केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा कांग्रेसमा विभिन्न गुट सक्रिय

केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा संस्थापन पक्षका पूर्व पदाधिकारी निर्वाचन अगाडि कुनैपनि प्रकारको महाधिवेशन गर्न नहुने अडानबाट पछि हटेका छैनन् । उता कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीहरुसँग सघन छलफलमा छन् ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Various factions active in Congress on the eve of the Central Working Committee meeting

What you should know

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको पूर्वसन्ध्यामा महाधिवेशनसम्बन्धी विवाद हल खोज्न विभिन्न समूहहरु सक्रिय भएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरुसँग छलफल गरिरहेका छन् ।

अर्कोतर्फ सभापति शेरबहादुर देउवाको परामर्शमा केही नेताहरुले मध्यमार्गी प्रस्ताव अघि बढाइरहेका छन् । तर, संस्थापन पक्षकै पूर्व पदाधिकारीहरु र विशेष महाधिवेशन पक्षधर नेताहरुले पूर्ववत् अडान कायमै राखेका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबारलाई बोलाइएको छ । केन्द्रीय कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरुले कात्तिक २७ गते धारणा राखिसकेका छन् । तर, महाधिवेशनको विवाद निमल्दा बैठकले कुनैपनि निर्णय गर्न सकेको छैन । सहमतिको नाममा बैठक सरेको सर्‍यै छ ।

बिहीबार बैठक बस्ने पूर्वसन्ध्यामा संस्थापन पक्षका पूर्व पदाधिकारीहरु निर्वाचन अगाडिको मितिमा कुनैपनि प्रकारको महाधिवेशन गर्न नहुने अडानबाट पछि हटेका छैनन् । उनीहरु २१ फागुनको निर्वाचन पछाडि वैशाखमा कार्यतालिका ल्याउनुपर्ने पक्षमा देखिएका छन् । त्यसअघि विशेष महाधिवेशन वा नियमित दुवै महाधिवेशन गर्ने कि नगर्ने भन्ने सवालमा केन्द्रीय कार्यसमितिबाटै भोटिङ गराउन पूर्व पदाधिकारीहरुले जोड दिएका छन् । 

पूर्व पदाधिकारीहरुको पहलमा बुधबार बसेको संस्थापन पक्षीय बैठकले यसअघि केन्द्रीय कार्यसमितिमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको कार्यतालिकालाई भोटिङमा लगेर विवाद अन्त्य गरिनुपर्ने निष्कर्ष निकालेको थियो । 

केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागलाई टार्न नसक्ने भएकाले संस्थापन पक्षकै केही सदस्यहरु पार्टी विभाजन हुनबाट रोक्न मध्यमार्गी प्रस्ताव ल्याउन सक्रिय भएका छन् । सभापति देउवाको परामर्शमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र सदस्य अनिल रुंगटाले नियमित महाधिवेशनको कार्यतालिकमा दुवै पक्षलाई सहमत गराउन खोजेका छन् । पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने तर विशेष महाविधवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षरबाट माग भएको निवेदन फिर्ता लिनुपर्ने सर्त अघि सारेका छन् । 

महाधिवेशन पक्षधरले भने विशेष महाधिवेशनका लागि हस्ताक्षरसहित दिइएको निवेदन कुनैपनि हालतमा फिर्ता नलिने उद्‌घोष गरेका छन् । उनीहरुले आजै पत्रकार सम्मेलन गरेर आफूहरुले कार्यतालिका नभएर महाधिवेशन चाहेको भन्दै त्यसको सुनिश्चिताका लागि अब विशेष महाधिवेशननै बोलाउनुपर्ने अडान लिएका छन् । 

संस्थापन पक्षले महाधिवेशनको नाममा कार्यतालिका मात्रै ल्याउने खोजेको भन्दै उनीहरुले पत्रकार सम्मेलनमा विशेष महाविधेशनको माग गरेर दर्ता भएको निवेदन फिर्ता नुहने जानकारी दिएका हुन् । 

युवा नेता गुरुराज घिमिरेले फगत कार्यतालिका ल्याएर मात्रै अहिलेको समस्याको समाधान नहुने बताए । ‘अब १५ औं महाधिवेशन गर्न नसकिने स्थिति स्पष्ट भएको छ । त्यसैले हस्ताक्षरकर्ता प्रतिनिधिहरुको मागलाई सम्मान गरेर विशेष महाविधेशन बोलाउनुहोस् । फगत  कार्यतालिका खोजेको होइन । महाधिवेशनको सुनिश्चिता खोजेको हो,’ घिमिरेले भने,‘कार्यतालिका ल्याउने, तर महाधिवेशन नगर्ने र विशेष महाधिवेशनको माग फिर्ता गर्ने जस्ता सर्त हामीलाई मञ्जुर छैन ।स्वीकार्य छैन । हामीलाई चाहिएको महाधिवेशन हो । तालिका हेर्न र पढ्नका लागि होइन ।’

कान्तिपुर

Link copied successfully