मीन भाम अन्तर्राष्ट्रिय जुरीमा फर्किनु हाम्रो लागि गर्वको कुरा हो : ट्रिसा टटल

यो वर्ष नेपालबाट हामी थुप्रो ट्यालेन्ट पनि पाउँदैछौं । हामी आशावादी छौं, उहाँहरुले आफ्नो पहिलो फिल्ममा काम गरेर फेरि महोत्सवमा फर्किनुहुनेछ ।

माघ २१, २०८२

रीना मोक्तान

It is a matter of pride for us to return to the Meen Bham International Jury: Trisha Tuttle

What you should know

काठमाडौँ — बोल्नुअघि मन्द मुस्कुराउने अनि रेड कार्पेटमा निर्धक्क हिँड्ने । विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिनालेमा यदि तपाईं त्यस्तो कोही महिला देख्दै हुनुहुन्छ, जो आम दर्शकदेखि विश्वका ठूल्ठूला कलाकारसँग रेड कार्पेटदेखि सडकमा त्यही मुस्कानमा हिँडिरहेकी छन् भने उनलाई ट्रिसा टटल भनेर चिन्दा हुन्छ ।

उनी हुन्, बर्लिनाले अन्तर्राष्ट्रिय फिल्म महोत्सव निर्देशक । सन् २०२४ देखि बर्लिनालेको मुख्य भार सम्हालेकी अमेरिकी नागरिक टटलले महोत्सव र फिल्म शिक्षामा २५ वर्षको अनुभव बटुलिसकिन् ।

बाफ्टादेखि थुप्रै फिल्मसँग सम्बन्धित महोत्सवदेखि अवार्डहरुमा सक्रिय रुपले काम गरिसकेकी तिनै ट्रिसा टटलसँग कान्तिपुरकर्मी रीना मोक्तानले ‍महोत्सव, बर्लिनालेसँगको नेपाली सम्बन्धलगायतका विषयमा कुराकानी गरेकी छन् । 

हरेक वर्ष बर्लिनालेमा केही नयाँ परिवर्तन देखिन्छ । यसपालि के नयाँ छ ? 

खासमा यो महोत्सवमा हरेक वर्ष करिब २८० नयाँ फिल्म छानिन्छन् । फिल्म के हो र यो के हुन सक्छ भन्ने कुरा पत्ता लगाउनु नै हरेक वर्षको हाम्रो महोत्सवको उद्देश्य पनि हो । यो वर्ष हामीले १८ देखि २५ वर्ष उमेर समूहका दर्शकका लागि नयाँ टिकट योजना ल्याएका छौं । हुन त महोत्सवसँग पहिल्यैदेखि जोडिएका युवा दर्शक छन् । तर, यो पटक हामीले अझै नयाँ युवा दर्शक लक्षित गर्दै त्यो उमेर समूहका लागि टिकट योजना ल्याएका हौं । कहिलेकाहीँ टिकटको मूल्य बढी हुँदा महोत्सवमा जोडिन कठिन बन्दछ, तर त्यो बाधा हटाउन नै हामीले यस्तो योजना यो वर्ष अविलम्बन गरेका हौं, ताकि महोत्सवमा सहभागी हुन सहज भइदियोस् । 

बर्लिनालेमा निर्देशकको रुपमा जिम्मेवारी सम्हालिसकेपछि यो महोत्सवमा महिलाको सहभागिता बढेको देखिन्छ । त्यो तपाईंको सचेत निर्णय हो कि संयोग मात्रै हो ? 

यो वर्ष महोत्सवमा देखाइने ४१ प्रतिशत फिल्म महिला निर्देशकका छन् । हुन त महिलाका लागि भनेर हामी त्यस किसिमको आरक्षण नै तोक्दैनौं । तर, हामी विविधतामा विश्वास गर्छौं, त्यसैले त्यही दृष्टिकोणसँग मिल्ने फिल्महरू छान्छौं । हामीकहाँ आवेदन भर्ने फिल्ममध्ये ३३ प्रतिशत महिला निर्देशकको फिल्म हुन्छ । त्यसमा पनि ४१ प्रतिशत पुग्नु त उत्साहकै विषय हो । यो वर्ष मुख्य प्रतिस्पर्धामा छानिएकाहरू त दोस्रो र तेस्रो पटक फिल्म बनाउने महिला निर्देशकका फिल्म हुन् । 

अबेर रातसम्म पनि वृद्धवृद्धा उमेर समूहका दर्शक पनि फिल्म हेर्न कठ्याङ्ग्रिँदो चिसोमा लाइन लागेरै बसेको दृश्य बर्लिनालेका लागि नौलो होइन । महोत्सवमा यस किसिमको दर्शक सहभागिता बढाउन तपाईंहरुले समातेको कडी के हो ?

खासमा यही नै बर्लिनालेको विशेषता हो । विविध र फरक आवाजलाई स्थान दिनु यहाँको पहिचान नै हो । फरक आवाज बोक्ने फिल्मलाई स्थान दिनु हाम्रो परिचय हो । हामीले ४० वर्षअघि ‘टेडी अवार्ड’ सुरु गर्‍यौं । यो विशेषत त क्वेयर फिल्म बनाउनेहरुलाई प्रोत्साहन गर्न सुरु गरिएको अवार्ड हो । त्यतिबेला यस्तो फिल्महरुलाई स्थान दिएर, चर्चाको केन्द्रमा राख्ने अन्य कुनै महोत्सव नै थिएन । हामीले नै सुरुवात गर्‍यौं । यो प्लाटफर्ममा फिल्म देखाएका कति निर्देशक अहिले क्वेयर फिल्ममा चर्चित बनेका छन् । सलिन सियामको ‘टमब्वोय’देखि पेड्रो अल्मोडोभारको ‘ल अफ डिजायर’ले टेडी जित्यो । यो प्लाटफर्ममा हामीले अहिलेसम्म थुप्रै देशका फिल्मको प्रतिनिधित्व गराइसक्यौं । यो वर्ष ८० देशका फिल्महरू प्रदर्शन भइरहेका छन् । खासमा हामी सन्तुलन कायम गर्न, समावेशी बनाउन जबरजस्ती यस्तो फिल्म राख्दैनौं । तर, वास्तवमै फरक आवाजलाई सुन्न चाहन्छौं । त्यसैले हामी जस्तो सहरमा बस्छौं, त्यहाँ भएका समुदायलाई समेट्ने किसिमका फिल्मलाई यहाँ देखाउन चाहन्छौं । 

बर्लिनालेलाई कतिले राजनैतिक महोत्सवको रुपमा पनि व्याख्या गर्छन् । के महोत्सव राजनीतिक हुनैपर्छ ? हुनुपर्छ भने किन ?

यो कुरा खासमा हामी आफैंले दाबी गरेका होइनौं, अरुले भनिदिएका हुन् । बर्लिनालेले त्यस्तो फिल्म देखाएको छ, जुन विवादितसँगै जसले बहस र विचार सिर्जना गर्दछ । हाम्रो फिल्म छनोटको केही निर्णय यस्तै विषयउपर पनि हुने गर्दछ । फेरि हामी यस्तो सहरमा बस्छौं जहाँ राजनीति जोडिएको छ, अनि कला पनि । त्यसैले महोत्सवको अन्य गतिविधिसँगै यही विषयले पनि बर्लिनालेतर्फ मेरो रुचि बढाइदिएको हो । बर्लिन आफैं राजनीतिक र सांस्कृतिक रूपमा सचेत सहर भएकाले त्यसको प्रभाव महोत्सवमा पर्छ । सन् १९८२ मा हामीले 'टुटसी' भन्ने फिल्मलाई मुख्य प्रतिस्पर्धाभन्दा बाहिर प्रदर्शन गर्‍यौं । क्रिस मार्करको ‘सान सोइल’ र यो फिल्म बिल्कुल फरक दृष्टिकोणसहितका फिल्म थिए । यस किसिमका फरक दृष्टिकोण बोकेको फिल्मले पनि महोत्सवमा स्थान पाएको थियो, जसको निरन्तरता अहिले यो वर्ष पनि देख्न पाउनुहुनेछ । 

बर्लिनाले सधैं सिमान्तकृत र दबिएका आवाजलाई सम्बोधन गर्ने किसिमको फिल्मदेखि कार्यक्रमलाई महोत्सवमा समेट्छ, महोत्सवले यस किसिमको विधा समेट्नु किन आवश्यक छ ? 

यो त अत्यन्तै आवश्यक छ नि । प्यानोरामा विधाले मात्रै यी कुरा समेट्दैन । प्यानारोमा विधा नितान्त दर्शक लक्षित कार्यक्रम हो । यहीँबाट हामी ‘अडियन्स अवार्ड’ पनि घोषणा गर्छौं, त्यसैले यो त बर्लिनालेको दर्शकका लागि हो । यो विधाको सबैभन्दा ठूलो जुरी नै हाम्रा दर्शक हुन् । यो विधामा फिल्महरू छान्दा होस् या काम गर्दा हामी दर्शकलाई नै मध्यनजरमा राखेर सबै गर्छौं । त्यसैले हामी सधैं कथावाचक को हो र कथा कसको हो भन्ने कुरामा ध्यान दिन्छौं । यस वर्ष प्यानोरामामा ३६ देशका ३७ फिल्म छन् । अनि यसले अन्तर्राष्ट्रिय विविधता झल्काउँछ । 

बर्लिनाले ट्यालेन्ट्समा नेपाली फिल्मकर्मीको सहभागिता बढ्दै गएको छ । तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?

हो म गौरवान्वित भएर भन्न सक्छु, हामी जर्मन महोत्सव हौं । संसारले हामीलाई युरोपेली महोत्सव देख्छ । तर, हामी अन्तर्राष्ट्रिय महोत्सव हौं । मलाई गर्व छ, बर्लिनालेको मुख्य प्रतिस्पर्धामा हामीसँग नेपालबाट ‘शाम्बाला’ थियो । अनि यो फिल्म मुख्य प्रतिस्पर्धामा पर्नु र निर्देशक मीन भाम अन्तर्राष्ट्रिय जुरीमा फर्किनु हाम्रो लागि गर्वको कुरा हो । यो वर्ष नेपालबाट हामी थुप्रो ट्यालेन्ट पनि पाउँदैछौं । हामी आशावादी छौं, उहाँहरुले आफ्नो पहिलो फिल्ममा काम गरेर फेरि महोत्सवमा फर्किनुहुनेछ । जुन निकै महत्त्वपूर्ण विषय हो । अहिलेसम्म सन् २०१२ देखि २०१४ बीचमा सातवटा नेपाली फिल्म हाम्रो आधिकारिक कार्यक्रममा समावेश भए । 

मीनबारे केही थप्न चाहनुहुन्छ ?

उनी बर्लिनालेको मुख्य प्रतिस्पर्धामा फिल्म छनोट हुने पहिलो नेपाली निर्देशक हुन् । अनि उनी त्यस्तो निर्देशक हुन्, जसको काम हामीलाई मनपर्छ । उनको छोटो फिल्म ‘द फ्लुट’ हामीले भेनिसमा हेर्‍यौं । त्यो फिल्मलाई त्यहाँ रुचाइयो । जब उनी दोस्रो फिचर फिल्म ‘शाम्बाला’ लिएर यहाँ फर्किए उनलाई मुख्य प्रतिस्पर्धामा देख्न पाउँदा खुसी लाग्यो । अनि मलाई त्यतिबेलै लागेको थियो, मीनलाई अर्को पालि पनि बोलाउनुपर्छ भनेर । यस वर्ष विम वेन्डर्सले नेतृत्व गरेको अन्तर्राष्ट्रिय जुरीमा अटाए ।

महोत्सवको २५ वर्ष अनुभवले के भन्छ ? आखिर समाज र समुदायका लागि फिल्म महोत्सव किन आवश्यक छन् ?

मलाई लाग्छ, अहिले महोत्सवहरू झनै विशष परिस्थितिमा छन् । आज फिल्म महोत्सव पहिलेभन्दा अझै महत्त्वपूर्ण छन् । यसले विभिन्न देशका फिल्मकर्मीलाई जोड्छ । अहिले धेरै फिल्म विभिन्न देशबीचको अन्तर्राष्ट्रिय सहकार्यमा बन्छन् । राम्रो फिल्म बनाउन यसरी विभिन्न देशबीच सहकार्य पनि गर्न सकियो ।  उदाहरणका लागि यो वर्ष निकै चर्चा कमाएको ‘सेन्टिमेन्टल भ्यालु’ । अन्तर्राष्ट्रिय सह–निर्माणमा बनेको यो फिल्म यो पटक बाफ्टा र अस्करमा प्रतिस्पर्धा गर्दैछ । हामीले मुख्य प्रतिस्पर्धामा छानेका फिल्महरू पनि अधिकांश सह-निर्माणमै बनेका हुन् । मलाई लाग्छ, हामी एकअर्कालाई आदर गर्छौं । अनि एकअर्काका संस्कृतिलाई महत्त्व दिन्छौं । महोत्सव त्यस्तो ठाउँ हो जहाँ हाम्रा संस्कृतिलाई हामी अझै महत्त्व दिएर हेर्छौं । 

नेपालमा महोत्सव गर्न अधिकांशले आर्थिक अभाव झेल्नुपर्छ । बर्लिनाले पनि पछिल्लो वर्षमा यस्तै समस्या भोग्यो । खासमा यस्तो अभावबीच पनि महोत्सव गर्ने कसरी ? नेपाली महोत्सव आयोजकलाई केही भन्नु छ ?

यो सबै महोत्सवका साझा समस्या हुन् । बर्लिनालेमा करिब २० हजार फिल्मसँग सम्बन्धितहरू आउँछन्, अनि तीन सय फिल्म देखाउँछौं । हामी हरेक वर्ष अलि फरक स्तरमा कार्यक्रम आयोजना गर्छौं । बर्लिनाले खासमा एकदमै बृहत्तर हुन्छ । तर, जसै हामी बृहत् बन्दै जाँदैछौं झनै आर्थिक समस्या उस्तै देखिन्छ । कसरी खर्च सन्तुलित पार्ने, स्रोत कसरी जुटाउने ? कारण यस किसिमको विशाल महोत्सव आर्थिक सहयोग नभई आयोजना गर्न सम्भव हुँदैन । त्यसैले आयोजकका हिसाबले म सुझाव दिन चाहन्छु, महोत्सवलाई पहिला सानो स्तरबाट सुरु गर्नुस्, अनि बिस्तारै बढ्नुस् । एकैचोटि बृहत् गर्ने नसोच्नुस् । मलाई लाग्छ, सात/दश फिल्म भएको सानो महोत्सवले पनि फिल्मप्रेमीलाई एकत्रित गर्न सक्छ । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully