इण्डियन एयरलायन्सको जहाज अपहरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचको भारतलगायत थुप्रै मुलुकले आलोचना गरे । अहिले पनि तीनवटा भारतीय वायुसेवा कम्पनीले आफ्नो उडानका यात्रुलाई जहाज चढ्नुअघि अन्तिम विन्दुमा ‘स्क्रिनिङ’ गर्छन् ।
२५ वर्षअघि भएको त्यो हवाई अपहरण घटनापछि फेरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारे कान्तिपुर दैनिकका संवददाता सुरज कुँवरले महाप्रबन्धक जगन्नाथ निरौलासँग कुराकानी गरेका छन् ।
आजकै दिन ठीक २५ वर्षअघि भारतीय वायुसेवा इन्डियन एयरलायन्सको विमान अपहरण भएको थियो । त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा के-के सुधार भयो ?
पहिले धेरै काम मान्छेमा भर पर्नुपर्थ्यो । अहिले प्रविधिको जमाना छ । त्यसबेला १६ सीसी क्यामरा थिए । त्यसबेला एसपीको नेतृत्वमा सय हाराहारी सुरक्षाकर्मी थिए । अहिले डीआईजीको नेतृत्वमा ५ सय हाराहारीमा सुरक्षाकर्मी छन् ।
प्रविधि कस्तो छ ? यात्रु, लगेज र कार्गो जाँच कसरी हुन्छ ?
आधुनिक एक्स-रे मेसिन, ९० दिनसम्म रेकर्ड रहने सीसी क्यामरा, वाक–थ्रू गेट, फ्ल्याप गेट, मेटल डिटेक्टरजस्ता अत्याधुनिक प्रविधिमा आधारित उपकरण छन् । सुरक्षा निकायको चेक प्वाइन्टमात्रै ५० वटा छन् । ग्राउन्डमा अत्याधुनिक भीएचएफ रेडियो सेट २ सय वटा छन् ।
कसैले हातहतियार तथा बिस्फोटक पदार्थ लगेको रहेछ भने कसरी पत्ता लाग्छ ?
विमानस्थलमा विस्फोटक परीक्षण गर्ने एक्सप्लोसिभ टेस्ट डिटेक्टर (ईटीडी) प्रविधि छ । यसले धुलो होस् वा तरल पदार्थ जस्तोसुकै बिस्फोटक पदार्थ सूक्ष्म तबरले पहिचान गर्छ ।
जगन्नाथ निरौला : महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
हतियारको कुरा गर्दा नक्कली खेलौना पनि लैजान पाइँदैन । ठूलो हतियार त एक्स-रेले देखाइहाल्छ । अहिले यस्तो प्रविधि छ । यात्रुको गोजी होस् वा झोलामा सुईसमेत भए पत्ता लगाइदिन्छ ।
विमानस्थलमा यात्रु जाँचमा किन ढिलाई हुन्छ ?
अहिले सुरक्षाकर्मीबाट हुने जाँच धेरै छिटो छ । विदेशीहरुले बेला बेला नेपालमा सुरक्षा जाँचमा धेरै लाइन बस्नु पर्दैन । धेरै देशको दाँजोमा छिटो छ भन्छन् । हाम्रोमा लाइन हुने वा ढिलाई हुने अध्यागमनमा हो । त्यहाँ पनि कम्प्युटर डेस्क र जनशक्ति बढ्दै छ । अहिले अध्यागमनमा पनि भिसा, पासपोर्ट र ट्राभल डकुमेन्टको जाँच छिटोछरितो छ ।
यहाँको सुरक्षा अडिट हुन्छ ? कसरी विश्वास गर्ने ?
हरेक ५ वर्षमा नेपालको यात्रु सुरक्षालगायत ग्राउन्डको अडिट हुन्छ । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्डअनुसार सुरक्षामा विस्तृत संपरीक्षण हुन्छ । नेपालको अडिटको नतिजा अन्तर्राष्ट्रिय स्तरको देखिएको छ ।
सुरक्षाकर्मीहरु सरुवा भइरहन्छन् ? तिनलाई विमानस्थलको सुरक्षाबारे कसरी ज्ञान हुन्छ ?
काठमाडौं विमानस्थलमा आउने हरेक सुरक्षाकर्मीले १६ दिने तालिम लिनुपर्छ । यो तालिम पनि आईकाओले तोकेको मापदण्ड अनुसारको छ । यस्तो तालिम भक्तपुरमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको एकेडेमी केन्द्रका प्रशिक्षकहरुले दिन्छन् । त्यसबाहेक उनीहरुलाई प्रहरीले पनि आतंकवाद वा अन्य हातहतियार सुरक्षाबारे तालिम दिइएको नै हुन्छ ।
काठमाडौं विमानस्थलमा बेला बेला मान्छे पसेको खबर आउछन्, कसरी ?
पहिले-पहिले छिटफुट घटना भएका थिए । अहिले त्यस्तो हुँदैन । बाहिर सेना छ । भित्र प्रहरी । अनि चारैतिर सीसीटीभी क्यामेराको निगरानी हुन्छ । अर्को महत्वपूर्ण कुरा हाम्रो विमानस्थल आइकाओले तोकेकै मापदण्डअनुसार घेराबन्दीमा छ । अर्थात् दोहोरो चेनलिंक फेन्सिङ छ । त्यसको उचाईदेखि बनावट सबै अन्तर्राष्ट्रियस्तरकै छ ।
पहिले-पहिले हातले लेखेर पासदेखि बोर्डिङ पाससम्म जारी हुन्थे । अहिले के छ ?
अहिले बोर्डिङपासदेखि राहदानीसम्म सबै डिजिटल छन् । अन्तर्राष्ट्रिय उडानमा रहेका हरेक यात्रुको विशेष पहिचान गर्ने सुरक्षा उपकरण बायोमेट्रिक अनिवार्य छ । यात्रुहरुको औंलाका छाप तथा अनुहारको रेकर्ड रहन्छ । २५ वर्षअघि हस्त लिखित राहदानी, हातैले लेखेर जारी हुने बोर्डिङ पासको प्रयोग हुने गर्दथ्यो । अब त्यो जमना रहेन ।
विमानस्थलको विशेषगरी डिर्पाचरतर्फको यात्रु सुरक्षा तथा लगेज, कार्गोमा अति ससानो विषय पनि हाम्रो प्रविधिको निगरानीमा हुन्छ ।
‘आईसी–८१४’ अपहरणका २५ वर्ष : नेपाल र भारतले पत्ता लगाउन नसकेको रहस्य
