कांग्रेसभित्रको विभाजन छरपस्ट भएको त्यो चियापान

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

That tea party where the divisions within the Congress were scattered

काठमाडौँ — इतिहास अनेकन् साना-ठूला घटना-परिघटनाका घुम्ती र संयोगबाट बनेको हुन्छ । इतिहासलाई सही ढंगले बुझ्न अर्काइभ केलाउनै पर्छ । कान्तिपुरले पार गरेको ३२ वर्ष लामो यात्रा आफैँमा इतिहासका अनेकन् साना-ठूला परिघटनाको साक्षी हुँदै गुज्रेको समय हो । त्यसैले हामीले 'कान्तिपुर अर्काइभ' स्तम्भमार्फत कान्तिपुरको प्रिन्ट संस्करणमा छापिएका समाचार र समाचारमूलक सामग्रीलाई तत्कालीन परिस्थिति बुझाउँदै प्रस्तुत गर्न सुरू गरेका छौँ । यो नियमित स्तम्भ इतिहासलाई चियाउने आँखीझ्याल पनि बन्न सक्छ भन्ने विश्वास लिएका छौँ । - सम्पादक

सबै दल मिलेर ल्याएको प्रजातन्त्र केही वर्ष पनि बित्न नपाउँदै दलहरूबीच नै फाटो आएको विषय नेपाली राजनीतिमा सम्झिरहने घटना हो । यो घटना किन पनि सम्झिइरहन्छ भने त्यो दिन फागुन ७ कै दिन भएको थियो ।

२०४९ फागुन ७ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा प्रजातन्त्र दिवसको कार्यक्रम आयोजना गरिएको थियो । निम्ता सबैलाई थियो । तर, संसद‍्को प्रमुख प्रतिपक्ष एमालेसहितका वामपन्थी दलहरू संयुक्त जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले सरकारी कार्यक्रम बहिष्कार गरे ।

अनि, उनीहरूले छुट्टै कार्यक्रम आयोजना गरेर प्रजातन्त्र दिवस मनाए । वाम पार्टीले प्रधानमन्त्री कोइराला उपस्थित सबै कार्यक्रम बहिष्कार गर्दै आएको पृष्ठभूमिमा प्रजातन्त्र दिवस पनि जोडिएको थियो । That tea party where the divisions within the Congress were scattered

एमाले अध्यक्ष मनमोहन अधिकारीले प्रजातन्त्र दिवसका अवसरमा आफ्नै निवास महाराजगन्जमा चियापान कार्यक्रम राखेका थिए । जसमा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह, गृहमन्त्री शेरबहादुर देउवा, काठमाडौं नगरपालिकाका मेयर पीएल सिंहसहितका नेता–कार्यकर्ताको सहभागिता रह्यो ।

सरकार बनेदेखि नै कोइरालाको कार्यशैलीलाई लिएर गणेशमान सिंह असन्तुष्ट थिए । उनले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै व्यक्त गर्दै आएका थिए । यही पृष्ठभूमिमा आफ्नै पार्टीका प्रधानमन्त्रीलाई बहिष्कार गर्दै आएको संसद्को प्रमुख प्रतिपक्ष दलका नेता मनमोहन अधिकारीले आयोजना गरेको चियापानमा गणेशमान सहभागी भएका थिए ।

That tea party where the divisions within the Congress were scattered

एमालेले प्रधानमन्त्री कोइरालालाई बहिष्कार गर्ने तर त्यही मन्त्रिपरिषद‍्का गृहमन्त्री देउवा र सर्वोच्च नेता गणेशमान सिंह भने मनमोहनको चियापानमा सहभागी हुने परिस्थितिले कांग्रेसभित्रको द्वन्द्व सतहमा छरपस्ट भएको थियो । त्यतिबेला वाम पार्टीहरूले फागुन ७ लाई २००७ सालमा भएको दिल्ली सम्झौताको दिनका रूपमा लिँदै र सम्झँदै आएका थिए । तर, २०४६ को आन्दोलन कांग्रेस र संयुक्त वाममोर्चाले सहकार्य गरेर प्रजातन्त्र पुनःस्थापना गराएका थिए ।

कांग्रेस र वाम पार्टीहरूको संयुक्त मोर्चाले २०४६ माघ ५ गते गणेशमानको निवास चाक्सीबारीमा संयुक्त भेला गरेर आन्दोलनको घोषणा गरेका थिए । संयुक्त आन्दोलन गरेर प्रजातन्त्र ल्याएको तीन वर्षमै वाम पार्टी र कांग्रेसबीच दरार पैदा भएको थियो ।

यही विषयलाई समेटेर कान्तिपुर दैनिकले २०४९ फागुन ८ गते ‘वाम पार्टीहरूद्वारा प्रजातन्त्र दिवस अलग्गै मनाइयो’ शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशन गरेको थियो । 

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully