'त्यसबेला सुरक्षा प्रणाली मेनुअल थियो'

पुस ९, २०८१

कान्तिपुर संवाददाता

'Back then the security system was manual'

इण्डियन एयरलायन्सको जहाज अपहरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचको भारतलगायत थुप्रै मुलुकले आलोचना गरे । अहिले पनि तीनवटा भारतीय वायुसेवा कम्पनीले आफ्नो उडानका यात्रुलाई जहाज चढ्नुअघि अन्तिम विन्दुमा ‘स्क्रिनिङ’ गर्छन् ।

२५ वर्षअघि भएको त्यो हवाई अपहरण घटनापछि फेरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारे कान्तिपुर दैनिकका संवददाता सुरज कुँवरले महाप्रबन्धक जगन्नाथ निरौलासँग कुराकानी गरेका छन् ।

आजकै दिन ठीक २५ वर्षअघि भारतीय वायुसेवा इन्डियन एयरलायन्सको विमान अपहरण भएको थियो । त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा के-के सुधार भयो ?  

पहिले धेरै काम मान्छेमा भर पर्नुपर्थ्यो । अहिले प्रविधिको जमाना छ । त्यसबेला १६ सीसी क्यामरा थिए । त्यसबेला एसपीको नेतृत्वमा सय हाराहारी सुरक्षाकर्मी थिए । अहिले डीआईजीको नेतृत्वमा ५ सय हाराहारीमा सुरक्षाकर्मी छन् । 

प्रविधि कस्तो छ ? यात्रु, लगेज र कार्गो जाँच कसरी हुन्छ ?  

आधुनिक एक्स-रे मेसिन, ९० दिनसम्म रेकर्ड रहने सीसी क्यामरा, वाक–थ्रू गेट, फ्ल्याप गेट, मेटल डिटेक्टरजस्ता अत्याधुनिक प्रविधिमा आधारित उपकरण छन् । सुरक्षा निकायको चेक प्वाइन्टमात्रै ५० वटा छन् । ग्राउन्डमा अत्याधुनिक भीएचएफ रेडियो सेट २ सय वटा छन् ।  

कसैले हातहतियार तथा बिस्फोटक पदार्थ लगेको रहेछ भने कसरी पत्ता लाग्छ ?  

विमानस्थलमा विस्फोटक परीक्षण गर्ने एक्सप्लोसिभ टेस्ट डिटेक्टर (ईटीडी) प्रविधि छ । यसले धुलो होस् वा तरल पदार्थ जस्तोसुकै बिस्फोटक पदार्थ सूक्ष्म तबरले पहिचान गर्छ ।

'Back then the security system was manual'जगन्नाथ निरौला महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

हतियारको कुरा गर्दा नक्कली खेलौना पनि लैजान पाइँदैन । ठूलो हतियार त एक्स-रेले देखाइहाल्छ । अहिले यस्तो प्रविधि छ । यात्रुको गोजी होस् वा झोलामा सुईसमेत भए पत्ता लगाइदिन्छ ।  

विमानस्थलमा यात्रु जाँचमा किन ढिलाई हुन्छ ?

अहिले सुरक्षाकर्मीबाट हुने जाँच धेरै छिटो छ । विदेशीहरुले बेला बेला नेपालमा सुरक्षा जाँचमा धेरै लाइन बस्नु पर्दैन । धेरै देशको दाँजोमा छिटो छ भन्छन् । हाम्रोमा लाइन हुने वा ढिलाई हुने अध्यागमनमा हो । त्यहाँ पनि कम्प्युटर डेस्क र जनशक्ति बढ्दै छ । अहिले अध्यागमनमा पनि भिसा, पासपोर्ट र ट्राभल डकुमेन्टको जाँच छिटोछरितो छ । 

यहाँको सुरक्षा अडिट हुन्छ ? कसरी विश्वास गर्ने ?  

हरेक ५ वर्षमा नेपालको यात्रु सुरक्षालगायत ग्राउन्डको अडिट हुन्छ । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्डअनुसार सुरक्षामा विस्तृत संपरीक्षण हुन्छ । नेपालको अडिटको नतिजा अन्तर्राष्ट्रिय स्तरको देखिएको छ । 

सुरक्षाकर्मीहरु सरुवा भइरहन्छन् ? तिनलाई विमानस्थलको सुरक्षाबारे कसरी ज्ञान हुन्छ ? 

काठमाडौं विमानस्थलमा आउने हरेक सुरक्षाकर्मीले १६ दिने तालिम लिनुपर्छ । यो तालिम पनि आईकाओले तोकेको मापदण्ड अनुसारको छ । यस्तो तालिम भक्तपुरमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको एकेडेमी केन्द्रका प्रशिक्षकहरुले दिन्छन् । त्यसबाहेक उनीहरुलाई प्रहरीले पनि आतंकवाद वा अन्य हातहतियार सुरक्षाबारे तालिम दिइएको नै हुन्छ । 

काठमाडौं विमानस्थलमा बेला बेला मान्छे पसेको खबर आउछन्, कसरी ? 

पहिले-पहिले छिटफुट घटना भएका थिए । अहिले त्यस्तो हुँदैन । बाहिर सेना छ । भित्र प्रहरी । अनि चारैतिर सीसीटीभी क्यामेराको निगरानी हुन्छ । अर्को महत्वपूर्ण कुरा हाम्रो विमानस्थल आइकाओले तोकेकै मापदण्डअनुसार घेराबन्दीमा छ । अर्थात् दोहोरो चेनलिंक फेन्सिङ छ । त्यसको उचाईदेखि बनावट सबै अन्तर्राष्ट्रियस्तरकै छ । 

पहिले-पहिले हातले लेखेर पासदेखि बोर्डिङ पाससम्म जारी हुन्थे । अहिले के छ ? 

अहिले बोर्डिङपासदेखि राहदानीसम्म सबै डिजिटल छन् । अन्तर्राष्ट्रिय उडानमा रहेका हरेक यात्रुको विशेष पहिचान गर्ने सुरक्षा उपकरण बायोमेट्रिक अनिवार्य छ । यात्रुहरुको औंलाका छाप तथा अनुहारको रेकर्ड रहन्छ । २५ वर्षअघि हस्त लिखित राहदानी, हातैले लेखेर जारी हुने बोर्डिङ पासको प्रयोग हुने गर्दथ्यो । अब त्यो जमना रहेन ।

विमानस्थलको विशेषगरी डिर्पाचरतर्फको यात्रु सुरक्षा तथा लगेज, कार्गोमा अति ससानो विषय पनि हाम्रो प्रविधिको निगरानीमा हुन्छ ।

‘आईसी–८१४’ अपहरणका २५ वर्ष : नेपाल र भारतले पत्ता लगाउन नसकेको रहस्य

कान्तिपुर संवाददाता

Link copied successfully