काठमाडौं क्षेत्र नम्बर १ मा २५ जना उम्मेदवारद्वारा मनाेनयन-पत्र दर्ता
काठमाडौँ — एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ मा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित गरेका थिए । जनआन्दोलन २०४६ को नेतृत्व गरेको पार्टीका सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराईलाई पराजित गरेपछि महासचिव भण्डारीको चर्चा चुलिएको थियो ।
एकातिर भण्डारी आफैंको वाक्कला निकै तार्किक र कर्णप्रिय थियो । त्यसमा पनि भट्टराईलाई हराएपछि उनको लोकप्रियता चुलिँदै गएको थियो । तर महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा मृत्यु भएको थियो । भण्डारीको मृत्युपछि उनको चुनाव क्षेत्र काठमाडौं– १ मा प्रतिनिधिसभा सदस्यका लागि २०५० माघ २५ गते उपनिर्वाचन हुने घोषणा गरिएको थियो ।
महासचिव भण्डारीसँग पराजित भएका भट्टराई उपनिर्वाचनमा विद्यादेवी भण्डारीसँग प्रतिस्पर्धामा उत्रिएका थिए । आफ्ना पति भण्डारीको मृत्युपछि विद्याले चुनावी प्रतिस्पर्धामा भाग लिने भएकी थिइन् । एमालेले उनलाई उक्त क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
कांग्रेसमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पक्षका नेताहरूले भट्टराईलाई सकेसम्म उम्मेदावार नबन्न प्रत्यक्ष/अप्रत्यक्ष दबाब दिइरहेका थिए । त्यसमा पनि उनीहरूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा नगर्न सुझाएका थिए । पार्टीभित्रकै सर्वोच्च नेता गणेशमान सिंह खेमाले भने भट्टराई जसरी पनि उम्मेदवार हुनैपर्ने अडान राख्दै आएको थियो । पार्टीभित्रको निकै लामो अन्तरसंघर्षपछि भट्टराईको उम्मेदवारी तय गरिएको थियो ।
कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई र एमालेकी विद्या भण्डारीले २०५० पुस १६ गते काठमाडौंको भृकुटीमण्डपस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन–पत्र दर्ता गराएका थिए । मनोनयन पत्रमा भट्टराईको प्रस्तावक हरिबोल भट्टराई र समर्थक ध्रुवराम भण्डारी थिए भने विद्याको प्रस्तावकमा काठमाडौं जिल्ला विकास समितिका सभापति नारायण ढकाल र समर्थकमा एमाले नेता विदुर मैनाली थिए । ६९ वर्षीय भट्टराई र ३२ वर्षीया भण्डारीबीच हुने चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको थियो ।
उपनिर्वाचनमा त्यतिबेला काठमाडौं‐१ मा २५ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जोगमेहर श्रेष्ठ र नेपाल सद्भावना पार्टीका जयनारायण झा उम्मेदवार थिए । त्यस्तै प्रजातान्त्रिक लोक दलका टंक कार्की, राष्ट्रिय जनता परिषद्का अरुण सुवेदी, नेपाल मजदुर किसान पार्टीका केदार खड्का, नेपाल कम्युनिस्ट पार्टी (प्रजातान्त्रिक) का उद्धव गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मण पाण्डे र जनता पार्टीका कृष्णप्रसाद घिमिरे उम्मेदवार थिए ।
स्वतन्त्र उम्मेदवारका रूपमा लक्ष्मणसिंह खड्का र सानु खड्का दम्पती नै उम्मेदवार बनेका थिए । त्यस्तै हेराकृष्ण खड्गी, सुरेन्द्रमान शाक्य, अशोक पोखरेल, रामप्यारीदेवी यादव, नाना गुरुङ, सिंहबहादुर लामा, हरिहर आचार्य, जोगमान लामा, हरिराम श्रेष्ठ, इन्द्रबज्र लामा, हरिकृष्ण डंगोल, सुवर्णकुमार श्रेष्ठ, शेख अब्दुल सलाम र मदनसिंह राणालगायतका केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका थिए । खड्गी र शाक्यलाई एमालेले नै उठाएको चर्चा थियो । २०४८ मा राष्ट्रिय दलको मान्यता पाएको संयुक्त जनमोर्चाले भने निर्वाचन बहिष्कार गरेको थियो । उसले उम्मेदवारी नै दर्ता गरेन ।
चुनावी प्रतिस्पर्धामा धेरै उम्मेदवार खडा भए पनि चर्चा भने भट्टराई र भण्डारीको नै थियो । पति मदनसँग पराजित भट्टराईले पत्नी विद्यालाई पराजित गर्न सक्लान् त ? यही प्रश्न निर्वाचनमा चासो राख्ने आमनागरिकले गरिरहेका थिए । एमालेले मदन–जीवराजको मृत्यु स्वाभाविक नभएको भन्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित कांग्रेस सरकारप्रति गाउँ–सहर सबैतिर नकारात्मक सन्देश प्रवाह गराएको थियो । त्यसमा पनि आममान्छेको नजरमा लोकप्रिय छवि बनाएका महासचिव भण्डारीको मृत्युका कारण मतदाताको विद्याप्रतिको सहानुभूति धेरै देखिन्थ्यो ।
कांग्रेसभित्रबाटै हुन सक्ने घात–प्रतिघातको सम्भावना पनि त्यत्तिकै थियो । किनभने, कतिपयले २०४८ को निर्वाचनमै भट्टराई हराउन कांग्रेसको एउटा तप्का लागेको बताउने गरेका थिए । प्रधानन्त्री भएर आफैंले गराएको निर्वाचनमा आफैं पराजित भएको र अन्तरिम प्रधानमन्त्रीका हैसियतमा नेपालको संविधान २०४७ जारी गर्न सफल भएको भन्दै कतिपयले भट्टराईको व्यक्तित्वका कारण निर्वाचनमा विद्यासँग प्रतिस्पर्धा नै नहुने तर्कसमेत गरिरहेका थिए ।
कृष्णप्रसाद र विद्या भण्डारीबीचको चुनावी प्रतिस्पर्धालाई समेटेर मनोनयन–पत्र दर्ताका दिनको दृश्यसहित कान्तिपुरले २०५० पुस १७ गते ‘भट्टराईद्वारा मनोनयनपत्र दाखिला : विद्या भण्डारीसहित २५ जना चुनावी मैदानमा’ शीर्षक समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Krishna Prasad who lost to Jab Madan He fought with Vidya in the by-election](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/archieve-0162025093045-1000x0.jpg&w=1001&h=0)