बर्लिन फिल्म फेस्टिभलको प्रतिष्ठित ट्यालेन्टमा निर्माता रामकृष्ण पोख्रेल, कस्ट्युम डिजाइनर जानकी कडायत, निर्देशक ङिमा गेलु शेर्पा र समीक्षक रीना मोक्तान छनोट भएका हुन् ।
What you should know
काठमाडौँ — विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अन्तर्गतको 'बर्लिनाले ट्यालेन्ट'मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् । १ सय २० देशबाट आवेदन परेका ३४ सय ३८ बाट छानिएका २ सय ट्यालेन्टमा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, ङिमा गेलु शेर्पा र रीना मोक्तान छनोट भएका हुन् ।
'२०२६ को ट्यालेन्टलाई यहाँहरू माझ प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । ट्यालेन्टको यो समूहमा आफ्नो काममार्फत परिवर्तनको संवाहक बनिरहेका त्यस्ता फरक आवाजहरू समेटेका छौं, जसमा अवार्ड विजेतादेखि थुप्रै प्रतिभा अटाएका छन्,'फेस्टिभलले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फेब्रुअरी १२ देखि जर्मनीको बर्लिनमा आयोजना हुने यो फेस्टिभल अन्तर्गतको प्लेटफर्ममा फिल्म क्षेत्रका विभिन्न १५ क्षेत्र प्रतिनिधित्व गर्ने प्रतिभालाई छानिएको विज्ञप्तिमा उल्लेख छ । प्लेटफर्मले सम्बन्धित विधामा वर्कसप, अन्तरक्रिया र नेटवर्किङ गराउने गर्छ । विश्वका फिल्मकर्मीलाई जोड्ने, सिर्जनशील काममा सहकार्य गराउने यो प्लेटफर्ममा अहिलेसम्म १० हजार भन्दा बढी 'अलुम्नाई' छन् । यो प्लेटफर्मको यो वर्षको नारा 'क्रियटिङ (एन्ड) कन्फ्युजन-सिनेमा, केयस एन्ड द पावर' हो ।
गत वर्ष सुशान्त श्रेष्ठ र सुशन प्रजापति यो प्लेटफर्ममा छनोट भएका थिए । यो वर्ष 'प्रड्युसिङ'तर्फ रामकृष्ण पोख्रेल छनोट भएका हुन् । रामकृष्णले थुप्रै विदेश फिल्म निर्माण गरेका छन् । प्लेटफर्मको 'नेटवर्किङ'ले रामकृष्णलाई ट्यालेन्टको आवेदन भर्न लगाएको हो । 'ट्यालेन्टमा थुप्रो नेटवर्किङ हुन्छ । त्यो नेटवर्किङको आफू पनि एक हिस्सा बन्न पाउनु त खुसीकै कुरा हो नि । ट्यालेन्टमा २ सय जना फिल्मकर्मीहरू भेट्न पाउँछु,'पोख्रेलले भने ।
हुन त उनी यसअघि पनि बर्लिनमा सहभागी भएका थिए । बर्लिनको 'फिल्म मार्केट' इएफएम(युरोपियन युनियन मार्केट)मा ३ चोटी त पुगिसके । संसारभरबाट उक्त मार्केटमा आउने फिल्मकर्मीसँग सम्बन्ध बढाउन रामकृष्ण बर्लिन पुगिरहेका थिए । 'संसारभरको फिल्मकर्मी आउने मार्केट त निर्माताका हिसाबले मेरो लागि पनि निकै महत्त्वपूर्ण भइहाल्यो । त्यसमाथि त्यो मार्केटमा बनाउन बाँकी फिल्मदेखि बन्दै गरेको प्रोजेक्ट लिएर मानिसहरू त्यहाँ भेला हुन्छन्,'रामकृष्णले भने,'प्रोडक्सन कम्पनीका हिसाबले त्यहाँ गइरहनु महत्त्वपूर्ण हुन्छ मेरो लागि पनि ।'
रामकृष्णको आइसफल प्रोडक्सनले अहिलेसम्म थुप्रै विदेशी फिल्म, नेपाली लघु फिल्म, फिचर फिल्म निर्माण गरिसकेका छन् । रोट्रड्याममा छनोट भएको 'अनहद' र 'बाघथान'लाई उनैले निर्माण गरेका हुन् । अस्कर क्वालिफाइड 'द साइलेन्ट इको'लाई पनि आइसफलले नै निर्माण गरेको हो । अविनाश विक्रम शाह निर्देशित तटिनी(बुसान)लाई पनि उनले नै निर्माण गरेका हुन् । नेपाली फिचरतर्फ 'कथा ७२', 'द रेड फालोस', 'हल्कारा', 'ऐना झ्यालको पुतली', 'द रेड सुटकेस' अनि 'गुराँस'लाई पनि आइसफलले नै निर्माण गरेको हो । अन्तर्राष्ट्रियतर्फ एमी अवार्ड जितेको 'अ माउन्टेन टु क्लाइम्ब', 'हाइवे टु धम्पुस'(फ्रेन्च), 'द क्लाइम्ब'(नेटफ्लिक्स), 'एभरेस्ट समिट अफ द गड्स'(जापान), लियाम निसेनको 'आइस रोड'लाई पनि रामकृष्णकै प्रोडक्सन कम्पनीले निर्माण गरेको हो ।
सन् २००२ मा नेसनल जियोग्राफीको डकुमेन्ट्री 'द लास्ट रोयल्स'मा क्यामेरा असिस्टेन्टका रूपमा काम गरेसँगै रामकृष्णले फिल्ममा पाइला चालेका हुन् । ९ वर्ष ट्रेकिङ कम्पनीमा अपरेसन म्यानेजरका रूपमा काम गरेपछि पोख्रेलले कलेज अफ फिल्म स्टडिज(अहिलेको ओस्कर)बाट फिल्ममा स्नातक गरेका हुन् । ३ वर्षको फिल्म अध्ययनपछि रामकृष्णले आइसफल प्रोडक्सन खोलेर फिल्म निर्माण थाले । अनि यही कम्पनीले सुरुमा निर्माण गर्यो -विनोद पौडेलको 'अवेकन आइज', 'मनोबाबु पन्त'को 'ह्वेर इज द स्टोरी' । यही दुई फिल्मले त्यतिबेला अन्तर्राष्ट्रिय बजारतर्फको बाटो फराकिलो बनाइदिएको रामकृष्ण सुनाउँछन् ।
जानकी कडायत भने कस्ट्युम डिजाइनतर्फ छनोट भएकी हुन् । बर्लिनले पहिलो पटक घोषणा गरेको यो शीर्षक अन्तर्गतको ट्यालेन्टमा छनोट हुने उनी पहिलो हुन् । जानकीले बर्लिनाले ट्यालेन्टबारे नजिकका फिल्मकर्मी साथीहरूबाट पहिल्यैदेखि थाहा पाएकी थिइन् । उनको मनमा सधैँ ट्यालेन्ट बन्ने रहर भइरह्यो । तर, बर्लिनले यसअघि 'कस्ट्युम डिजाइन'मा ट्यालेन्ट खुलाएकै थिएन । तर, यसपटक साथी एवं अभिनेत्री गौमाया गुरुङले जानकीलाई कस्ट्युमाथि ट्यालेन्टको आवेदन खुलाएको जानकारी गराइन् । त्यसपछि उनले आवेदन दिइन् । अहिले विश्वको यति ठूलो प्लेटफर्मको २ सय ट्यालेन्टमा आफ्नो नाम आउँदा जानकी दंग छिन् ।
'खासमा हाम्रो कस्ट्युमलाई कतै पनि महत्त्व दिइँदैन । फिल्म महोत्सवले पनि साउन्ड, प्रोडक्सन डिजाइन विभिन्न विभागका लागि कार्यक्रम आयोजना गर्छ । तर, त्यसमा हाम्रो डिपार्ट छुटिरहेकै हुन्थ्यो,'जानकीले भनिन्,'यो पाली बर्लिनले कस्ट्युममा पनि आवेदन खुलायो । मलाई सधैँ लाग्थ्यो, यस किसिमको कार्यक्रम हामी लक्षित गरिदिए पनि हुन्थ्यो भन्ने । त्यो मौका यसपालि पाएँ, निकै खुसी छु ।'
फिल्म 'लालीबजार'को छायांकनमा हुँदा जानकीले आफू ट्यालेन्ट छनोट भएको खबर पाएकी हुन् । 'सुरुमा त विश्वास नै लागेन । तर, जब त्यो कुरा सत्य रहेको थाहा पाएँ । मनमा सुटिङको थकान थियो, तर पनि यो खबरले मन चङ्गा भयो,'जानकीले सुनाइन् । २०१४ मा आएसी (फ्यासन स्कुल)बाट डिप्लोमा गरेकी जानकीले फिल्मकर्मी केशव पाण्डेसँग विज्ञान गर्दै फिल्ममा कदम चालेकी हुन् । ११ वर्षदेखि कस्ट्युम डिजाइनरको रूपमा फिल्ममा काम गर्दै आएकी जानकीले 'ऐना झ्यालको पुतली', 'सिंहदरबार २', 'राजागंज', 'सेप अफ मोमो', 'हरिबहादुरको जुत्ता', 'महापुरुष', 'माइतीघर', 'महाजात्रा'लगायतका फिल्ममा काम गरिसकिन् । उनी फिल्ममा कस्ट्युमको महत्त्व रहेको बताउँछिन् । 'कस्ट्युम नै भएन भने एउटा क्यारेक्टरलाई कसरी क्यारेक्टर सोच्ने ? उ डाक्टर हो, वकिल हो भन्न त कस्ट्युम चाहियो । कस्ट्युमले नै वकिल भनिदिएपछि, उ वकिल हो भनिरहनु परेन,'जानकीले भनिन्,'कस्ट्युमले नै एउटा क्यारेक्टर देखाउँछ । म कलरप्यालेट, इमोसन अनुसार कलर थियरी प्रयोग गर्दै कस्ट्युम डिजाइन गर्छु ।'
काठमाडौं विश्वविद्यालय(केयु)मा ३ वर्षदेखि फिल्म पढाउँदै आएका ङिमा गेलु शेर्पा भने यो प्लेटफर्ममा दोस्रो पटक छानिएका हुन् । यसअघि निर्देशन(२०२३)मा छनोट भएका उनी यो पटक आफ्नो निर्माणाधीन डकुमेन्ट्रीमार्फत 'डक स्टेसन'मा छनोट भएका हुन् । 'टेन्ट सिटी एन्ड आई'शीर्षकको फिचर डकुमेन्ट्रीमार्फत उनी ट्यालेन्टमा छानिएका हुन् । सगरमाथा आधार शिविरमा पुग्ने पात्रहरूलाई उनी यो डकुमेन्ट्रीमा समेट्दैछन् ।
उनी केयुमा 'फिल्म प्रोडक्सन', 'इन्ट्रोडक्सन टु सिनेमा स्टडिज', 'डकुमेन्ट्री फिल्म एप्रिसियसन'लगायत तीन विषय पढाउँछन् । उनी निर्देशित लघु फिल्म 'एज डे गोज बाई' (२०२४) स्वीडेनको उपसला फिल्म महोत्सवमा प्रिमियर भएको हो । फिल्ममाथि २ वर्षको स्नातकोत्तर गरेका निमाले विद्यार्थी हुँदा 'एडेप्टेसन'शीर्षकको लघु फिल्म बनाएका थिए । त्यसपछि लघु डकुमेन्ट्री होम(२०२१), काठमाडौं मनसुन (२०२२), फूल सिरी (२०१६) बनाए । निमा फिल्म अध्यापनसँगै फिल्म निर्देशनमा सक्रिय छन् । आफ्नो फिल्मसँगै ट्यालेन्टमा छनोट हुन पाउँदा ङिमा उत्साहित छन् । 'पहिलोचोटी जाँदा जति उत्साहित थिएँ, अहिले डेब्यु फिचर लिएर जाँदैछु । त्यो हिसाबले एकदम उत्साहित छु,'ङिमाले भने ।
यो वर्ष 'क्रिटिक'तर्फ कान्तिपुरकर्मी मोक्तान छनोट भएकी हुन् । ६ वर्षदेखि कान्तिपुरमा फिल्म, थिएटर र संगीतमा कलम चलाउँदै आएकी मोक्तान फिल्म समीक्षक समाजकी महिला उपाध्यक्ष हुन् ।
