मीन भाम : उम्मेदवार बन्न छाडेर बर्लिनालेको जुरी

हजारौं फिल्मकर्मीको भीडबाट बर्लिनालेलाई जम्मा ७ जुरी चाहिन्छ । म त्यसैमा छानिएको छु । कहिले चान्सलरसँग डिनर त कहिले निर्देशकसँग । अहिले जस्तो इमेल र निमन्त्रणा पाएको छु त्यो त मैले जीवनमै नसोचेका कुरा हुन्।

माघ २१, २०८२

रीना मोक्तान

Meen Bham: Jury that stopped being a candidate and went to Berlin

What you should know

मुगुमा बुवाले देखाउने हाइभिजन हलमा फिल्म हेर्दा, मीन भामले कुनैदिन विश्व प्रतिष्ठित फिल्म महोत्सवको अन्तर्राष्ट्रिय जुरी (निर्णायक) बन्छु पक्कै चिताएनन् । गाउँमै हेरेको ‘अन्धाधुन्ध’, ‘शोले’ ‘चिनो’,  ‘कुसुमे रुमाल’को प्रभावले नै होला भागेर काठमाडौं आएपछि राष्ट्रिय नाचघरमा अभिनय सिके ।

गुरुकुलमा ‘कर्णाली दख्खिन बग्दो छ’ र ‘घनचक्कर’मा अभिनय गरे । फिल्म पढेर निर्देशनमा होमिनु अगावै मीनले महोत्सवका फिल्मको स्वाद चाखे । जब महोत्सव पुगेका फिल्महरू हेरे, तबदेखि नै उनमा फिल्म बनाएर महोत्सव पुग्ने सपनाको बिजारोपण भयो । विश्व प्रतिष्ठित महोत्सवमा आफ्नो त्यही सपना साकार पार्दै आएका  मीन हालै बर्लिनालेको अन्तर्राष्ट्रिय जुरीमा छनोट भए। चर्चित जर्मन निर्देशक वीम विन्डर्सले नेतृत्व गरेको टोली सदस्यका रुपमा उनले काम गर्नेछन्। उनै मीनसँग जुरी चयन, विश्व बजारमा नेपाली फिल्मको उपस्थिति र दक्षिण एसियामा नेपाली फिल्मको स्थानल गायतका  विषयमा निर्देशक भामसँग कान्तिपुरकर्मी रीना मोक्तानले कुराकानी गरेकी छन्ः

तपाईं बर्लिनालेको जुरी बन्नुभयो, फिल्म छानिँदा र जुरी बन्दाको अनुभव कस्तो हुँदो रहेछ ? 
खासमा मेरा फिल्मकर्मी साथीहरू अविनास (विक्रम शाह), पूजा (गुरुङ), विभुषण (बस्नेत)सँग फिल्मका कुरा गर्दा, महोत्सवको विषय आउँथ्यो । फिल्म बनाएपछि फिल्म महोत्सवहरुमा पुग्ने प्रेरणा पनि मिल्थ्यो । तर, जुरी बन्ने त कहिल्यै अपेक्षा नै गरिनँ। जब सन् २०१३ मा म पहिलोपटक बर्लिन पुगेँ, त्यतिबेला म बर्लिनाले ट्यालेन्टमा छनोट भएको थिएँ । त्यतिखेर रोचक के कुरा भयो भने जुरीहरुको हेड मलाई असाध्यै मनपर्ने फिल्मकर्मी वांकर वाई हुनुहुन्थ्यो । त्यतिबेला उहाँसँग ‘भ्यालेन टाइन विथ वांकर वाई’ भनेर ट्यालेन्टका लागि एउटा कक्षा थियो । १३ वर्षपछि फेरि त्यही ठाउँमा जुरी भएर जान पाउँदा अचम्म लागेको छ । कहिलेकाहीँ उमेर, कामको अनुभव त्यहाँ पुग्न योग्य हुँदैन्।

सन् २०१८ मा कान्समा जाँदा होस् या २०१५ मा भेनिस जाँदा मैले सँधै आइडलाइज गर्ने फिल्मकर्मी बेला टार, नुरी बिल्गे लाई जुरीमा देख्थेँ । उनीहरू जुरीमा देख्दा कहिल्यै हामी पनि पुगौंला भन्ने उदाहरण नै भेटेको थिएन । फिल्मकर्मी भएर आफ्नो फिल्म त्यहाँ पुर्‍याउने अपेक्षा हुन्थ्यो, सपना हुन्थ्यो । फिल्म लिएर यस्तो महोत्सवमा पुग्ने कुरा कहिलेकाहीँ फिल्मकर्मीको हातमा पनि हुन्छ । तर, जुरी नै हुन्छ भन्ने हुँदैन । मेरो अर्को फेभरेट फिल्मकर्मी किम कि दक कहिल्यै पनि जुरी बनेर कतै गएको मैले देखिनँ। उहाँले कति धेरै फिल्म बनाउनु भएर विश्व फिल्ममा नाम त कमाउनु भएको हो । मेरो सवालमा फेस्टिभलको भिजन, संयोग पनि भइदियो । फेस्टिभलले कहिलेकाहीँ तानातान गर्छ । तपाईंको फिल्म कान्समा गयो भने भेनिस र बर्लिनले तपाईंलाई चोर्न खोज्छ । भेनिसमा जानुभयो भने कान्स र बर्लिनले तान्छ । यस्तो तानातानमा पर्दा फिल्मकर्मीलाई कहिलेकाहीँ रमाइलो पनि हुँदो रहेछ । बर्लिनालेको मुख्य प्रतिस्पर्धामा छनोट भइसकेपछि अब भेनिसले मलाई बोलाउन खोज्छ । खासमा यस्तो महोत्सवको साख पनि समकालीन फिल्मकर्मीलाई आफूसँग जोड्नु नै त हो । संघर्षकालीन समयमा फेरि यस्तो हुँदैन । 

तपाईं खासमा यो महोत्सवमा कसरी छानिनु भएको हो ? 
उनीहरुले जुरी सदस्यका रुपमा कसरी बोलाउँछ, केही पनि भन्दैन । ६ महिनाअगाडि चाहिँ उनीहरुले जुरीका लागि प्रस्ताव पठायो । तर, जुरीहरुको पनि प्रमुख जुरी पक्का नभइञ्जेल कसैलाई निमन्त्रण नपठाउँदो रहेछ । मैले यसपाला बर्लिनालेमा वीम विन्डर्सदेखि बेला टार, लियोनार्दो डिक्याप्रियो, मार्टिन स्कोर्सेजी जुरीमा हुनुहोला भनेर सोचेको थिएँ । तर आफैँले चाहिँ गत जुलाईतिर इमेल पाएँ । तर, त्यतिबेला हेड अफ जुरी फाइनल भइसकेको थिएन । त्यतिबेला म जुरी बन्ने प्रस्तावलाई लिएर ‘ओके’ थिएँ । तर, यसबीच देशमा जेनजी आन्दोलनले गर्दा चुनाव हुने भयो । त्यतिबेला सबै जुरीलाई पक्का गर्ने अवस्थामा म भने ‘नो’ भन्ने परिस्थितिमा थिएँ । दिमागमा चुनाव लड्नुपर्छ भन्ने थियो । मैले ०८४ को चुनाव लड्ने सोचेको, ०८२ फागुन २१ मै चुनाव हुने भएपछि बर्लिन जाँदिनँ भन्नेमा थिएँ । उहाँहरुले कि त ‘एस’ भन कि त ‘नो’ भनेर सोधिरहनु भयो । त्यसपछि म नेपाली कांग्रेसको विशेष महाधिवेसनमा फसेँ। एक महिना त्यही बित्यो।

त्यतिञ्जेलसम्ममा मैले हुन्छ भन्नै पर्ने थियो । एक हिसाबले मैले हुन्छ त भनिसकेको थिएँ । तर, मैले उनीहरुलाई चुनाव लड्ने भएँ भने फिर्ता पनि लिन सक्छु भनेर एउटा ठाउँ बनाएको थिएँ । उनीहरुले त्यो कुरालाई अलि अप्ठ्यारो रुपमा हेरेका थिए । मनोनयन दर्ता गर्ने बेलामा म २ घण्टा गगन जी (गगन थापा) र विश्व जी (प्रकाश शर्मा)सँग थिएँ । खासमा मैले यसबारे विश्व जीसँग पहिल्यै कुरा गरेको थिएँ । उहाँले चुनावपछि पनि आउँछ, अहिले पार्टीको आन्तरिक केन्द्रीय समितिमा बसेर काम गर्ने सल्लाह दिनुभयो । मनोनयन दर्ता गर्न सकिन २ घण्टा बाँकी हुँदा गगनजीसँग कुरा गरें । त्यतिबेला काठमाडौंको टुङ्गो लागिसकेको थिएन ।

काठमाडौंको कुन क्षेत्रबाट टिकट लिने भन्ने छलफल गर्दै गर्दा धेरै सोचेँ । म फिल्ममा जसरी लागेँ, अहिले म यो प्रस्तावबाट पछाडि फर्किएँ भने उनीहरुले यसरी कहिल्यै बोलाउने छैनन् भन्ने लाग्यो । हजारौं फिल्मकर्मीको भीडबाट बर्लिनालेलाई  जम्मा ७ जुरी चाहिन्छ । म फिल्ममा सक्रिय हुने भनेको अबको २०/३० वर्ष नै हो । यो २० वर्षमा उनीहरुले जम्मा एकडेढ सय जुरी बोलाउने हो । फेरि उनीहरुले मलाई कसरी बोलाउला ? यो त मेरो फिल्म करिअरसँगै जोडिएको विषय हो । त्यो एक्सपोजर त्यो अनुभव फेरि पाइएला, नपाइला ? चुनाव त पछि पनि आउँछ भन्ने छलफल गगन र विश्वजीसँग भयो । अनि त्यहीँ निधो गरेँ– जुरी बनेर बर्लिन जान्छु । होटल आरण्यको हलमा म जसरी भित्रबाट खुशी भएर निस्किएँ, सबैलाई लागेछ टिकट लिएर आयो भनेर । मैले त्यतिबेला सचिन तिमल्सिनालाई भेटेर अंकमाल गरेर गालामा किस गरिदिएँ । म तिम्रो लागि खुशी छु, तिमीले टिकट पाउँदैछौं भनेर भनिदिएँ । त्यतिबेला सही निर्णय लिएँ भनेर म निकै खुशी थिएँ । मेरा कति साथिहरू टिकट लिइन भनेर दुः खी थिए, म चाहिँ टिकट लिइन भनेर खुसी ।
Meen Bham: Jury that stopped being a candidate and went to Berlin

भनेसी तपाईंले चुनाव लड्न टिकट नपाएर बर्लिनको टिकट समात्नु भएको होइन ?
होइन । काठमाडौंको क्षेत्र १, २, ३, ४ र १० मा जहाँ टिकट लिन्छु भन्दा पनि पाउने अवस्थामा थिएँ । कम्तिमा अरु टिकटको बाँडफाँडमै पनि म लामो समय छलफलमा थिएँ । 

प्रोटोकल कठिन छ, तर रमाइलो पनि । कहिले चान्सलरसँग डिनर त कहिले निर्देशकसँग ।नेपाली फिल्म र नेपाललाई प्रतिनिधित्त्व गर्दै बर्लिनालेमा पुगिरहँदा तपाईंले गर्ने काम के –के हुन्? अवार्ड बाँड्ने मात्रै काम त पक्कै होइन होला ?
अमेरिका, रसिया र अस्ट्रेलियामा जुरी बनेको केही अनुभव मसँग थियो । रसियामा हेड अफ जुरी नै थिएँ । तर, बर्लिनालेको प्रोटोकल धेरै भिन्न पाएँ । मैले बर्लिनमै पनि धेरै मान्छे भेट्न पाउँदिनँ । कारण, उनीहरुबाट ‘इन्फ्ल्युयन्स’ हुन्छु कि भन्ने । फिल्मकर्मीसँग त भेट्नै मिलेन । प्रोटोकल कठिन छ, तर रमाइलो पनि । कहिले चान्सलरसँग डिनर त कहिले निर्देशकसँग । अहिले जस्तो इमेल र निमन्त्रणा पाएको छु त्यो त मैले जीवनमै नसोचेका कुरा हुन्। दुई/तीन जना सहयोगीको  सुविधासहित बस्न पाउने कुरा उत्साहपूर्ण छ । पहिला कुनै महोत्सवमा जुरी बन्दा फिल्म हेरिसकेपछि छलफल हुन्थ्यो । तर, अहिले त कहिले छलफल, कहिले एक्ला एक्लै फिल्म हेर्नुपर्ने सेड्यूल छ । त्यसमाथि केही फिल्ममाथि त गहिरो छलफल पनि हुनेछ, जुन हामी फिल्मस्कुलमा मात्रै गर्थ्यौं । व्यक्तिगत रुपमा मैले पाउने एक्सपोजर, नेटवर्किङ र अनुभव गजब्बकै विषय हो । 

अहिलेको नेटवर्किङ त पहिला ‘शाम्बाला’ लिएर जाँदा पनि मैले पाइनँ। यो भनेको त विश्व सिनेमामा नेपालको सहभागिता, नेपालको प्रतिनिधित्त्व र पकड नै हो नि । हिजो म एक ठाउँमा दालभात खान गएँ । एकजना विदेशीले अघिल्लो दिन त्यहीँ मेरो कुरा गर्नुभएको कुरा मलाई होटलको दिदीले सुनाउनु भयो । मलाई अहिले धेरै राजदूतले इमेल, फोन गर्नुभएको छ । यहाँ नाम लिन पनि गाह्रो पर्ला । तर, उहाँहरुले मलाई भेट्न, सँगै खान खान निम्तो दिनु त सफ्ट पावर (शौम्य शक्ति) नै हो नि । हामी यसरी जुरी हुँदा, नेपालमा पनि फिल्म उद्योग छ है भन्ने सन्देश विश्व सिनेमामा पुग्छ । यसपाली एसियाबाट चार जना जुरी रहेछन् । मुस्किलले एकजना पर्ने ठाउँमा दक्षिण एसियाकै दुई जना छानिनु त विश्व फिल्ममा हाम्रो भुगोल, हाम्रो फिल्म क्षेत्रको गहिरो छाप त्यहाँ पर्छ । यो त सफ्ट पावर हो । त्यसैले म त मेरो लागि भन्दा पनि देशको लागि निकै खुशी छु । 

बर्लिनालेमा भारत र दक्षिण एसियाका लागि काम गरिसकेकी  मिनाक्षी सेड्ढेले यो महोत्सवमा दक्षिण एसियाबाट ३० वर्षपछि शाम्बाला छनोट भएको र अहिले जुरी पनि नेपालबाटै चयन भएको प्रसंग उठाउँदै भारतले छिमेकीबाट धेरै कुरा सिक्नुपर्ने भन्दै तपाईंलाई बधाई दिइन् । मीनाक्षीले भने झैं के हामी दक्षिण एसियामा भारत भन्दा धेरै अगाडि छौं ? 
पहिला सत्यजीत रेको बेलामा भारत ग्लोबल म्यापिङमा धेरै अगाडि थियो । हुन त मूलधारे फिल्ममा हलिउडपछि बलिउड नै हो । तर, आर्ट हाउस फिल्ममा भारत निकै पछाडि नै हो । सत्यजीत रेको समयमा अमेरिकन युरोपियनले उनलाई आइडलाइज गर्थे । त्यसपछि श्रीलंकका केही फिल्मकर्मीहरुले आजभन्दा २०/३० वर्षभन्दा अगाडि विश्व सिनेमामा आफ्नो उपस्थिति दह्रो बनायो । त्यसपछि फेरि भारत अगाडि देखियो, मसान, उडान, लन्चबक्सदेखि आमिर खानको केही स्वतन्त्र फिल्महरुले विश्वको ध्यान तान्यो । सत्यजीत रे पछाडि विश्व सिनेमामा नसल्बलाएको यो उद्योगलाई मीरा नायरदेखि दीपा मेहताले जागरुक बनाएको हो । उनीहरुपछि आए, अनुरा कश्यम । उडान, मसान, लन्चबक्स उनीसँगै आए । तर, त्यसपछि विश्व सिनेमामा नेपालको दबबा बढेको हो । भारतीय फिल्मकर्मी यो विषयमा रिसाउन पाउनुहुन्न, यो सत्य हो कि विश्व सिनेमामा हामी धेरै अगाडि छौं ।

उदाहरणकै लागि यो पाली बर्लिनाले ट्यालेन्टमा चार नेपाली छानिएका छन्, जबकि त्यही ठाउँमा पाँचजनासम्म छानिएका उदाहरण हामीसँग छ । हाम्रो नेपालको ट्यालेन्ट पाँच जना छानिँदा भारतबाट दुई जना मात्रै छानिएका थिए । विश्वभरबाट आवेदन भर्ने चार हजार ट्यालेन्टमा नेपालबाट जम्मा सय जनाले भर्छन् । त्यसको दाँजोमा भारतबाट त एक हजारले आवेदन भर्छन् । एक हजारमा दुई/ तीन जना छानिन्छन् । नेपालबाट त एकैचोटी चार/पाँच जना छानिन्छन् । त्यसले पनि हाम्रो गति कति तीब्र बनेको छ भनेर देखाउँछ । जस्तै बुसानको एसियन फिल्म एकेडेमीमै पनि चार/पाँच सयले आवेदन भर्छन् । पहिला त्यहाँ ५० प्रतिशत भारत अनि ३० प्रतिशत फिलिपिनोले भर्थे । बाँकीमा नेपाल, भुटानहरु हुन्थे  । तर, अहिलेको तथ्यांक हेर्दा आवेद भर्नेदेखि छानिनेमै पनि नेपालीहरुको उपस्थिति धेरै देखिन्छ ।

यो सबैले के देखाउँछ ? हरेक वर्षजसो अहिले नेपाली फिल्मकर्मी महोत्सवमा छानिरहेका हुन्छन् । अविनाश (विक्रम शाह)को फिल्मले कान्स जित्यो । नवीन सुब्बाको फिल्म टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा थियो । फिडेल (देवकोटा) र दीपक(रौनियार)को फिल्म भेनिसमा थियो । हुन त भारतीय फिल्ममै पनि बलिउडको दबदबा छ । तर, त्यहाँबाट पठाउने दुई-तीन सय फिल्ममा कम्तिमा एक/ दुई वटा छानिन्छन् । तर, नेपालमा त वर्षमा चार/पाँच जनाले पठाउने फिल्महरुमै पनि दुई/तीन छानिन्छन् । त्यसरी हेर्दा बंगलादेश पनि एकताका विश्व सिनेमामा थियो, फर्कियो ।

अब दक्षिण एसियाकै परिवेशमा मात्रै होइन अब पूरा एसियामै नेपाल अगाडि देखिँदैछ । पहिला विश्व सिनेमाको वेभ जापानमा थियो । त्यसपछि इरान गयो । त्यसपछि दक्षिण कोरिया पुग्यो । त्यहाँबाट भियतनामतिर छ । अहिले भियतनामको फिल्म उद्योग तिब्र गतिमा बढिरहेको छ । त्यसपछि एसियालाई लिड गर्ने नै नेपाली फिल्मले हो । हाम्रो राज्यको नीतिगत सुधार नहुने कुराले, फिल्म र कलालाई दिइने महत्त्वले केही वर्ष लम्बिएर जाला । तर, राज्यको नीतिगत तहमा रहेकाले यसलाई सहजीकरण गरिदिने हो भने अबको विश्व सिनेमामा 'एसिया' भन्ने बित्तिकै नेपाल आउँछ । जुरी भइसकेको अवस्थामा अब मैले हाम्रो फिल्मकर्मीलाई 'रिकमेन्ड' नै गर्न सक्छु । यो छनोटले नेपाली फिल्मकर्मी, यहाँका कलाकार र यहाँका प्रतिभालाई यो महोत्सवसँग जोडिदिन सक्छु । यसरी नयाँ फिल्मकर्मीलाई जोडिदिन पाउने यो मौका मलाई यही जिम्मेवारीले दिएको हो । हामीभन्दा अगाडि नवीन (सुब्बा) दाइ र छिरिङ (रितार शेर्मा)दाइ विश्व बजार पुग्नुहुँदा हामी त्यसै हौसिन्थ्यौं । उहाँहरुलाई त्यहाँ देखेर नै हामी आशावादी भएका हौं नि । 

सन् २०२४ मा तपाईंको  फिल्म ‘शाम्बाला’ नेपालबाट पहिलोपटक बर्लिनालेको मुख्य प्रतिस्पर्धामा छनोट भयो । यस किसिमको महत्त्वपूर्ण प्रतिस्पर्धामा छनोट हुन कस्तो फिल्म बनाउने ?
मैले जहिल्यै राम्रो टिम पाएँ । कहिले अविनाशजस्तो सह–लेखक पाएँ । कहिले किरण श्रेष्ठजस्तो सम्पादक पाएँ। कहिले रामबहादुर खड्काजस्तो प्रोडक्सन डिजाइनर पाएँ । जुन(जुन फिल्म गर्दा मैले जस्तो टिम पाएँ, भलै उनीहरु निकै नयाँ थिए सम्बन्धित क्षेत्रमा । उनीहरुमा ज्ञान शिप र अनुभवको कमी थियो होला तर भित्र भोक, आगो मेरोजस्तै थियो । यस्तो टिम भेटिरहे यस्तो फिल्म मज्जाले बनाउन सकिन्छ । यो भन्दा राम्रो बनाउन पनि सकिन्छ । मान्छे आफूमा आउने परिपक्वता, अनुभवले खारिने हो । पहिला मलाई स्क्रिप्ट लेख्न तीन महिना लाग्थ्यो, अहिले तीन हप्ता लाग्छ । सबैभन्दा राम्रो फिल्म बनाउन, अथवा तपाईंले भनेजस्तो हुनलाई चाहिँ मभित्रको भोक सिद्धिन हुँदैन । त्यो सिद्धिएको दिन अर्बौं बजेट होस्, कसैले प्रेरणा  देओस् खेल खत्तम ! मभित्र सल्केको त्यो आगो निभ्नु भएन । भोक तिर्खा मेटिनु भएन । मजस्तै भोक भएको, आगो भएको व्यक्तिसँग काम गर्न पाओस्, यस्तो रेकर्ड जिन्दगीमा धेरै राखिन्छ । ढुक्क हुनुस्, ममात्रै होइन भोक, तिर्खा भएको मान्छेबाट यस्तो रेकर्ड हुँदै जान्छ । पहिला चीनको क्लोइ जाओलाई अस्करमा उत्कृष्ट फिल्म जित्ने पहिलो महिला  भनिन्थ्यो । अहिले त पहिलो भनिदैन । पार्क चाङ वुङ, बोङ जोन होदेखि क्लोइले कस्तो डरलाग्दो किसिमले उछाल निकाले फिल्ममा । मान्छेभित्र भोक भयो भने यस्तो रेकर्ड हुन्छ । त्यो भोक नभएको दिन म फिल्म बनाउन छाड्छु ।  
Meen Bham: Jury that stopped being a candidate and went to Berlin

शाम्बालाले अधिकांशबाट प्रशंसा बटुल्यो । तर, यो फिल्म साँस्कृतिक र सामाजिकरुपमा माझिएको थिएन भन्ने आलोचना पनि आए । तपाईंलाई के लाग्छ शाम्बालाको कथा, त्यो भेग, त्यो कथालाई हेर्ने तपाईंको नजरिया बाहिरीबाट हेरिएकोजस्तो देखिन्थ्यो ?
मैले त्यसलाई दुई पक्षबाट हेर्छु । पहिलो, हो म कहीँ न कतै ‘आउटसाइडर’नै हो । आउटसाइडर हुने बित्तिकै सय प्रतिशत हुबहु आउँदैन । कसैलाई चित्त बुझाउन पनि सकिन्न । ‘इन्साइडर’ले गर्‍यो भने के हुन्छ  भन्ने अर्को प्रश्न होला । यो जहिले पनि सन्तुलनमा आउनुपर्ने विषय होला । जस्तै, दाउरा सुरुवाल लगाउने मेरो बानी छैन । त्यो लगाउँदा कहीँ न कहीँ मेरो भाँती मिल्दै मिल्दैन । त्यस्तो अवस्थालाई म स्वीकार्छु । हामीकहाँ फिल्मलाई सत्यको नजिकबाट हेरिने विषयका रुपमा स्थापित गरियो । फिल्म त लार्जर द्यान लाइफ, हुबहु गर्ने हो भने त एउटा क्यामेरालाई चरित्रको सामू ठड्याइदिए भइहाल्यो । फिल्म त फिक्सन हो नि । किरण दाइ (मानन्धर) ले रंग भर्दा त्यसमा सँस्कृतिको प्रश्न नउठ्ने ? अनि फिल्म त फिक्सन, असंभव केही छैन भन्ने खालका साइफाइ फिल्ममा ताली बजाउँछौं हामी । अनि फिक्सन फिल्ममा सँस्कृति मिल्यो, मिलेन ? राजनीतिक दृष्टिकोणबाट के रहेछ भन्ने मात्रै हेर्छौं । यसले एकदमै बरबाद बनाउँछ हामीलाई । यस्तो भाष्यले मलाई त असर गर्दैन । यस किसिमको गाली, गुनासोले मलाई त्यत्ति छुँदैन । तर, यस्तो कुराले युवा फिल्मकर्मीलाई पहिलो गाँसमै झापड हुन्छ ।

अमेरिका, युरोपमा त यही पक्षलाई कस्तो सकरात्मक भएर हेर्छ । उनीहरुले त कति मानवीय कथा ल्यायो भनेर तारिफ गर्छ । हामीकहाँ त समुदाय, जात, साँस्कृतिक पक्षमा यहाँ बिग्रियो भनेर प्रश्न उठाइन्छ । यसले विध्वंस निकाल्छ । कलामा यस्तो हुने हो र ? डकुमेन्ट्रीमा गरिनु पर्थ्यो होला नि । नाटकमा पनि गर्दैन, त्यहाँ गरिनुपर्छ भन्ने बुझाई होइन । यसमा फिल्म समीक्षकको ठूलो हात छ । त्यो दृष्टिकोणको आँखाले हेर्ने अभ्यास हुनु हुँदैन । ड्रिम स्वीक्वेन्स, फिक्सनाइज गर्दा तपाईंले यो डकुमेन्ट्री बनाएको होइन भन्छन् मलाई ? हाम्रो चेत कहाँ छ ?

तपाईं मुगुदेखि काठमाडौं अनि काठमाडौंदेखि थुप्रै महोत्सव पुग्नुभयो । घरेलु बजारमा आर्टहाउस फिल्मले धेरै कमाएन भन्ने पनि सुनिन्छ। बाँसुल्लीदेखि अहिलेको अवस्था आइपुग्दासम्म यो १४ वर्षसम्म तपाईंले भोग्नुभएका समस्या र संघर्ष के हुन् ?
इमान्दार भएर भन्दा मेरो संघर्ष धेरै केही पनि छैन । दुःख पनि छैन । गाह्रो पनि छैन । संघर्ष पनि छैन । यो स्वभाविक रुपले काममा हुने नै हो । गाडी चलाउँदा केही न केही संघर्ष हुन्छ । यो बाटोमा, कर्ममा आउने धेरै कुरालाई दुःखका रुपमा हेरियो भने दुखी नै भएर गइन्छ । यसलाई संघर्ष मानियो भने संघर्ष नै हो । तर, सुरुवाती दिनमा मेरो संघर्ष अंग्रेजी बोल्न थियो । प्रविधिसँग थियो, अहिले पनि छ । मलाई कसैले नयाँ फोन दियो भने राम्रोसँग चलाउन आउँदैन । किनकि म त्यसमा अभ्यस्त भइसकेको हुँदिन । क्यामेरा दिनुभयो भने अन गर्न आउँदैन । तर अहिले आउँदा अर्को संघर्ष छ, दिमागले सिर्जना गरेको समस्या । यो भन्दा कमजोर भइएला कि भोलि अर्को फिल्म कान्स, भेनिस नपुगे  के गर्ने हो भन्ने संघर्ष यो क्षेत्रमा भएकाहरुलाई हुन्छ । जुन स्वभाविक नै हो । यसले डुबाउँदैन, प्रेरणा दिन्छ ।

यदि म युरोप या अन्य विकसित देशमा हुँदोहो अहिलेसम्म पैसा खोज्नकै लागि दुःख गरिरहनुपर्थेन । अर्को कठिनाई, फाइन्यान्सिङ र फन्डिङको हो । तीन फिल्म बनाइसकेर अहिले म जहाँसम्म छु, यदि म युरोप या अन्य विकसित देशमा हुँदोहो अहिलेसम्म पैसा खोज्नकै लागि दुःख गरिरहनुपर्थेन । फिल्म क्षेत्रका बिक्ने अनुहार, ठूला कम्पनी उनीहरुकहाँ छन् । भारतमा इरफान खान भने झैं ग्लोबली बिक्ने हामीकहाँ को छ ? त्यस्तो हामीकहाँ हुँदो हो त आर्थिक हिसाबले सुरक्षित हुन सकिन्थ्यो । ठूला कम्पनी फिल्मतर्फ आकर्षित हुने देशमा परिएन आफू । त्यो मात्र हो कठिनाई, यो समस्या जीन्दगीभर नै हुने हो । 

महोत्सवमा फिल्म लिएर पुग्ने सपना कहिलेबाट जन्मियो ? 
त्यो त मैले फिल्म बनाउनुअगाडि नै हो, फिल्म कलेज पढ्नु अगाडि । किनभने मैले त्यस्तै खालको फिल्म हेरेँ । त्यस्तै नेटवर्कमा काम गर्न पाएँ । हामीले जे-जे खालको फिल्म बनाउँछौं, त्यो नितान्त फरक होइन । कोरिया, जापान र अमेरिकातिर हेरियो भने फेस्टिभल गएको, कान्स जितेको फिल्मले नै दर्शकको मन जितिरहेको हुन्छ । मास अडियन्सलाई अपिल गर्ने फिल्मरू नै महोत्सवमा हुन्छ । 

तर, नेपाल उल्टो छ नि । अझै महोत्सव पुगेका फिल्मले बक्स अफिसमा खासै राम्रो प्रभाव पार्दैन। यहाँ अझै पनि आर्ट हाउस र व्यवसायिक भन्नेहरुको गुट छुट्टाछुट्टै देखिन्छ !
यो विभेद राज्यको नीतिले गरिदिएको हो । कोरियाको घरेलु बक्स अफिसमा बोङ जोन होको ‘प्यारासाइट’ले पैसा कमाउँछ । अस्कर कसले जित्छ ? प्यारासाइटले । कान्स कसले जित्छ ? प्यारासाइटले । त्यो भेद राज्यले नै गरिदिएको हो । व्यक्तिगत रुपमा म हाम्रो कथित व्यवसायिकदेखि कथित आर्ट हाउसको समूहसँग उत्तिकै नजिक छु म । व्यवसायिक फिल्म महोत्सव किन जान सक्दैनन् ? मैले ‘दिल चाहता है’ भन्ने फिल्म बर्लिनमा हेरेको हो । साहरुख खान पनि त्यतिबेला आफ्नो व्यवसायिक फिल्म लिएर त्यहाँ पुगेको थियो । महोत्सवमा यस्तो फिल्म नदेखाउने भन्ने होइन नि । तर, हाम्रो  फिल्मले सांघुरो सपना देख्यो, सानो मन बनायो । राज्यले पनि त लुटदेखि उनको स्वीटरहरुलाई यस्तो महोत्सवमा पठाउनुपर्ने हो । 
Meen Bham: Jury that stopped being a candidate and went to Berlin

सेन्सर भन्ने नै बकवास हो ।सेन्सर भन्ने केही पनि चाहिँदैन । किताबमा सेन्सर भएको छ ? नाटकमा हुन्छ ?नीतिकै कुरा निस्कियो । चलचित्र विधेयक र सेन्सर बोर्डमाथि यसबीच थुप्रै काम भए, त्यसमा तपाईंको धारणा के ? 
सेन्सर भन्ने नै बकवास हो । म त अहिले जुन दलमा आबद्ध छु, त्यसले निकाल्ने घोषणापत्रमै त्यो लेखाउन लागिपरिरहेको छु । म आबद्ध दल सरकारमा आयो, गगनजी प्रधानमन्त्री बन्नुभयो भने म त सक्ने जति लबिङ गर्ने हो । सेन्सर भन्ने केही पनि चाहिँदैन । किताबमा सेन्सर भएको छ ? नाटकमा हुन्छ ? फिल्म त झन फिक्सन हो । जुन देशको राज्यसत्ता जनतामुखी हुँदैन, जनतासँग डराउँछ त्यहाँ उनीहरुले फिल्ममाथि सेन्सर गर्छ । पुलिसको बर्दी लगायो भने पुलिसलाई सोध्नुपर्ने, यो देशमा फिल्म कसरी बनाउने ? यस्तै ताल हो भने हामीले नेपालमा फिल्म कसरी बनाउने ? झन हामी एक से एक नयाँ आवाजसहितको फिल्म गरौंला, हलिउडका कलाकारसँग मिलेर ग्लोबली काम गरौंला भनेको बेलामा यस्तो झमेला हामीलाई चाहिँदैन । सेन्सर चाहिँदैन । भएछ भने मात्र वर्गीकरण । जुन देशको मूल कानुनले रक्सी मज्जाले बेच, कर तिर भन्छ । ठमेल रातभरि चल्छ, रातभरि रक्सी बेचिन्छ । चुरोट पिइन्छ । तर, चुरोट खाएको कल्पना गरेर बनाइएको फिल्ममा सेन्सर हामीले गरिदिनुपर्ने ? साराको ठेक्का हामीले लिइदिनुपर्ने ? बाइक चलाइरहेको छ भने ‘ट्राफिक नियम पालन गरौं’ भन्ने लेखेर हामी सरकारको मुखपत्र हो ? स्वास्थ्य मन्त्रालयको हामी मुखपत्र हो ? खासमा हामीलाई चलचित्र विकास बोर्ड पनि चाहिन्न । त्यही पनि खारेज गरेर चलचित्र आयोग बनाइदिनुपर्छ ।

राज्यले बुसान, गोवा फिल्म फेस्टिभलजस्ता ठूला महोत्सव आयजना गर्नुपर्छ । अनि फिल्ममा एकद्वार नीति अबलम्बन गरिदिनुपर्छ । स्वाधिनताको विषय राज्यको मात्रै विषय होइन नि, म यो देशको नागरिक होइन ? मलाई पनि मेरो देशको चिन्ता होला नि ? मेरो देशको प्रतिनिधित्त्व कस्तो देखाउने भन्ने चिन्ता त हामीलाई पनि होला । अनि हामीलाई कैंची लगाउने ? हामीलाई देशको स्वाधिनताको माया छैन, हामी विखण्डनकारी होला र ? देशको मूल कानुनले दिएको अधिकार प्रयोग गरेर फिल्म बनाउन दिनुपर्‍यो नि । संसदीय चुनाव लडेर म सँस्कृति मन्त्री भइदिएको भए एकहप्तामै संचारबाट खोसेर फिल्मलाई सँस्कृति मन्त्रालयतिर ल्याउँथे । अहिले पनि संचारमा राखेर हामीलाई सबैको मुखपत्र बनाइएको छ । ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भनेर हामीले बोलिदिनुपर्ने ? अहिले म जुन दलमा छु त्यहाँको घोषणापत्रमा कला, साहित्य, संगीत र पर्यटनको जिम्मा मैले लिएको छु । भोलि घोषणापत्रमा यी कुरा आएन भने म दलमै बस्दिनँ भनेर त भन्दिनँ । तर, त्यसपछि घोषणापत्र चाहिँ लेख्दिनँ । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully