्ने सुझावका रूपमा भनिएको छ । 

सरकारलाई आयोगले दिएको होमवर्क 

त्यसताका ४९ वटा विभिन्न निकाय रहेको विमानस्थलमा आयोगले दीर्घकालीन सुझावका रूपमा त्यहाँ आवश्यक नरहेका निकायलाई हटाउनुपर्ने, त्यहाँ आवश्यक पर्ने निकायहरूलाई एकीकृत कमाण्ड संरचनाअन्तर्गत नागरिक उड्डयन कार्यालयको व्यवस्थापनमा नियन्त्रण हुने गरी परिचालन गर्नुपर्ने उल्लेख थियो ।

त्यसबेला निर्माणका क्रममा रहेको डिपार्चर हललाई पूर्णयता स्टेरायल डिपार्चर हल बनाउनुपर्ने, विमानस्थलको घेराबाहिर र भित्र पेरिमिटर सडक निर्माण गर्नुपर्ने, विमानस्थलका दक्षिण-पूर्वका निजी जग्गा तथा बस्ती अविलम्ब अधिग्रहण गर्नुपर्ने, विमानस्थलको पूर्ण सुरक्षाका लागि विशेषज्ञ भएको विमानस्थल सुरक्षा फोर्स स्थापना र सञ्चालन गर्नुपर्ने भनिएको थियो ।

हवाईसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूको स्थिति सुपरीवेक्षण तथा अनुगमन गर्न अधिकारसम्पन्न हवाई सुरक्षा अनुगमन इकाइ स्थापना गर्नुपर्ने आदि सुझाव दिएको थियो । आयोगले अध्ययनको समय छोटो भएकाले पर्यटनमन्त्री अध्यक्ष रहने राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समिति र नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिले विस्तृत अध्ययन गरी संयुक्त निर्णयबाट आवश्यक निकायबाहेकलाई विमानस्थलबाट विस्थापित गर्न पनि निर्देशन दिएको थियो । 

समितिले विमानस्थलमा तत्कालीन सुरक्षा व्यवस्था अन्तर्राष्ट्रिय महासन्धि तथा त्यसलाई ध्यानमा राखी निर्मित नेपाल कानुनबमोजिम रहेको देखिए तापनि तदनुरूप प्रक्रियागत रूपमा सम्पादन हुनुपर्ने कार्यमा शिथिलता रहेको औंल्याएको थियो । 

प्रतिवेदनले सुरक्षा कार्यमा शिथिलता दिने ११ वटा तत्त्वहरू रहेको भनी लखेको थियो । ‘सुरक्षाकर्मीको ध्यान सुरक्षामा भन्दा बढी व्यक्तिगत फाइदामा केन्द्रित हुनु, सुरक्षाकर्मीको संख्या आवश्यकताभन्दा कम हुनु, ज्ञान, कौशल र सीप चाहिँदो मात्रामा नहुनु, हरेक दिन नयाँ नयाँ ठाउँमा ड्युटीमा जानुपर्ने, सुरक्षा जाँच गर्ने उपकरण सञ्चालन गर्ने सीप र जाँच गर्नका लागि आँखा अभ्यस्त नहुनु, सुरक्षा जाँच गर्ने उपकरणहरू आधुनिक र भरपर्दो नहुनु, विमानस्थल टर्मिनल भवन निर्माणधीन अवस्थामा हुनु, सुरक्षाकर्मीमा तालिम र रिहर्सलको व्यवस्थाको अभाव हुनु, सुपरिवेक्षकबाट रेखदेख र नियन्त्रण नहुनु, सुरक्षाकर्मीतर्फ प्रहरीको ड्युटीको समय ज्यादै लामो हुनु र विमानस्थल व्यवस्थापनबाट निर्धारित सुरक्षा प्रणाली प्रभावकारी तवरले कार्यान्वयन गर्न नसक्नु हो ।’

आयोगले त्यस समयमा नेपालका छिमेकी मुलुकहरूमा द्रूत रूपमा तनावपूर्ण परिस्थितिको पृष्ठभूमि रहेकामा नेपालको सुरक्षा संयन्त्रले सामान्य थ्रेटको अनुमानलाई मध्यनजर राखेर सूचना व्यवस्था नगरेको औंल्याएको छ । 

‘सुरक्षा व्यवस्थाका लागि प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सूचना प्रवाहको आवश्यकता पर्दछ,’ प्रतिवेदनको सारमा भनिएको छ, ‘विमानस्थलजस्तो महत्त्वपूर्ण संस्थाहरूको सुरक्षा व्यवस्थाका लागि निर्दिष्ट मापदण्डहरू छन् । त्यसैका आधारमा सुरक्षाको व्यवस्था गरिएको हुन्छ । तर कुनै पनि सुरक्षा व्यवस्था समयसापेक्ष सजग हुनु पर्दछ । सुरक्षा व्यवस्था अद्यावधिक गर्न समयभित्र तथ्य सूचना संग्रह र प्रवाह गर्न यससम्बन्धी संस्थालाई प्रभावकारी बनाउन र परिचालन गर्न नितान्त आवश्यक छ ।’

आयोगले प्रतिवेदनमा दिइएका सुरक्षासम्बन्धी अल्पकालीन र दीर्घकालीन सुझावहरूले विमान अपहरण लगायत त्यसताका देखिएका कमजोरीलाई निराकरण गर्ने दाबी गरेको थियो । 

अहिले कस्तो छ विमानस्थल ?

Security arrangements: Tribhuvan Airport 25 years ago and now

४ हजार ९ सय ४ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौं विमानस्थललाई अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसारको दोहोरो चेन–लिंक फेन्सिङले घेरिएको छ । जहाज अपहरणको घटना हुँदा काठमाडौं विमानस्थल कतै एकसरो त कतै दोहोरो काँडेतारले घेरिएको थियो । 

दुई तहमा घेराबन्दीमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको सबैभन्दा ठूलो घेराबन्दीभित्र रहेको निकाय हो । यसको वरिपरिको पेरिमिटर सडकको फन्को १४ दशमलव ६ किलोमिटर रहेको छ । 

विमानस्थल कार्यालयका अनुसार अहिले यहाँभित्र सरकारी र निजी, वायुसेवा कम्पनी, सुरक्षा निकाय, ट्याक्सी गरेर १ सय ७० वटा निकाय छन् । २४ घन्टामा यी सबै निकायका ५ हजार कर्मचारीले तीन सिफ्टमा काम गर्छन् । 

विमानस्थल अपहरण हुँदा हस्तलिखित पास, परिचयपत्रको प्रयोग हुन्थ्यो । अहिले फोटोसहितको रेडियो फ्रिक्वाइन्सियुक्त (आरएफआईडी) कार्डको प्रयोग हुन्छ । यस्ता ८ हजार ४ सय वटा डिजिटल कार्ड विमानस्थल कार्यालयले वितरण गरेको छ । प्रतिकार्ड ७ सय २५ रुपैयाँमा खरिद भएको यस्तो कार्ड त्यहाँ कार्यरत सबैले अनिवार्य प्रयोग गरेकै हुनुपर्छ । 

अहिले सबैभन्दा धेरै आरएफआईडी कार्ड प्रयोग गर्नेमा बुद्ध एयर र नेपाल वायुसेवा निगम ११/११ सय रहेको छ । त्यसपछि नागरिक उड्डयन प्राधिकरणले आफ्ना ७ सय कर्मचारीलाई यो कार्ड वितरण गरेको छ । यसपछि नेपाल प्रहरीले ६ सय हाराहारी आरएफआईडी कार्ड प्रयोग गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले ६ सय हाराहारी प्रहरीको दरबन्दी विमानस्थलमा छ । २५ वर्षअघि विमानस्थलको प्रहरी उपरीक्षकका रूपमा  त्यहाँ प्रमुख रहेका अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक विनोद सिंहका अनुसार त्यसताका १ सय हाराहारी प्रहरी दरबन्दी थियो । 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अहिले बोर्डिङपासदेखि राहदानीसम्म सबै डिजिटल छ । अन्तर्राष्ट्रिय उडानमा रहेका हरेक यात्रुको विशेष पहिचान गर्ने सुरक्षा उपकरण वायोमेट्रिक अनिवार्य छ । यात्रुहरूको औंलाका छाप तथा अनुहारको रेकर्ड रहन्छ । २५ वर्षअघि हस्तलिखित राहदानी, हातैले लेखेर जारी हुने बोर्डिङ पासको प्रयोग हुने गर्दथ्यो । अहिले त्यहाँभित्र गुड्ने गाडीका लागि बेग्लै पास जारी हुन्छ । त्यही परिसरमा रहेको आयल निगमको डिपोबाट जहाजका लागि इन्धन बोकेर आउने ट्यांकर, चालक, कर्मचारीको सुरक्षाकर्मीले जाँच गरेर मात्रै एप्रोनमा पस्न दिन्छन् । त्यस्तै निस्किँदा पनि जाँच गरेर मात्रै छाडिन्छ । 

त्यसबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ वटा सीसीटीभी क्यामरा थिए । तीमध्ये चालु अवस्थामा ४ वटा क्यामरामात्रै थिए । तिनले  ४ सय ८० घन्टासम्म भिडियो रेकर्ड गर्थे । अहिले विमानस्थलभित्र ५ सय ८२ वटा रंगीन सीसीटीभी क्यामरा छन् । तिनले ९० दिनसम्मको भिडियो रेकर्ड गर्छन् । क्यामराको निगरानी गर्न प्रहरीको बेग्लै युनिट छ । 

पहिले काठमाडौं विमानस्थलमा दुइटामात्रै एक्सरे मेसिन थिए । कार्गो र आन्तरिक टर्मिनलमा एक्सरे मेसिनबिना सामान र यात्रु जाँच हुन्थ्यो । अहिले विमानस्थलभित्र ३० वटा एक्सरे मेसिन छन् । 

त्यसबेला प्रहरीले यात्रुहरूको सरसर्ती निरीक्षण मात्रै गर्थे । प्रस्थान कक्ष जानुअघि यात्रुहरू तथा हातेझोला जाँचका लागि वाकथ्रु हाते मेटल डिटेक्टर उपकरण पनि थिएन । अहिले २० वटा वाकथ्रु मेटल डिटेक्टर छन् । प्रहरीलाई ७६ वटा ह्याण्ड हेल्ड मेटल डिटेक्टर वितरण गरिएको छ । प्रहरीका विमानस्थलभित्र र बाहिर ५० वटा चेकिङ प्वाइन्ट छन् । प्रहरीले तीन सिफ्ट ड्युटी गर्नुपर्छ । प्रहरीकै लागि प्राधिकरणले २ सयवटा आधुनिक रेडियो सेट (वाकीटाकी) खरिद गरेको छ  । अहिलेका रंगीन चित्र देखाउने एक्सरे मेसिनले झोला, लगेजको एकमात्रै होइन, दुवै आयामको जाँच गर्न सक्छन् । लगेजको दुईपटक जाँच हुन्छ । यात्रुको तीनपटक जाँच हुन्छ । विमानस्थलमा खटिने प्रहरीलाई १६ दिने विमानस्थल सुरक्षाबारे भक्तपुरमा रहेको नागरिक उड्डयन एकेडेमीले तालिम दिन्छ । त्यो तालिम नलिएकालाई ड्युटीमा खटाइँदैन । 

Security arrangements: Tribhuvan Airport 25 years ago and now

विमानस्थलमा विस्फोटक परीक्षण गर्ने एक्सप्लोसिभ टेस्ट डिटेक्टर (ईटीडी) प्रविधि छ । यसले धूलो होस् वा तरल पदार्थ- जस्तोसुकै विस्फोटक पदार्थ पनि सूक्ष्म तवरले पहिचान गर्छ । हतियारको कुरा गर्दा नक्कली खेलौना पनि लैजान पाइँदैन । ठूलो हतियार त एक्सरेले देखाइहाल्छ । अहिले यस्तो प्रविधि आएको छ- जसले यात्रुको गोजी होस् वा झोलामा, सुई छ भनेसमेत पत्ता लगाइदिन्छ । प्रहरीबाहेक सेनाको बम डिस्पोजल युनिटको पूर्वी गेटमा छुट्टै कार्यालय रहेको छ । 

अहिलेसम्म पर्यटन मन्त्रालयमा ३२ जना मन्त्री फेरिए । रवीन्द्र अधिकारी र योगेश भट्टराई पर्यटनमन्त्री हुँदा विमानस्थलको सुरक्षाबारे छुट्टै दस्ता बनाउने चर्चा पनि भएको थियो । तर, कानुन बनाउने कुरा चर्चामै सीमित रह्यो । 

विमानस्थलबाट बेलाबखत ठूलो परिणाममा  सुन र लागूऔषध बरामद भएका घटना सार्वजनिक भएका बखत यहाँभित्रको सुरक्षा अवस्था कमजोर रहेको बारे प्रश्न नउठ्ने होइन । तर २५ वर्षअघिको त्यो झस्काइरहने घटना नभएको भए के विमानस्थल सुरक्षामा अहिलेजस्तो सुधार हुन्थ्यो ? अनि, अहिलेको सुरक्षा व्यवस्था चुनौती धान्न पर्याप्त छ त ?

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully