[अर्काइभ] ‘मदन र जीवराजको हत्या दक्ष आपराधिक समूहबाट’ 

जेष्ठ १७, २०८२

कान्तिपुर संवाददाता

[Archive] 'Madan and Jeevraj killed by skilled criminal group'

काठमाडौँ — मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर नआएको उक्त पार्टीका नेताहरूले आरोप लगाउँदै आएका छन् । त्यसबीचमा सोही पार्टीबाट माधव नेपाल, केपी शर्मा ओली र झलनाथ खनाल प्रधानमन्त्री भइसकेका छन् । दिवंगत मदनकी पत्नी विद्या भण्डारी पनि पटक–पटक मन्त्री र राष्ट्रपति बनिसकेकी छन् । तर पनि एमाले नेताहरू दासढुंगा घटनाको खोजबिन हुन नसकेको आरोप लगाउँछन् ।

दुर्घटनाको छानबिन र खोजी कसले गर्ने हो त ? त्यसको उत्तर भने वाम नेताहरूसँग छैन । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको दासढुंगामा भएको जीप दुर्घटनामा परी २०५० जेठ ३ मा मृत्यु भएको थियो । घटना भएको ३१ वर्षपछि पनि उक्त चर्चा सेलाएको छैन । दासढुंगा दुर्घटना कि हत्या भन्ने बहस जारी नै छ । 

२०४८ मा भण्डारी सांसद निर्वाचित भएको काठमाडौं क्षेत्र नम्बर १ को उपचुनावमा विद्या भण्डारी उम्मेदवार बनेकी थिइन् । २०४८ मा मदनले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । उपनिर्वाचनमा पनि कांग्रेसबाट भट्टराई नै उम्मेदवार बनेका थिए । 

निर्वाचनपछि पनि एमालेले मदन–जीवराजको मृत्युलाई अस्वाभाविक भन्दै सुनियोजित हत्याको संज्ञा दिएर निष्पक्ष छानबिनको माग गर्न छाडेको थिएन । तर घटनाको विश्वासिलो तथ्यमा कोही पनि पुग्न सकेका थिएनन् । दासढुंगा दुर्घटनाको छाननिब गर्न सरकारले पूर्वअतिरिक्त न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा गठन गरेको आयोगको प्रतिवेदनले नेताद्वय मदन र जीवराजको मृत्यु दुर्घटनाबाट भएको निष्कर्ष निकालेको थियो । एमाले स्थायी समितिका तत्कालीन सदस्य तथा सांसद केपी शर्मा ओलीको अध्यक्षतामा गठित समितिले ‘सुनियोजित हत्या’ भनेको थियो ।  एमाले नेताद्वयको दुर्घटनामा भएको मृत्युले मुलुकले ‘लोकप्रिय’ नेता मात्र गुमाएको थिएन, उनीहरूको नाममा भएको आन्दोलनबाट मुलुकले ठूलो मानवीय र भौतिक क्षति पनि बेहोरेको थियो । 

यही पृष्ठभूमिमा मदन–जीवराजको दुर्घटनाको वास्तविकता पत्ता लगाउने उद्देश्यले वामपन्थी बुद्धिजीवीहरूले दासढुंगा दुर्घटनाको छानबिनका लागि वामनेता पद्मरत्न तुलाधारको संयोजनमा अर्को छानबिन समिति गठन गरेका थिए । उक्त समिति २०५० जेठ ६ गते गठन गरिएको थियो । मूल्यांकन मासिकको सक्रियतामा ‘जनस्तरमा गठन गरेको भनिएको नागरिक छानबिन समितिको संयोजक तुलाधरको नेतृत्वमा २३ जना वाम वुद्धिजीवी उक्त समितिमा सम्मिलित थिए । उक्त समितिले दुर्घटना भएको ७ महिनापछि दिएको छानबिन प्रतिवेदन २०५० पुस १५ गते सार्वजनिक गरिएको थियो । 

[Archive] 'Madan and Jeevraj killed by skilled criminal group'

प्रतिवेदनको निष्कर्ष थियो– ‘मदन–आश्रितको हत्या सामान्य दुर्घटना नभइ नियोजित हो । हत्या गराउन दक्ष अपराधी समूह लागेको थियो ।’ प्रतिवेदनमा दक्ष अपराध अनुसन्धान विज्ञ र अनुसन्धान प्रविधिद्वारा घटनाको छानबिन गर्नुपर्ने सुझाव पनि दिइएको थियो । 

समितिका संयोजक तुलाधरले हत्या काण्डको छानबिनका लागि सरकारले आवश्यक तत्परता नदेखाएको, अनुसन्धान नगरेको आरोप पनि लगाएका थिए । तुलाधर छानबिन समितिले दासढुंगा काण्ड र नेताहरूको मृत्यु अस्वाभाविक र सुनियोजित भएको ठहर गरेको थियो । प्रतिवेदनमा ओली आयोगले भनेजस्तै दुर्घटना गराउनुअघि नेताहरूलाई विषादीको प्रयोग गरेर हत्या गरेको वा बेहोस बनाइएको उल्लेख गरिएको थियो । लण्डनको एल्डर मास्टर फरेन्सिक ल्याब रिपोर्टलाई आधार मान्दै सुँघाउने विषादि प्रयोग गरेको डा. भरत प्रधानाङ्गलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरेको थियो ।

समितिका सदस्यहरू कल्याणदेव भट्टराई, सर्वज्ञदेव तुलाधर, हर्षनारायण धौभडेल, विश्वनाथ पाठक, कृष्णप्रसाद सिवाकोटी, उद्धव केसी, दीपेन्द्रबहादुर क्षेत्रीलगायतका थिए । सदस्य सचिवमा भने श्याम श्रेष्ठ थिए । प्रतिवेदनमा भनिएको थियो, ‘यस घटनाको राम्रो ज्ञाता चालक लामा नै हो । वैज्ञानिक प्रविधि अबलम्बन गरी लामासँग जानकारी लिनुपर्छ ।’ उक्त प्रतिवेदनलाई  कतिपय विज्ञहरूले दुर्घटनालाई उजागर गर्ने भन्दा पनि थप रहस्यमय बनाएको बताएका थिए । 

जनस्तरबाट गठन गरिएको भनिएको छानबिन समितिको निष्कर्ष वा सुझावलाई समेटेर कान्तिपुर दैनिकले २०५० पुस १६ गते ‘दासढुंगा दुर्घटनासम्बन्धी तुलाधर प्रतिवेदन सार्वजनिक : घटनाको राम्रो ज्ञाता चालक लामा नै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । तर मदन–जीवराजको मृत्यु र घटनासम्बन्धी तथ्य  ३१ वर्षसम्म पनि पत्ता लाग्न सकेको छैन । पार्टीले गठन गरेको ओली नेतृत्वको छानबिन आयोगले तयार गरेको प्रतिवेदन अहिलेसम्म विस्तृत रूपमा सार्वजनिक गरेको छैन । एमाले नेताहरूका अनुसार उक्त प्रतिवेदन कहाँ छ, पार्टी पंक्तिलाई पनि जानकारी छैन । 

दुर्घटनाको विषयमा जानकारी भएका एक मात्र पात्र जीप चालक अमर लामाको पनि हत्या भएपछि सबै प्रमाण लगभग नष्ट भएको छ । चालक लामालाई २०६० साउन १२ गते डिल्लीबजारको कालिकास्थानबाट अपहरण गरेर कीर्तिपुरको नयाँबजारमा लगेर गोली हानी हत्या गरिएको थियो । उनको हत्यापछि एमाले नेताद्वयको मृत्युको विषय छानबिन गर्ने सबै आधार पूर्ण रूपमा नष्ट भएको छ । तर अहिले पनि मदन–जीवराजको मृत्यु र दासढुंगा घटनाको छानबिन गर्नुपर्ने आवाज एमालेका नेताहरूले नै बेलाबेलामा उठाउने गरेका छन् ।

एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले गत जेठ ३ गते मदन–जीवराजको स्मृतिमा काठमाडौंको आलोकनगरमा आयोजित कार्यक्रममा भनेका थिए, ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक छ ।’ उनले उक्त कार्यक्रममा घटनाको विषयमा सत्यतथ्य के हो अझै छानबिन गर्न बाँकी रहेको बताएका थिए । मदन–जीवराजको दुर्घटनामा मृत्यु भएलगत्तै १५ वर्षसम्म नेपाल लगातार पार्टीको महासचिव भएका थिए ।

 प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully