[अर्काइभ] उहिले मेलम्ची खोलाको घट्टमा भर परेको त्यो कथा

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

[Archive] The story of him relying on the Melamchi River

काठमाडौँ — नयाँ पुस्ताका कतिपय किशोरकिशोरीले त सम्भवतः पानी घट्ट देखेका र सुनेका पनि छैनन् होला । नयाँ पुस्तालाई त घट्ट मात्र होइन, घटेराको अर्थ थाहा पाउन पनि सायद नेपाली शब्दकोश पल्टाउनु पर्छ । तर पुरानो पुस्ताका पाका अनुहार भने अहिले पनि पीठो त घट्टकै मीठो भन्छन् ।

सहरबजारमा पानीको घट्टमा पिसेको भन्दै पीठोको बजारीकरण गरिरहेको पनि पाइन्छ । सबै स्थानीय स्रोतसाधन प्रयोग गरेर बनाइने घट्ट तीन दशकअघिसम्म गाउँले जीवनका लागि अपरिहार्य साधन थियो । 

मकै, कोदो, फापर, गहँ, जौ अथवा जेसुकै अन्न पिसेर पीठो बनाउन घट्ट अनिवार्य हुन्थ्यो । पीठो बनाउन घरमै बनाएको जाँतो पनि वैकल्पिक साधन थियो । तर त्यसलाई मान्छेले घुमाउनुपर्ने भएकाले समय र जनशक्तिका हिसाबले सानोतिनो समस्या मात्र टर्थ्यो । गाउँ, मधेश र हिमालमा पीठोले नै धेरै जीवन धानिरहेकाले घट्टबिना दैनिक व्यवहार चलाउन नसक्ने अवस्था थियो ।

स्थानीय काठ, ढुंगा, बाँस लगायत सामग्री प्रयोग गरेर बनाइने घट्टको संरचनामा परिवर्तन गरेर ५० को दशकबाट ग्रामीण भेगमा पनि केही सजिलो उपाय अपनाउन थालियो । घट्टको मदानीसहितका संरचना फलामको राखेर आधुनिकीकरण गरेपछि घटेराहरू पनि खुसी हुन थालेका थिए । 

[Archive] The story of him relying on the Melamchi River

सिन्धुपाल्चोकको मेलम्ची खोलामा सञ्चालनमा रहेका घट्टलाई आधुनिकीकरण गरेपछि कुटानी र पिसानी पनि झण्डै ५० प्रतिशतले वृद्धि भएको थियो । काठमाडौंको प्यास मेटाउने अपेक्षा गरिएको मेलम्ची खोला किनारमा तीन सयको हाराहारीमा घट्ट थिए ।

२०४६ सालको परिवर्तनपछि अन्तरिम कालमा प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं लैजाने घोषणा गरिसकेका थिए । सोही मेलम्ची खोलामा त्यतिबेला घट्टहरूका छाप्रैछाप्रा थिए । घट्टलाई आधुनिकीकरण गरेपछि कतिपय घटेरा साहु बनेको स्थानीयले बताउन थालेका थिए । मेलम्ची आसपासको क्षेत्रमा पनि बिजुली पुगेको थिएन । पानीबाट घुम्ने घट्टको भरमा थिए स्थानीय । 

त्यतिबेला घट्टलाई आधुनिकीकरण गर्न जीटीजेड नामक संस्थाले धादिङबाट सुरु गरेको आधुनिकीकरण अभियान सिन्धुपाल्चोक पुगेको थियो । तर उक्त संस्थाले बिस्तारै हात झिक्ने भएपछि समस्या आउने चिन्ता पनि देखिन्थ्यो । मेलम्ची आयोजना बनेमा घट्ट चलाउने पानीको अभाव हुनेप्रति पनि चिन्ता गर्न थालिएको थियो । मेलम्ची आयोजनाका कारण घटेराको रोजगारी नै जाने हो कि भन्ने चिन्ता पनि जाहेर हुन थालेको थियो । 

यस्तै यस्तै सन्दर्भ समेटेर तयार पारिएको फिल्ड–रिपोर्टिङलाई कान्तिपुर दैनिकले २०५० वैशाख १७ मा ‘मेलम्ची किनारका नयाँ पानी घट्ट र पुराना घटेराहरू’ शीर्षकमा पहिलो पृष्ठमा प्रकाशन गरेको थियो । पत्रकार प्रतीक भण्डारीले लेखेको उक्त समाचारसँगै फोटोपत्रकार विकास रौनियारले मेलम्ची पुगेर खिचेको तस्बिर छापिएको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully