काठमाडौँ — उनी सन् १९५३ मे २९ लाई खुसीको दिनका रुपमा सम्झना गर्न चाहन्छन् । त्यसैले उनले टोलीका ८२ वर्षीय पर्वतारोही लर्ड हन्डसहित १० जना सदस्यसँग त्याङ्बोचेमा पुनर्मिलनको योजना बनाएका थिए । उनलाई आफू १२ हजार फिटमा पनि बस्न नसक्ने भइसकेकामा खिन्न लागेको थियो । भन्छन्, ‘अब त म हिमाली संसारका निम्ति बूढो प्राणी भइसकेँ ।’
सगरमाथा आरोहणका प्रथम नायक सर एडमण्ड हिलारीले ३२ वर्षअघि त्रिभुवन विमानस्थलको एउटा कुनामा बसेर सुनाएको अनुभूतिका केही अंश हुन् यी । सगरमाथा आरोहरोहणको ४० औं वार्षिक उत्सव मनाउन नेपाल आएका हिलारी त्यतिबेला ७३ वर्षका थिए । तर पनि उनी खुम्बु क्षेत्रको त्याङ्बोचेमा टेलिभिजन कार्यक्रममा सगरमाथा आरोहण टोलीसँग वार्ता गर्ने तयारीमा थिए ।
वार्ताका लागि २०४९ चैत १८ गते विमानस्थलमा लुक्लाका लागि हेलिकोप्टर कुरिरहेका सर्वोच्च शिखरका प्रथम हिमनायक हिलारीले कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा २०४६ पछि नेपालमा भएको राजनीतिक परिवर्तनदेखि खुम्बु क्षेत्रमा शेर्पा समुदायको संस्कृति र उन्नतिसम्मको अनुभव सुनाउँदै भनेका थिए, ‘खुम्बु क्षेत्रमा सडक लैजाने सपना देख्नु हुँदैन । त्यस्तो भयो भने शेर्पाहरू आफ्नो सुन्दर घरबारी छोडेर सडक किनारमा झुप्रो बारेर बस्नेछन् ।’
सडक पुर्याउँदा फोहर नै फोहर हुने र पहिरो जाने समस्या पनि उत्तिकै बढ्ने उनको जिकिर थियो । तर उनले लुक्ला विमानस्थल पक्की बनाउन भने सुझाएका थिए । विमानस्थल कच्ची भएका कारण विमान तीन पटक दुर्घटना भएको उनले सुनाए । ‘केही विशेषज्ञहरुले हिमाली भागमा आणविक भट्टी बनाएर यस भेगको इन्धन आपूर्तिलाई सहज बनाउने योजना बनाएको सुनेर म निकै चिन्तित छु,’ उनले भनेका थिए, ‘हिमालमा आणविक भट्टीको सोचाइ डरलाग्दो सनक हो ।’
साना विद्युत् आयोजना भए पनि अपर्याप्त भएकाले सोलार, हिटर र मट्टीतेलको प्रयोग बढाउनुपर्ने सुझाव उनले दिएका थिए । हिमाली क्षेत्रमा व्यापक रूपमा वृक्षरोपण गर्नुपर्ने पनि उनको सुझाव थियो ।
हिलारीले स्थापना गरेको हिमालय ट्रस्टले त्याङ्बोचेमा गुम्बा, खुम्जुङ विद्यालय, खुण्डे अस्पताल, वन परियोजना निरीक्षण गर्ने योजना बनाएका छन् । खुम्बु क्षेत्रमा बिरामी परेपछि उनलाई दुई वर्षअघि हेलिकोप्टरबाट उद्धार गरिएको थियो । त्यसैले उनले आफूलाई हिमाली संसारका निम्ति बूढो प्राणी भनेका थिए ।
सगरमाथा चढेपछिको चार दशकमा उनी कति पटक नेपाल आए, याद त छैन तर सम्झन्छन्, ‘पञ्चायतमा प्रधानपञ्च भएकाहरु धेरै जना बहुदलपछि गाउँ विकास समितिको अध्यक्ष हुनुभएछ ।’
४० वर्षअघि सगरमाथा चढ्दा भएको भन्दा यसबीचमा शेर्पा समुदायमा देखिएको उन्नतिप्रति आफू निकै खुसी भएको बताउँदै हिलारी भनेका थिए, ‘शेर्पाहरु आफूलाई मनपर्ने काम गर्न स्वतन्त्र छन् ।’ तेन्जिङ नोर्गे शेर्पासँग हिमशिखर टेकेका हिलारीले शेर्पा समुदायप्रति कटाक्ष पनि गरेका थिए, ‘शेर्पाहरुलाई अवसर प्राप्त भएका छन् । त्यही हो कोही रक्सी पिएर उडाउँछन् । कोही आफ्नो भविष्य बनाउँछन् ।’
उनले हिमाली क्षेत्रको वातावरण र फोहोरका विषयमा निकै चिन्ता गरेको पाइन्छ । सरकारले हिमाल चेढेबापतको सलामी रकम वातावरण संरक्षणमा खर्च गर्नुपर्ने उनको भनाइ थियो । त्यतिबेला उनले जसले हिमाल चढ्छ, फोहोरको जिम्मा आफैं लिनुपर्ने बताएका थिए ।
उनले सगरमाथाको वातावरण संरक्षणमा विश्वको ध्यान जानुपर्ने पनि बताएका थिए । हिलारीले भनेजस्तै अहिले ‘क्लाइमेट चेन्ज’ र सगरमाथाको संरक्षणका कुरा जोडतोडले उठिरहेको छ । हिलारीसँग त्यतिबेला भएको ऐतिहासिक र सन्देशमूलक कुराकानी कान्तिपुर दैनिकका पत्रकार नारायण वाग्ले र रम्यता लिम्बूले गरेका थिए । उक्त कुराकानीलाई कान्तिपुर दैनिकले २०४९ चैत १९ गते पहिलो पृष्ठमा 'नयाँ आरोहीहरू समक्ष धेरै चुनौती छन्– हिलारी' शीर्षकमा प्रकाशन गरेको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] 'I have become an old creature for the Himalayan world'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-1632025121442-1000x0.jpg&w=1001&h=0)