'यसबीच कांग्रेसलाई यति कमजोर बनाइयो कि वामपन्थीहरूको बैसाखीबिना टिक्नै सक्दैन जस्तो बनाइयो । यो सभापति एक्लैको कमजोरी होइन, उहाँका वरपरका साथीहरूले पनि यसको जिम्मेवारी लिनुपर्छ ।'
What you should know
काठमाडौँ — विधानमा भएको व्यवस्थाअनुसार महाधिवेशन गरिनुपर्छ भन्ने विषयमा पार्टीका केही पूर्वपदाधिकारीको अवरोधका कारण कांग्रेस लामो समयदेखि अनिर्णयको बन्दी बन्न पुगेको छ ।
कात्तिक २७ गते सबै पदाधिकारी र सदस्यले धारणा राखेर सकिँदासमेत कांग्रेसले महाधिवेशनको निर्णय गर्न सकेको छैन । सहमतिका नाममा तीनपटक बैठक सार्दै फेरि शनिबार पुर्याइएको छ । कांग्रेसभित्र झन् कस्सिँदै गएको विवादको यो गाँठो फुकाउन के गर्नुपर्ला ? भारतका लागि पूर्वराजदूत, पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता दीपकुमार उपाध्यायसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
सम्पूर्ण नीति–निर्माण र राजनीतिमा चासो राख्ने हामी सबै नेपालीका लागि कांग्रेसभित्रको यो स्थिति लज्जाको विषय बनेको छ । यो अवस्था सामान्य हो भनेर टार्ने अवस्था छैन । कुनै पनि समस्या हुन्छ भने त्यसको समाधान पनि हुन्छ । तर समस्याको सही विश्लेषण गर्ने सामर्थ्य हामीमा हुनुपर्छ । नेतृत्व तहमा बस्ने कांग्रेस नेताहरूले त्यो सामर्थ्य देखाउन सकेको देखिएन ।
मुलुक यस्तो संकटमा पुगेका बेला नेताहरूले इच्छाशक्ति देखाएर अहिलेसम्म महाधिवेशनको बाटोमा गइसक्नुपर्थ्यो । महाधिवेशनबिनाको कांग्रेसको कल्पना पनि हामीले गर्नुहुँदैन । यो एउटा घातक कुरा हो। अहिलेसम्म हामीले बुझ्न सकेनौं । मैले बारम्बार प्रस्टसँग भन्दै आएको छु, कूटनीतिक मामिलामा हामी सबै चुक्यौं । नेपाली कांग्रेस, नेकपा एमाले, जो–जो सत्तामा पुग्यौं, सबैलाई जोडेर भन्दै छु– हामी राष्ट्रिय सुरक्षाको मामिलामा पनि चुक्यौं । एकले अर्कोलाई दोषारोपण गरेर अब अर्थ छैन । आर्थिक मामिलामा पनि हामी चुक्यौं । निरन्तर चुक्दाचुक्दै देश यति संकटग्रस्त भइसकेछ कि एउटा सानो आक्रोश, कुण्ठा बाहिर निस्कियो र हामी सबै छाँगाबाट खसेजस्तो भयौं ।
हो, नेतृत्व तहमा जेनजी आन्दोलनलाई बिहान घाम लाग्छ, बेलुका अस्ताइहाल्छ भनेजस्तो रूपमा हेरिएको छ । यो अत्यन्त गलत र खतरनाक छ । जेनजी आन्दोलन नेपालमा मात्र भएको होइन । विश्वभरि नै यस्ता उथलपुथल भइरहेका छन् र थपिँदै छन् । त्यसैले नेताहरू नसच्चिएसम्म, नसुध्रिएसम्म यस्ता घटना दोहोरिन्छ । जेननी युवाहरूको आन्दोलनले उठाएका मुद्दालाई कांग्रेसले सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ । उनीहरू भनेका हाम्रै छोरा–नाति, हाम्रै परिवारका सदस्य हुन् । २३–२४ गतेको उग्र काण्डमा सडकमा उत्रिनेहरू कुनै विदेशबाट आएका मान्छे होइनन्, हाम्रै समाजका सन्तान हुन् । यसलाई बुझेर कांग्रेस नेताहरूले आफूलाई सच्चाउने र पार्टीलाई पनि सच्चाएर हिँडाउने बाटो लिएनन् भने कांग्रेस संकटग्रस्त अवस्थामा फस्ने देखिँदै छ ।
कम्तीमा निर्वाचन अगाडि अधिवेशन गरेर जानुपर्छ । नेतृत्व डेमोक्रेटिक प्रोसेसबाट निर्वाचित होस् । क्रियाशील सदस्यता खुला गरौं। डिजिटल जमानामा इच्छाशक्ति भयो भने धेरै कुरा सम्भव छ । सदस्यता खुला गर्न साथ विवाद हुन्न । शरीरमा ठूलो रोग लाग्यो भने सर्जरी आवश्यक हुन्छ । सर्जरी नगरी अब कसरी गर्ने, के गर्ने भनेर बस्ने हो भने दुर्घटना हुन्छ । मेरो आग्रह छ– निर्णय गर्ने पदमा हुनुहुने सबैले व्यक्तिगत स्वार्थ होइन, राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुहोस् । अहिले सबैले व्यक्तिगत स्वार्थलाई अगाडि राखेर आआफ्नो दृष्टिकोण लाद्न खोज्दै हुनुहुन्छ । राष्ट्र संकटमा छ भन्ने बुझ्नुर्यो । जनताको आवाज नसुन्ने हो भने अझै पनि थप दुर्घटना हुन सक्छ। मलाई त यस्तो नहोस्, टरोस्, टर्नुपर्छ भन्ने नै छ ।
इच्छा छ भने प्रतिस्पर्धा गरे भइहाल्यो । पार्टीको चुनावमा लड्नुस्, निर्वाचन क्षेत्रमा लड्नुस् । जनताले चाहे जितिन्छ । म कसैलाई बन्देज गर्नुपर्छ भन्ने पक्षमा छैन । तर प्रक्रियालाई नै अवरोध गरेर कांग्रेस रूपान्तरण हुन सक्दैन । भदौ २३ र २४ गतेको घटना 'एउटा प्राकृतिक आँधी आयो–गयो, सिद्धियो' भनेर बस्ने मानसिकताबाट कांग्रेस मुक्त हुनैपर्छ । मुक्त भएन भने कांग्रेस मात्र होइन, सिङ्गो राष्ट्र ठूलो संकटमा पर्छ ।
यसमा बाह्य शक्तिभन्दा पनि नेताहरूको निजात्मक स्वार्थबाहेक केही छैन । तर, अन्तर्राष्ट्रिय रूपमा अहिले पनि सबैभन्दा विश्वसनीय र सान्दर्भिक पार्टी कांग्रेस नै हो। तर हामीले भूराजनीतिक परिवर्तन बुझ्न सकेनौं, कूटनीति राम्रोँग चलाउन सकेनौं, आर्थिक नीति चलाउन सकेनौं, राष्ट्रिय सुरक्षा नीतिलाई पटक्कै ध्यान नदिएको भने पक्कै हो ।
होइन । अहिले कांग्रेसको सभापति को हुने भन्नेबारेमा छिमेकीहरुको चासो देखिएको छैन । कांग्रेसले विधानसम्मत, स्वस्थ प्रक्रियाबाट नेतृत्वको चयन गरेर निर्वाचनमा जानुपर्छ । त्यो इच्छाशक्ति नदेखाउने हो भने प्रकृतिले आफैं अवरोध हटाइदिन्छ। आजको मितिसम्म पनि कांग्रेस पहिलो पार्टी हो । तर, यसबीचमा यो पार्टीलाई यति कमजोर बनाइयो कि वामपन्थीहरूको बैसाखीबिना टिक्नै सक्दैन जस्तो बनाइयो । कांग्रेसले आफैं सरकारको नेतृत्व गर्नुपर्छ भन्ने आवाजसमेत उठ्न सकेन । यो सभापति एक्लैको कमजोरी होइन, उहाँका वरपरका साथीहरूले पनि यसको जिम्मेवारी लिनुपर्छ । समयले कसैलाई पर्खंदैन ।
देश अत्यन्तै संवेदनशील अवस्थामा पुगिसकेको छ। हामी सबै जिम्मेवार छौं भन्ने महसुस गरेर अब ढिलो नगरी समयको प्रभावलाई बुझेर सुधार्ने र सुध्रिने दिशामा नेताहरू जानुपर्छ । आफ्नो स्वार्थलाई केन्द्रमा राखेर पार्टीलाई अनिर्णयको बन्दी बनाउँदै लैजाने हो भने २३ गतेको घटना फेरि नदोहोरिला भनेर भन्न सकिन्न ।
![Congress is a prisoner of indecision due to personal interests: Deep Kumar Upadhyay [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/deepkumar-upadhyaya-20112025121037-1000x0.jpg&w=1001&h=0)